एनआरएनए महाधिवेशनको मिति सर्छ : अध्यक्ष पन्त


बार्सिलोना । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले दशौं अन्तर्राष्ट्रिय महाधिवेशन निर्धारित मितिमा हुन नसक्ने बताएका छन् ।  अध्यक्ष पन्तले भने, ‘अधिवेशन धेरै नै नजिक छ । छिट्टै सचिवालयको बैठक बसेर महाधिवेशनको मिति सार्छौं ।’

उनले परराष्ट्र मन्त्रालयले महाधिवेशन प्रतिनिधिको विषयमा प्रश्न उठाएर लेखेको पत्रबारे बैठकपछि नै संघले आफ्नो धाराणा राख्ने बताए । परराष्ट्रले पत्रमा ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकोले पूर्वअभ्यास अनुसार गर्ने भनी उल्लेख गरेको छ ।

आगामी अक्टोबर २३-२५ मा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने मिति तय भएको थियो । आकस्मिक रुपमा शुक्रबार नै नेपाल जान लागेका अध्यक्ष पन्तले जर्मनीस्थित एक अन्तर्राष्ट्रिय विमानस्थलबाट कुराकानी गर्दै भने, ‘ परराष्ट्रको पत्रपछि एनआरएन विवाद झनै जटिल मोडमा पुगेको छ। वार्ता र संवादबाट निकास निस्कनेमा आशावादी छु ।’

स्रोतका अनुसार कार्यकाल ६ महिना थप गर्ने र सो अवधिमा महाधिवेशन सम्पन्न गर्ने संघको तयारी छ। ‘अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आवश्यक देखेमा तोकिएको अन्तर्राष्ट्रिय महाधिवेशनको मितिलाई पछि सार्न वा स्थगित गर्न सक्ने छ । तर यो अवधि ६ महिनाभन्दा बढी हुने छैन,’ संघको विधानमा उल्लेख छ ।