ग्रिसमा अलपत्र परेका शवहरु पठाउन एनआरएनमार्फत ८ हजार युरो सहयोग जुट्यो 


बार्सिलोना। ग्रिसमा अलपत्र परेका शवहरु नेपाल पठाउन गैर आवासीय नेपालीहरुले सहयोग संकलन गरेका छन्। टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी दुर्घटनामा परेर मृत्यु भएका चार नेपालीमध्ये दुई जनाको शव पठाउन एनआरएनए अभियन्ताहरुले झन्डै ८ हजार युरो सहयोग जुटाएका हुन्। 

दुर्घटनामा भिमेश्वर नगरपालिका-६ दोलखाका ३० वर्षीय राजु लामा र गौरीगंगा नगरपालिका-४ कैलालीका ३७ वर्षीय लक्ष्मण सापकोटाको शव नेपाल पठाउने खर्च नेपाल सरकारले व्यहोरेको छ । उनीहरू श्रम स्वीकृति लिएर टर्की आएकाले श्रमिक कल्याणकारी कोषको रकम प्रयोग भएको नेपाली राजदूतावास भियनाले जनाएको छ ।

तर सोहि दुर्घटनामा मृत्यु भएका आमाछोदिङमो गाउँपालिका-३ रसुवाकी २१ वर्षीया शर्मिला भनिने रमिला घले र घिरिङ गाउँपालिका-५ तनहुँका ओम भनिने उम बहादुर थापामगरको शव पठाउन खर्च नहुँदा परिवारजनले एनआरएनएलाई गुहारेका थिए। घले र थापाको शव पठाउन झन्डै ८ हजार युरो लाग्ने अनुमान गरिएको छ। 

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सहकोषाध्यक्ष लोकप्रसाद दाहालले पैसाको कारणले शव पठाउने प्रक्रिया नरोक्किने बताए। ‘साथिहरुबाट सहयोगको प्रतिवद्वता रकम आईसकेको छ। म शव पठाउने कम्पनीको ईन्भवईस आउने बित्तिकै तुरून्तै रकम पठाईदिन्छु।’ उनले भने।

बेल्जियममा व्यवसाय गर्दै आएका दाहालले ५ सय युरो सहयोग घोषणा गर्दै रकम संकलन अभियान सुरु गरेका थिए। दाहालका अनुसार गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् बाट  २ हजार डलर, एनआरएन बैदेशिक रोजगार कल्याणकारी कोषबाट २ हजार डलर,संघका सचिव गौरी जोशीमार्फत ५ सय डलर, राज रेग्मी ५ सय डलर लगायतबाट सहयोगको प्रतिवद्वता आईसकेको छ। 

‘सबै साथीभाईहरुबाट झन्डै ८ हजार युरो सहयोग प्रतिवद्वता आईसकेको छ। अब रकम नउठाउदा हुन्छ।’ सह-कोषाध्यक्ष दाहालले भने, ‘युरोपमा रहेका विभिन्न एनसीसीहरुबाट पनि रकम संकलन भईरहेको हुँदा संकलित रकम बारेको निर्णय पछि गर्छौ। अहिले तत्काल मेरै खाताबाट रकम पठाउँदै छु। शव पठाउने प्रक्रियामा नै हामी केन्द्रित हुन्छौ।’

ग्रिस नेपाल सोसाइटीका संस्थापक अध्यक्ष कृष्ण पोखरेलले शव नेपाल पठाउने प्रक्रियामा समन्वय गरिरहेका छन्। 

विगत २५ वर्षदेखि ग्रिसमा बस्दै आएका पोखरेललाई शव नेपाल पठाउने प्रक्रियाका सहयोग गर्न भन्दै नेपाली राजदूतावास भियनाले अख्तियारी प्रदान गरेको छ । कागाजी प्रक्रिया मिलाएर केहि दिनभित्रै चार वटै शव नेपाल पठाईने बताईएको छ।