‘कप २६’ अल्प विकसित मुलुकहरुका लागि ‘निराशाजनक’


तस्बिर सौजन्य: www.ldc-climate.org

लन्डन (जीएनएन) – अल्प विकसित मुलुकहरुको समूहले जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६औँ सम्मेलन (कप २६) अल्प विकसित मुलुकहरु (एलडीसी) का लागि निराशाजनक रहेको जनाएको छ।

‘कप २६’ सकिए पछि प्रकाशित एक विज्ञप्तिमा अल्प विकसित मुलुकहरुको समूह (एलडीसी ग्रुप) का वर्तमान अध्यक्ष भुटानका सोनाम फुन्सो वाङ्गदीले भने, ” ग्लास्गोमा सन् २०२५ सम्म अनुकूलनका लागि उपलब्ध गराउने रकम दोब्बर पार्ने विकसित मुलुकहरुको प्रतिबद्धताबाट हामी उत्साहित छौं। हाम्रा मुलुक र समुदायहरुका लागि अवश्यक भन्दा यो रकम कम हो, तर केहि प्रगति चाहिं हो। ” यद्यपि वन तथा वातावरण मंत्री राम सहाय प्रसाद यादवले शनिवार सम्पन्न भएको सम्मेलन नेपालका लागि उपलब्धिपूर्ण रहेको बताए।

जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औं सम्मेलन (कप २६) मा भाग लिएर नेपाल फर्कनु अघि जीएनएनसंग कुरा गर्दै मन्त्री यादवले भने,” हामीले जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन तथा क्षतिपूर्ति लगायतका विषयमा हाम्रा भनाइहरु राख्ने मौका पायौं। त्यसैले नेपाल लगायतका अल्प विकसित मुलुकहरु तथा संकटापन्न समुदायहरुका लागि यो सम्मेलन उपलब्धिपूर्ण रह्यो। ”

नेपालले यो सम्मेलनमा गरेका प्रतिबद्धताहरु पुरा गर्न मन्त्रालय तथा संघ संस्थाहरुसंग समन्वय गरेर अगाडी बढ्ने पनि उनले जनाए। नेपालको प्रतिबद्धता गत ३१ अक्टोबरमा शुरु भएको विश्व सम्मेलनमा आयोजित ‘वर्ल्ड लिडर्स समिट’ लाई सम्बोधन गर्दै प्रधानमंत्री शेर बहादुर देउवाले नेपालले सन् २०४५ सम्ममा ‘नेट जिरो’ उत्सर्जन लक्ष प्राप्त गर्ने प्रतिबद्धता सुनाएका थिए।

उनले सन् २०३० सम्ममा देशको कुल उर्जा मागको १५ प्रतिशत स्वच्छ उर्जाबाट परिपूर्ति गर्नुका साथै देशको कुल क्षेत्रफलको ४५ प्रतिशत भूभागमा वन क्षेत्र कायम गर्ने घोषणा पनि गरे । ‘नेट जिरो’ को अर्थ वायु मण्डलमा हरित गृह ग्यासको मात्रा नबढाउने र उत्सर्जनलाई जति सक्दो घटाउने हो। नेपालले ‘नेट जीरो’मा पुग्ने यसअघिको लक्ष्य सन् २०५० लाई घटाएर सन् २०४५ मा झारेको छ। प्रधानमंत्री देउवाले नेपालको कुल जनसंख्याको झन्डै ८० प्रतिशत प्राकृतिक तथा जलवायु परिवर्तनजन्य प्रकोपको खतरामा रहेको बताए।

गएको ४० वर्षमा प्राकृतिक प्रकोपका कारण नेपालले ६ अर्ब डलर (झन्डै ६ खर्ब रुपियाँ) बराबरको भौतिक तथा आर्थिक क्षति व्यहोर्नु परेको पनि उनले जनाए। यो सम्मेलनमा पहिलो पटक सदस्य मुलुकहरु हरितगृह ग्यास उत्सर्जनको एक प्रमुख स्रोत कोइलाको प्रयोग घटाउन सहमत भएका छन्। तर कोइलाको प्रयोग घटाउदै लागि अन्ततः कोइलालाई विस्थापित गर्ने भन्ने प्रस्ताव भारत र चीनले नमानेका कारण तुहिएको थियो।

कोइलाको प्रयोग पृथ्वीको ४० प्रतिशत कार्बन उत्सर्जनका लागि जिम्मेवार ठानिन्छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेजले भने, “हाम्रो कमजोर ग्रह धागोमा अड्किएको छ। हामी अझै जलवायु विपद्लाई बोलाइरहेका छौँ। हामी आपत्कालीन अवस्थामा जानुपर्ने बेला छ अन्यथा हामी नेट जीरोमा पुग्ने मौका शून्य हुन जान्छ।” ग्लास्गोमा भएका सम्झौताहरुलाई नजिकबाट हेरीरहेका जलवायु परिवर्तन सम्बन्धी एकजना जानकार डा. पोषेन्द्र सत्यालले ‘कप २६’ मा केहि प्रगति भएता पनि विश्व तापमानलाई पूर्व औद्योगिक कालको तुलनामा १.५ डिग्री सेल्सियस भन्दा बढ्न नदिने लक्ष्य प्राप्त गर्ने तर्फ खासै उपलब्धि नभएको बताए ।

विश्व तापमान वृद्धि जलवायु परिवर्तन सम्बन्धी अन्तर-सरकारी समूह (आइपीसीसी) ले विश्व तापमान पूर्व औद्योगिक कालको तुलनामा १.५ डिग्री सेल्सियस बढेमा चरम गर्मी हुने, समुद्रको सतह बढ्ने र ७० देखि ९० प्रतिशतसम्म कोरल रिफहरु नष्ट हुने अनुमान गरेको छ। वैज्ञानिकहरुका अनुसार कोरल रिफले पानी मुनिको पर्यवरण जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् र एउटै कोरल रिफमा हजारौं प्रजातिहरु पाइन्छन्। “विश्व जलवायु राजनीतिको जटिलता र १९७ भन्दा बढी मुलुकहरुलाई सबै निर्णयहरुमा सहमत गराउनु चुनौतिपूर्ण थियो।

यद्यपि यो सम्मेलनलाई ‘नेट जिरो’ भविष्यतर्फ एक पाइला अगाडी बढेको भन्न सकिन्छ,” एउटा ब्रिटिश गैरसरकारी संस्था, बर्डलाइफ इन्टरन्याशनल, संग आवद्ध डा. सत्यालले भने। उनले सम्मेलनलाई सफल पार्न आतिथेय मुलुक ब्रिटेनले उपयोग गरेको ‘नरम शक्ति परिचालन गर्ने रणनीति’ बाट नेपालले पनि पाठ सिक्न सक्ने बताए।

“जलवायु परिवर्तनको मुद्दामा विश्व समुदायको ध्यानाकर्षण गर्न ब्रिटेनले राज परिवारका सदस्यहरु देखि चर्चित व्यक्तित्वहरु र धार्मिक नेताहरुलाई समेत सम्मेलनमा सहभागी गराएको थियो। नेपालले पनि दीगो विकास, जलवायु परिवर्तन तथा प्रकृति संरक्षण जस्ता सामूहिक लक्ष हासिल गर्न नेताहरु एवम् नागरिक समाजलाई एकताबद्ध गरेर सामूहिक रुपमा काम गर्न आवश्यक छ। “