स्पेनको माया लिएर नेपाल फर्किएकी छु : राजदूत शेर्पा


बार्सिलोना। स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा बुधबार नेपाल फर्किएकी छिन्। सरकारले फिर्ता बोलाउने निर्णय गरेसँगै दुई बर्षे अवधि बाँकी छदै राजदूत शेर्पा नेपाल फर्किएकी हुन्। 

नेपाल फर्कनुअघि नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै उनले स्पेनबासी नेपाली समुदायप्रति धन्यवाद व्यक्त गरिन्। ‘यहाँको नेपाली समुदायको एकता र माया लिएर नेपाल फर्किएकी छु। मलाई जस्तै साथ सहयोग नयाँ जिम्मेवारी लिने राजदूतलाई पनि दिन अनुरोध गर्दछु,’ शेर्पाले भनिन्।

राजदूतको भूमिका निर्वाह गर्दा पछिल्लो दुई वर्षमा मित्रता,स्नेह,सहयोग,आत्मियता एवं सद्वावना प्राप्त भएको भन्दै कृतज्ञता व्यक्त गरेकी छिन्।

उनले आफ्नो कार्यकालमा नेपाल र स्पेनबीच सहकार्य,समन्वय तथा सहयोगले दुई देशबीचको सम्बन्धले थप उचाइ लिएको विश्वास व्यक्त गरिन्।

‘धेरै उल्लेखनिय कामहरु भएकोमा,नेपाल कोभिड-१९ को महामारीबाट ग्रसित भएको अवस्थामा यहाँहरुको सहयोग तथा सहकार्यबाट हामीले नेपालमा स्पेनबाट ठूलो सहयोग लान सकेको पललाई म स्मरण गर्न चाहान्छु। यो स्पेनमा बस्ने सबै नेपालीहरुको पहलको नजिता हो,’ राजदूत शेर्पाले भनिन्।

स्वास्थ्य सामग्री लिएर नेपाल पुग्दा राजदूतको प्रंशसा

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा बुधबार दिउँसो नेपाल फर्किएकी छिन् । उनले आफ्नो कार्यकालमा सदैव सम्झना योग्य एक महत्वपूर्ण काम गरिन्।

कोरोना कहरको बेला नेपालमा स्वास्थ्य सामग्रीको अभाव थियो । त्यतिबेला राजदूत शेर्पा चार्टर्ड विमानमा स्पेन सरकारको सहयोग लिएर नेपाल उत्रिएकी थिइन्। नेपालमा स्वास्थ्य सामग्रीको हाहाकार हुँदा राजदूत शेर्पाको कामलाई चौतर्फी प्रंशसा गरिएको थियो। उनकै पहल र सक्रियतामा स्पेनले नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पठाएको थियो।

युरोपमा वर्षौअघि खोलिएका दूतावासहरूभन्दा पनि पहिले कान्छो दूतावासको सक्रियतामा नेपालमा सहयोग पुगेको थियो।

राजदूत शेर्पालाई विदाई :

स्पेनको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले समेत राजदूत शेर्पालाई विदाई गरेका छन्।एनआरएनए स्पेनले पनि सोमबार दूतावासमै पुगी राजदूत शेर्पाको विदाईमा एक कार्यक्रम सम्पन्न गरेको छ। एनआरएनए स्पेनका उपाध्यक्ष तथा दूतावास समन्वय समितिका संयोजक रोशन पाठकका अनुसार राजदूत शेर्पालाई संघले सम्मानपत्र प्रदान गर्दै विदाई गरेको हो। कूटनीतिक,व्यापारिक तथा साँस्कृतिक सम्बन्ध विस्तारमा विशेष योगदान दिएको भन्दै संघले राजदूत शेर्पालाई सम्मान गरेको हो। 

यसैबीच एनआरएनए क्षेत्रीय समिति म्याड्रिडले राजदूत निवासमा पुगेर विदाई सहित मायाको चिनो प्रदान गरेको अध्यक्ष मेघनाथ ढकालले जानकारी दिए। प्रवासी नेपाली मञ्च स्पेनले पनि आईतबार भर्चुअल रुपमा एक कार्यक्रमको आयोजना गर्दै राजदूत शेर्पालाई विदाई गरेको छ। मञ्चका महासचिव दिनेशराज रेग्मीका अनुसार स्पेनका विभिन्न संघसस्थाका प्रतिनिधिहरु लगायत सामाजिक अगुवाहरुले कार्यक्रममा बोल्दै राजदूत शेर्पालाई विदाई गरेका थिए।