‘युरोपमा ५० हजार युरो फण्ड सरकारीस्तरबाट पाउनु कठिन र ठूलो प्रतिस्पर्धा हो’


नियाल्पको नेतृत्व गरेका कमल भट्टराई

बार्सिलोना । विदेशमा पनि नेपालकै राजनीति ब्याप्त छ । संघ-संस्थाको नेतृत्व चयनमा यसको बाछिटा देखिन्छन् । हुँदाहुँदा एनआरएनए पनि राजनीतिकै सिकार बन्दै अधिवेशन समेत गर्न नसक्ने अवस्थामा छ । दुईचार पैसा विदेशमा चन्दा संकलन गरेर नेपालमा केही परोपकारी काम त हुन्छन् तर कामभन्दा बढी प्रचार नै हुन्छ । विदेशमा खोलिएका अधिकांश नेपाली संघसंस्थाहरूका गतिविधि यत्तिमै सीमित देखिएका छन् । स्थानीयस्तरमा न उनीहरूको पहुँच नै पुगेको हुन्छ न सम्बन्ध नै।

तर यो भीडभन्दा अलि फरक देखिएको छ ‘नियाल्प पोर्चुगल’। आप्रवासीहरूको हितमा खोलिएको यो संस्थाले पोर्चुगल सरकारबाट ५० हजार युरो सहयोग प्राप्त गर्दै गत अक्टोवरदेखि ‘नमस्ते पोर्चुगल’ नामको प्रोजेक्ट सुरु गरेको छ।

पालुङटार नगरपालिका-३ गोरखा मूल घर भएका ५२ वर्षीय कमल भट्टराईको पोर्चुगल बसाइ ८ वर्ष पुग्यो । तीन वर्ष पहिले उनकै नेतृत्वमा ‘नियाल्प पोर्चुगल’ लिस्वनमा सुरु भएको थियो । पोर्चुगलमा रहेका आप्रवासीहरुको कानूनी, सामाजिक शैक्षिक र स्वास्थ्यसम्बन्धी परामर्श दिन सहयोग गर्ने परिकल्पना उनले ‘नियाल्प’ नामक संस्था सुरु गरेका हुन् ।

युरोपियन युनियनले आफ्ना सदस्य राष्ट्रहरुलाई दिएको सहयोग अन्तर्गत पोर्चुगल सरकारको छिमेकीका लागि स्वास्थ्य कार्यक्रममार्फत आफूहरूले रकम प्राप्त गरेको नियाल्प पोर्चुगलका निर्देशक भट्टराई बताउँछन् । १० मिलियन युरोको सहयोग कार्यक्रम अन्तर्गत नियाल्पले पनि आवेदन दिएको थियो ।

‘करीब ७७५ भन्दा बढी संघ संस्थाहरूले यो किसिमको कार्यक्रमको लागि आवेदन दिएका थिए । जसमध्ये २४६ संस्थाहरुमात्रै छनोटमा परे,’ भट्टराईले भने, ‘त्यसमा हामी पनि पर्यौं । प्रोजेक्टका लागि खर्च हुने ४९ हजार ५ सय युरोको लागि आवेदन दिएका थियौं । पहिलो किस्ता स्वरूप आधा रकम खातामै आइसकेको छ।’

प्रोजेक्टको समयावधि एक वर्षको रहेको छ। अक्टोबर २०२१ देखि सुरु भएको प्रोजेक्टमा नियाल्पले विभिन्न कार्यक्रमहरू गर्ने जनाएको छ।

गर्भवती क्लबको स्थापना

नमस्ते पोर्चुगल प्रोजेक्टअन्तर्गतको पहिलो कार्यक्रम ‘गर्भवती क्लव’ नाम दिदै निशुल्क स्वास्थ्य सेवा सुरु भएको छ। डिसेम्बर दोस्रो सातादेखि सुरु उक्त कार्यक्रममा पोर्चुगलमा रहेका नेपाली लगायत दक्षिणी एसियाली गर्भवती महिलाहरूलाई लक्षित गर्दै सुरु भएको हो ।

पोर्चुगलमा गर्भवती महिला अधिकारको बारेमा जानकारी, पूर्वगर्भावस्था परामर्श, सुत्केरी तयारी कोर्स, पोर्चुगिस स्वास्थ्य प्रणालीबीच भाषिक र सांस्कृतिक मध्यस्थतालगायतका विषयमा जानकारी दिन नियाल्पले स्वास्थ्य कार्यालय नै खडा गरेको छ।

‘गर्भवती अवस्थामा हुने विभिन्न जोखिमहरू, स्वास्थ्यसँग सम्बन्धित कुराहरूमा नेपाली नर्सहरूबाट तालीम दिने व्यवस्था समेत छ’ निर्देशक भट्टराईले भने, ‘स्थानीय स्वास्थ्य संस्थाहरूको प्राविधिक सहयोगमा हामीले नै स्वास्थ्य कार्यालय बनाएकाछौ । यहाँ आएर कुनै पनि गर्भवती महिलाले पूर्ण रुपमा नि:शुल्क सेवा लिन सक्नुहुनेछ।’

