इनास साहित्य-संगीत साँझ सम्पन्न 


भियना। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास अष्ट्रियाको आयोजनामा ‘इनास साहित्य-संगीत साँझ’ सम्पन्न भएको छ। साहित्य-संगीत भेटघाटको दोस्रो संस्करणको रुपमा इनास अष्ट्रियाले भर्चुअल रुपमा कार्यक्रम सम्पन्न गरेको हो। 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्दै नेपाली राजदूताबास भियनाका कार्यबाहक राजदूत डा. इला मैनालीले कविता बाचन गर्दै शुभकामना व्यक्त गरेकी थिईन्। कार्यक्रममा विश्वभरबाट साहित्य तथा संगीत पारखी श्रष्टा, सर्जक तथा गायक गायिकाहरुले साहित्यिक तथा सांगीतिक प्रस्तुतिहरु राखेका थिए। 

खड्ग न्यौपाने, राम अभिनासी लामा, जे.सागर, रिता केसी, तुलसी सिवाकोटी, राजु खप्तडी बस्नेत, डा. बिजय गुरुङ, इ.गिरिस कँडेल, भीमसेन धिमाल लगायतले आफ्ना सांगीतिक तथा साहित्यिक प्रस्तुतिहरु प्रस्तुत् गरेका थिए भने कलाकार गृष्मा खड्काको आकर्षक नृत्य प्रस्तुतिले भर्चुअल कार्यक्रम भएपनि रौनकता छाएको थियो। 

स्थापनाको ३ बर्षमा नै उत्कृष्ट इनासको अवार्ड जित्न सफल इनास अष्ट्रियाले आफ्ना गतिबिधिहरुलाई तिब्रता दिदै आएको छ। 

कार्यक्रममा इनास अष्ट्रियाकी बरिष्ठ उपाध्यक्ष सम्झना बोहाराको स्वागत मन्तव्यसंगै पाहुनालाई स्वागत गरेकी थिईन्। इनास ग्लोबलका महासचिव राधि क्षेत्री, युरोप सह-संयोजकहरु श्याम श्रेष्ठ र संजयभक्त कंडेल, इनास नेपालका संयोजक दयाराम पाण्डे बिशेष अतिथिको रुपमा सहभागी थिए भने एनआरएन अष्ट्रियाका अध्यक्ष भवानी तिवारी, जनजाति महासंघ अष्ट्रियाका अध्यक्ष स्वेता बज्राचार्य लागायतले कार्यक्रममा शुभकामाना ब्यक्त गरेका थिए। 

कार्यक्रमको अन्त्यमा सहभागीहरुको नामावलीबाट भाग्यशाली चिट्ठा खुलाइएको थियो जसमा १ सय अमेरिकी डलरको नगद पुरस्कार अष्ट्रीया निवासी प्रकाश खनालले प्राप्त गरेका थिए भने पुरस्कारको प्रायोजन अमेरिकाबासी साहित्यकार राम लामा अविनाशीले गरेका थिए।  

संस्थाका ग्लोबल प्रतिनिधि रमेश खड्काले संचालन गरेको कार्यक्रमका सभापति तथा इनास अष्ट्रियाका अध्यक्ष सन्तोषी भण्डारी स्याण्डीले कार्यक्रमको समापन गर्दै भर्चुअल माध्यम बाट भए पनि साहित्य तथा संगीत प्रेमीहरुलाई एक आपसमा जोड्ने कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेकोमा खुशी ब्यक्त गर्दै कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ब्यक्त गरिन।