राजदूत फेरबदल हुँदा म्याड्रिड दूताबास मारमा 


स्पेनका लागि नेपाली राजदूत दावा फूटी शेर्पा

बार्सिलोना। सरकार फेरबदलसँगै राजदूत पनि फेरबदल हुँदा नयाँ खोलिएका नेपाली राजदूतावास मारमा परेका छन् ।साढे चार वर्षअघि स्पेनमा खोलिएको म्याड्रिडस्थित नेपाली दूतावास पनि राजदूत फेरबदल हुँदा झनै मारमा परेको हो । कार्यकाल पूरा नभई राजदूतको घरफिर्ती हुँदा दूतावासले ठुलो कूटनीतिक फड्को समेत मार्न सकेको छैन।

दूतावास खोल्ने निर्णय भएको एक वर्षपछि स्पेनका लागि पहिलो नेपाली राजदूतको रुपमा भरतबहादुर रायमाझी आएका थिए। नेपाली सेनाका पूर्व जर्नेलसमेत रहेका रायमाझी तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट राजदूत सिफारिस भएका हुन् ।

उनी म्याड्रिड आउँदा दूतावास भवनसमेत थिएन । नियुक्ति भएको महिनौंपछि मात्रै उनले ओहोदाको प्रमाणपत्र बुझाएका थिए। केपी शर्मा ओलीको सरकारको नेतृत्व सम्हालेपछि रायमाझीको घरफिर्ती भयो । कार्यभार सम्हालेको साढे ९ महिनामा नै उनी घर फर्किए।ओली सरकारले दावाफुटी शेर्पालाई राजदूत नियुक्ति गरेर पठायो ।

शेर्पा नेपालकी प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी हुन्बु । बुढानीलकन्ठ स्कुलमा पढेकी शेर्पाले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेकी थिइन्।तर राजनीतिक गोलचक्कर अझै पनि रोक्किएन। कांग्रेस नेतृत्वको गठबन्धन सरकारले राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएसँगै म्याड्रिड दूतावासमा पनि प्रभाव परेको छ।

राजदूत शेर्पा दुई वर्ष कार्यकाल बाँकी छदै बुधबार नेपाल फर्किएकी छिन्। नयाँ दूतावासमा छोटो अवधिमा नै दुईजना राजदूत परिवर्तन भइसकेका छन्। राजदूत मात्रै होइन दूतावासको भवन पनि राजदूत फेरिए झैँ  फेरियो। 

दुवै राजदूतहरु परराष्ट्र सेवा बाहिरबाट नियुक्ति भएर आएका हुन्। परराष्ट्र सेवाबाट नियुक्ति भए मात्रै पूर्ण कार्यकाल काम गर्न पाउने भन्दै सोहि अनुसार नियुक्ति गर्न स्पेनवासी नेपालीहरुले सरकारसँग माग राखेका छन्।