‘स्याङ्जाको पिडामा मल्हम लगाउने हाम्रो अभियान हो’ 


स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव हेमन्त रानाभाट

बार्सिलोना। स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको चौथो अधिबेशन तथा विश्व सम्मेलन हुँदैछ। आगामी मंसिर १३ गते (नोभेम्बर २९ ) मा स्याङ्जा जिल्लाकै वालिङ्मा हुने अधिबेशनको तयारी तिब्र भईरहेको आयोजकले जनाएको छ। 

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको संजाल कति देशका पुसिकेको छ ? विदेशबाट जिल्लामा के कति सहयोग पुगेको छ ? विशेष गरी अधिबेशनकै सेरोफेरोमा रहेर समाजका केन्द्रिय महासचिव हेमन्त रानाभाटसँग नेपालीनेपाली डटकमले गरेको कुराकानीको सम्पादित अंश :

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको उदेश्य के हो ?

एनआरएनए जस्तै अवधाराणा भएपनि मुख्यत : स्याङ्जा जिल्लामा नै केन्द्रित रहेर सहयोग गर्ने हो। प्रवासमा रहेका स्याङ्जालीहरुलाई आपात बिपतमा सहयोग,उद्वार देखि जिल्लाको बिकासका लागि पनि कुनै न कुनै रुपमा सहयोग गर्ने हाम्रो उदेश्य हो। विदेशमा सिकेको ज्ञान,अनुभव बाँड्नुकै साथि आँफूहरुले सिकेको सीप हस्तान्तरणका लागि पनि विभिन्न कार्यक्रमहरुमार्फत जिल्लाबासीलाई प्रेरित गर्नु नै मुख्य उदेश्य हो। आँफूले आर्जन गरेको धन जिल्लामा नै लगानी गर्दै रोजगारीको अवसर सृजना गर्ने तर्फ पनि हाम्रो अभियान केन्द्रित रहने छ। 

 कुन देशहरुमा राष्ट्रिय परिषदहरु गठन भएका छन्?

स्याङ्जा मूल घर भई संसारभर पुगेका नेपालीहरुलाई एकत्रित गर्ने अभियानमा हामी जुटेका छौ। हालसम्म अमेरिका,युएई, साउदी अरब, कतार,दक्षिण कोरिया,जापान, हङ्कङ्,अष्ट्रेलिया,युके,स्पेन,नेदरल्यान्ड्स, पोर्चुगल,फ्रान्स र जर्मनमा हामी संगठित भईसकेका छौ। नर्बे,डेनमार्क र पोल्याण्डमा समाज गठनको तयारी चलिरहेको पनि म तपाईमार्फत जानकारी गराउन चाहान्छु । 

समाजमार्फत हालसम्म जिल्लामा भएका गतिबिधीहरु ?

अन्तर्राष्ट्रिय समन्वय समिति मार्फत र राष्ट्रिय समन्वय समितिहरुले पनि बिभिन्न देशहरुबाट जिल्लाको विभिन्न क्षेत्रमा सहयोग गरिरहनुभएको छ। स्वभाविक रुपमा प्राकृतिक प्रकोप लगायत आपत बिपतको समयमा जिल्लाबासीको पिडामा हामीले मल्हम लगाउने काम गरेका छौ। अझ दिर्घकालिन योजनाहरु सहित जिल्लाको विकासमा सहयोग पुर्याउने उदेश्य पनि रहेकाले अब हामी संगठित हुँदै अझ एक ढिक्का भएर अघि बढ्ने छौ। संसारभर रहेका स्याङ्जा घर भएका नेपालीहरुलाई आफ्नो जिल्लामा आँफूले सिकेको ज्ञान र सिपलाई हस्तान्तरण गर्न प्रेरित गर्नेछौ। 

सामाजिक तथा परोपकारी काममा कस्तो सक्रियता छ ?

अहिलेसम्मका हाम्रा गतिबिधिहरु नै सामाजिक र परोपकारी काममा बढी केन्द्रित छन्।अब जिल्लाको विकास निर्माणमा कसरी हातेमालो गर्न सकिन्छ भनेर स्थानीय निकायसँग पनि समन्वय गरेर अघि बढ्ने सोच बनाएका छौ। 

कोभिड-१९ को बेलामा जिल्लामा के कस्तो सहयोग गर्नुभयो ? 

कोभिड-१९ को असर देशबिदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाईहरुलाई पनि परेको छ। संसारभर यसको संक्रमण बढिरहदा नेपाल पनि अछुतो रहेन। कोभिडले हामीलाई आर्थिक रुपमा धेरै नै बर्ष पछि धकेल्यो कि भन्ने मलाई लागेको छ। यद्दपी यसलाई सामाना गरेर अघि बढ्नु बाहेक विकल्प नै छैन। 

कोभिड-१९ को बेलामा जिल्लामा स्वास्थ्य सामग्रीहरुको अभाव भएको देखेपछि सहयोग जुटायौं। पहिलो चरणमा कोभिड संक्रमणको फ्रन्ट लेवलमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई पिपीई लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरेका थियौं। र दोस्रो चरणमा ११ वटै नगरपालिकाहरुमा स्वास्थ्य सामग्रीहरु बाड्न सफल भयौं। कोभिडको भयावह अबस्थामा हामीले विदेशमा दुख गरी कमाएको केहि रुपैयाँ जिल्लाबासीको पिडामा मल्हम लगाउन सफल भयौं। 

हामीले देखेका घटनाहरु लगायत सहयोगको अपिल सहित आएका निबेदनहरु हेरेर पनि पिडितहरुलाई थोरै धेरै सहयोग गरिरहेका छौ। 

संस्थागत सुधारहरु के -के भएका छन् ?

