एनआरएनए कार्यकाल ६ महिना थप, नोभेम्बर ३० मा निर्वाचन


बार्सिलोना। आईतबारबाट कार्यकाल सकिदै गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो कार्यकालको अवधि ६ महिना लम्वाउने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद्ले शनिवार सम्पन्न बैठकले स्थगित गरिएको अधिवेशनलाई यथाशिघ्र सम्पन्न गर्ने भन्दै कार्यकाल अवधि थप गर्ने निर्णय गरेको हो। तर अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले भने यसबारे बैठकमा कुनै निर्णय नभएको बताएको छ। संस्थापन पक्ष र कुल आचार्य पक्षबीच अवधि थपबारे विमति देखिए पनि नोभेम्बर ३० भित्र निर्वाचन गर्न एकमत देखिएको संकेत गरेका छन्। 

 ‘अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आवस्यक देखेमा तोकिएको अन्तर्राष्ट्रिय महाधिवेशनको मितिलाई पछि सार्न वा स्थगित गर्न सक्ने छ ।तर यो अवधि ६ महीनाभन्दा बढी हुने छैन,’ भन्दै संघको विधानको धारा १३ को उपधारा २ मा उल्लेख छ। 

संघका प्रवक्ता डिबी क्षेत्रीले विधान अनुसार नै आईसीसी बैठकबाट ६ महिना कार्यकाल अवधि थप गर्ने निर्णय भएको बताए। अनलाईनखबरसँग कुराकानी गर्दै प्रवक्ता क्षेत्रीले भने, ‘ एकपटक मात्रै बढाउन पाउने हुँदा हामीले विधान अनुसार नै अवधि थप गर्ने निर्णय गरेका छौ।’

उनले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयलाई विभिन्न पक्षसँग छलफल गरेर यथाशिघ्र चुनाव गर्न आईसीसी बैठकले निर्देशन दिएको बताए। ‘अध्यक्षले ३० नोभेम्बरसम्म चुनाव गर्ने प्रस्ताव राख्नुभएको थियो। मिति तोक्नेमा मिश्रित कुराहरु आएपनि यथाशिघ्र निर्वाचन सम्पन्न गर्ने निर्णय भएको छ।’ प्रवक्ता क्षेत्रीले भने। 

उनले छिट्टै विवाद मिलाउन सम्बन्धित पक्षसँग वार्ता गरिने बताए। ‘विवाद मिलाउनको लागि संरक्षक परिषद लगायत सबैलाई मान्य हुने गरी एक समिति बनाएर विवाद टुंगाउन पहल गर्ने निर्णय भएको छ।’ उनले भने। 

कार्यकाल थप गर्ने बताईए पनि संघले यो समाचार तयार गर्दासम्म बैठकका निर्णयबारे विज्ञप्ति प्रकाशित गरेको छैन।