एनआरएन स्पेनद्वारा बर्दियाका बाढी पीडितलाई राहत बितरण 


बार्सिलोना। एनआरएनए स्पेनले बर्दिया जिल्लाका बाढी पीडितहरुलाई ४ लाख  ६७ हजार १२५ रुपैयाँ बराबरको राहत बितरण गरेको छ।गेरुवा गाउँपालिका वडा नम्बर  २ र ३ का राजिपुर, बन्कट्टी र खैरवाङका १७५ पीडित परिवारलाई राहत बितरण गरेको हो ।

२० किलो चामाल,३ किलो दाल,२ पोका तेल,२ पोका नुन र एक थान ब्लान्केटको राहत प्याकेज रहेको संघले जनाएको छ।

एनआरएनए स्पेनको पूर्व अध्यक्ष एकराज गिरीले नेतृत्व गर्दै पीडित घरपरिवारहरुलाई राहत बितरण गरेका हुन्। ‘हुन त यो तपाईहरुका लागि सानो सहयोग हो।धेरै समय पुग्दैन। दुखमा  साथ दिन र भावानात्मक सम्बन्ध जोड्ने प्रयासका लागि स्पेनदेखि यो सहयोग लिएर आएका हौँ।’ पूर्व एनआरएनए युरोप उपसंयोजक समेत रहेका गिरीले भने।

एनआरएनए स्पेनले नेपालमा परेका हरेक दुखद घटनामा मल्हम लगाउने प्रयास गरेको पनि उनले बताए। राहत बितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुले समेत समन्वय गरेका थिए। 

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, एनआरएनए अभियन्ता  गोविन्द सुबेदी,नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समिर जंग शाह लगायतको उपस्थिति रहेको थियो। 

स्पेनबाट झन्डै साढे ७ लाख रुपैयाँ बराबरको राहत 

यसअघि स्पेनका नेपालीहरूको सहयोगमा दुई साता अघि नै कञ्चनपुरका बाढी पीडितहरूलाई राहत वितरण कार्य सम्पन्न थियो। भीमदत्त नगरपालिका – १३  बडैपुरका १७० घर परिवारलाई  प्रभावित क्षेत्र कञ्चनपुर पुगेर एनआरएनए आईसीसीका प्रस्तावित सदस्य दिनेश गिरीले राहत बितरण गरेका हुन्। 

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य सुनिल रानाभाटको पहलमा स्पेनमा संकलित दुई लाख ६७ हजार हजार ६३२ रुपैयाँ बराबरको सहयोग भएको हो। 

छुट्टाछुट्टै रुपमा राहत बितरण भएपनि स्पेनवाट झन्डै साढे ७ लाख रुपैयाँ बराबरको राहत  बाढी पीडितलाई सहयोग पुगेको छ।