हो, अहिलेको कार्यकालमा कोभिड -१९ का कारण थुप्रै गतिबिधि गर्न चाहेर पनि गर्न सकेनौं। तर संस्थागत सुधार र संगठित गर्न भने सफल भएका छौ। धेरै साथीभाईहरुसँग यो बेलामा सम्पर्क गर्न सफल भयौ। जसले गर्दा विचारको आधार-प्रधानसहित अनुभव साटासाट गर्ने मौका पनि जुर्यो। आईसीसी र एनसीसीबीच समन्वय हुन नसकेका देशहरुमा समन्वय गर्न सफल भयौ। 

भावी योजनाहरु के छन् ?

मैले अघि नै भनिसके कि, दिर्घकालिन योजनाहरुमा अब केन्द्रित हुन्छौ। त्यसलाई टेवा दिन सहकारी संचालन गर्ने सोच पनि बनाएका छौ। बिदेशमा रहेका स्याङ्जालीहरु र यहाँबाट फर्किसकेकाहरुबीच यसले पुलको रुपमा जोड्ने विश्वास लिएका छौ। सहकारी संचालनको लागि कागजी प्रक्रियाका कामहरु अघि बढिसकेका छन्। छिट्टै यसको अवधारणाले मूर्त रुप पाउनेमा विश्वस्त छौ। साथै सामूहिक लगानीका लागि पनि विभिन्न प्रपोजलहरु आएका छन्। ति बारे पनि अन्तर्राष्ट्रिय महाधिबेशन लगत्तै निर्णय गर्नेछौ। 

अन्तर्राष्ट्रिय महाधिबेशन कहिले हुँदैछ ? 

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको चौथो अधिबेशन तथा विश्व सम्मेलनको तिब्रताका साथ तयारी भईरहेको छ। आगामी मंसिर १३ गते (नोभेम्बर २९ ) मा हुने समाजको अन्तर्राष्ट्रिय  अधिबेशनको तयारी तिब्र पारिएको छ ।  ‘समृद्व स्याङ्जाका लागि विश्व अभियान’ मूल मत्रका हामीले बिश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिबेशन स्याङ्जा जिल्लाकै वालिङ्मा गर्दैछौ। 

गत शनिबार बसेको सचिबालय बैठकले अधिबेशन तयारीबारे महत्वपूर्ण निर्णयहरु पनि गरेको छ ।प्रवासमा रहेर जन्मथलो स्याङ्जालाई माया गर्ने सबै नेपालीहरुको उपस्थिति रहने अपेक्षा राखेका छौ। राष्ट्रिय समन्वय परिषदहरुले अधिबेशन शुल्क स्वरूप ४० हजार बुझाउनु पर्ने निर्णय पनि गरेका छौ। विभिन्न तयारी उपसमितिहरु गठन गर्दै साथीभाईहरुलाई जिम्मेबारी दिएका छौ। 

समाजका अध्यक्ष जीवन न्यौपानेको अध्यक्षतामा अधिबेशन मुल आयोजक समिती गठन गरिएको छ।निर्बाचन समिती लगायत अन्य विषयमा आबस्यक छलफलपछि छिट्टै निर्णय गर्नेछौ। यदी नेपाल जान अनुकुल नहुने साथीहरुलाई भर्चुअल रुपमा जोडिएर सहभागिता जनाउन पनि म अनुरोध गर्दछु।

केहि विवादहरु पनि सुनिएका छन् नि ?

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिमा त्यस्तो कुनै विवाद छैन। कतिपय देशहरुमा समन्वयको अभाव थियो। अहिले हामी सबै एक ढिक्का छौ। अबको नयाँ नेतृत्वले समाजलाई थप उचाईमा पुर्याउने विश्वास लिएका छौ। हाम्रो समाज अझै बृहत रुपमा फैलने छ। 

तपाई महासचिव हुनुहुन्छ ? अब नेतृत्वको लागि तयार हुनुभएको हो ?

समाजको केन्द्रिय महासचिवमा रही काम गर्दा मैले संस्थागत रुपमा धेरै सिक्ने अबसर पाएको छु। यसअघि एनआरएनए स्पेनको कोषाध्यक्षमा रही काम गर्दा पनि आर्थिक रुपमा संस्थालाई कसरी मजबूत बनाउन सकिन्छ भन्ने सिकेको थिए। 

एनआरएनका सबै युरोपेली सम्मेलनहरु नोक्सानमा गएका उदाहरणहरु छन्। एनसीसी स्पेनले सन् २०१४ मा बार्सिलोनामा आयोजना गरेको सातौँ एनआरएनए युरोपेली सम्मेलनमा त्यस्तो देखिएन। हामी आँफै किचनमा खटिएर खर्च कटाएर भएपनि एनसीसी स्पेनको कोषलाई मजबुत बनाएको इतिहास साँच्ची छ। एनआरएनको कोषाध्यक्ष हुँदा आर्थिक रुपमा संस्था कसरी बलियो हुन्छ भन्ने सिक्ने मौका पाए। त्यस्तै गरी अहिले समाजको महासचिव हुँदा सांगठनिक सुधारका बिषयमा बुझ्ने अवसर पाएको छु। 

अब संस्थाको नेतृत्वका लागि मेरो ईच्छा स्वभाविक नै हो। तर कसरी अघि बढ्ने भन्नेबारे साथीभाईहरुसँग छलफलको क्रममा नै छौ। समाजमा को नेतृत्वमा आउँने भन्दा पनि सबैका लागि आफ्नो ‘स्याङ्जा सहयोग समाज’ कसरी बनाउने भन्ने कुरा महत्वपूर्ण हो।