नियाल्पका अनुसार कार्यक्रमअन्तर्गत भाषागत समस्याले आप्रवासी गर्भवती महिलाहरूको स्वास्थ्य निकायसम्म पहुँच पुग्न नसकेको उनको भनाइ रहेको छ। ‘त्यसैले पनि स्थानीय स्वास्थ्य संस्थासँगको साझेदारीमा ‘गर्भवती क्लव’ कार्यक्रम सुरु गरेका हौ । थुप्रै नेपाली गर्भवती महिलाहरू पनि लाभान्वित हुने विश्वास लिएका छौँ’ भट्टराईले भने।

गत हप्तादेखि नै सुरु भएको कार्यक्रमको पहिलो दिनमै १२ जना गर्भवती  नेपाली महिलाहरु सहभागी बनेका थिए। बंगाली, भारतीय, श्रीङ्कन, पाकिस्तानी महिलाहरू पनि सम्पर्कमा आइसकेको नियाल्प पोर्चुगलले जनाएको छ।

दक्षिण एसियाली महिलाहरूमध्ये पोर्चुगलमा बच्चा जन्माउने नेपाली महिलाहरूको संख्या अन्यको तुलनामा बढी रहेको  नियाल्पले जनाएको छ । निर्देशक भट्टराईका अनुसार गत वर्ष मात्रै ५ सय नेपाली बच्चाहरू पोर्चुगलमा जन्मिएको तथ्याङ्क छ।

‘नमस्ते पोर्चुगल’ प्रोजेक्ट अन्तर्गत नै तीन महिने सिलाइबुनाइ तालिम पनि केहि महीनामै सुरु हुने नियाल्पले जनाएको छ।

नियाल्पले थप के काम गर्दै आएको छ ?

पोर्चुगलमा थुप्रै इमिग्रेन्स एसोसियसनहरू छन् । पोर्चुगल सरकारबाट मान्यता प्राप्त एक संस्था हो ‘नियाल्प’। पोर्चुगलमा रहेका आप्रवासीहरूको कानूनी,सामाजिक शैक्षिक र स्वास्थ्यसम्बन्धी परामर्श दिने सहयोग गर्ने काम गर्दै आएको छ। अझ विशेष गरी दक्षिण एसियाली मुलुकका आप्रवासीहरू नियाल्पमार्फत परामर्श लिंदै आएका छन् ।

कोभिडको समयमा पनि सरकारी आर्थिक सहयोगमार्फत कोभिड सम्बन्धी जनचेतनाहरू फैलाउने काम गरेको नियाल्पका निर्देशक भट्टराई बताउँछन्। ‘यहाँको सरकारी निकायमा नेपाली र हिन्दी भाषामा सरकारी डकुमेन्टहरू ट्रासलेसनको काम गर्छौं। प्रहरीदेखि अदालतसम्म भाषा अनुवादको काम पनि गर्ने गर्छौं’ उनले भने, ‘त्यो बाहेक पोर्चुगिज भाषाको स्कुल पनि संचालन गर्दै आएका छौं।’

नियाल्प चल्ने आर्थिक आधार के हो ? भन्ने जिज्ञासामा भट्टराईले सरकारी अनुदान बाहेक मेम्बरसीपको आधारमा संचालन भएको बताए। ‘केही प्रोजेक्टहरू सरकारी अनुदानबाट आउँछन्। केही मेम्बरसीपको आधारमा संचालन गर्छौं। त्यो संख्या ८ सय देखि एक हजारको संख्यामा पुग्दैछ,’ उनले थपे।

स्थानीय निकायसँग घुलमिल हुनुपर्ने

विदेशमा खोलिएका संघसंस्थाहरु स्थानीय निकायसमक्ष घुलमिल हुनुपर्नेमा भट्टराईले जोड दिए। नेपालको स्वास्थ्य क्षेत्र र समुदायस्तरमा काम गरेको लामो अनुभवलाई विदेशमा पनि कसरी काम गर्न सकिन्छ भनेर आँफूले ‘नियाल्पको’ परिकल्पना गरेको उनले सुनाए। ‘यो किसिमको फण्ड सरकारीस्तरबाट प्राप्त गर्न निकै नै कठिन र ठूलो प्रतिस्पर्धा पनि हो। विगतमा गर्दै आएका कामको आधारमा नै हामी सफल भयौं,’ भट्टराईले भने।

स्थानीय रुपमा नै दर्ता भएर सरकारी निकायसँग घुलमिल हुन सकेका संघसस्थाहरुले नेपाली समुदायको हितमा काम गर्न सकिने उनको सुझाव रहेको छ। ‘युरोपमा ५० हजार युरो सरकारी अनुदानबाट सहयोग लिएर नेपाली समुदायसहित आप्रवासीहरूको हितमा खर्च गर्न पाउँदा आँफैमा गर्व लागेको छ,’ उनले भने।

भट्टराईले नेतृत्व गरेको ‘नियाल्प पोर्चुगलमा’ नेपाली ,भारतीय र पाकिस्तानीसहित ९ सदस्यीय बोर्ड मेम्बरहरु रहेका छन्।

तपाईको प्रतिक्रिया