एनआरएनए युरोप संयोजकमा कसले मार्ला बाजी ?


बार्सिलोना । गैरआवासीय नेपाली संघमा (एनआरएनए) ६ वटा क्षेत्रीय संयोजकको व्यवस्था भए पनि युरोप क्षेत्रको संयोजकलाई विशेष रुपमा हेर्ने गरिन्छ । २७ वटा एनसीसी राष्ट्रहरुको संयोजक रहेको हुँदा पनि एनआरएनएको केन्द्रीय नेतृत्वसम्म हलचल मच्चाउन सक्ने पदको रुपमा युरोप क्षेत्रको संयोजकलाई हेरिँदै आएको हो।

वर्तमान कार्यसमितिका अध्यक्ष कुमार पन्त नेतृत्वका लागि युरोप संयोजक नारायाणप्रसाद आचार्य फलामको चिउराजस्तै बनेर उत्रिए । तर पन्तसँग नवौ अन्तर्राष्ट्रिय महाधिवेशनमा पराजित अध्यक्षका प्रत्यासी कूल आचार्य खेमाको नजरमा युरोप संयोजक उनै आचार्य अहिलेसम्म कै सफल संयोजकको रुपमा ठहरिएका छन्।

संघको विशेष महाधिवेशन मार्फत पंजीकृत सदस्यता नि:शुल्क बनाउने अभियानको विरुद्व पन्त नेतृत्वसँग कडा टक्करमा उत्रने पात्र उनै आचार्य हुन् । एनसीसीसीको भावना विपरीत पंजीकृत सदस्यता नि:शुल्क बनाउँदा एनसीसीहरु चल्न नसक्ने आचार्य समूहको निचोड थियो। त्यसो त विशेष महाधिवेशनको प्रक्रियालाई पनि लिएर आचार्य खेमाले संस्थापन पक्षसँग असन्तुष्टि व्यक्त गर्‍यो । त्यही रस्साकस्सीमा पनि युरोप संयोजक आचार्यले पटकपटक अध्यक्ष पन्तलाई पत्र बुझाए। एनआरएन इतिहासमा अध्यक्ष र महासचिववीचको मनमुटाव देखिदै आएको भने पनि यसपटक युरोप संयोजक र केन्द्रवीच देखिएको असमझदारी छताछुल्ल भएर नै पोखियो।

पन्त नेतृत्वको नजरमा युरोप संयोजक आचार्यले संघमा अनावश्यक राजनीतिक मिसाएर संघको छवि धमिलो पारेको आरोप छ । एक पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भन्छन्, ‘हाम्रो टिमलाई सुहाउँदो आरसीमात्र भेटेको भए स्मार्ट एनआरएनले अझै छलाङ् मार्थ्यो। विरोधका लागि विरोध गर्नका लागि मात्र उहाँको भूमिका रह्यो।’

तर आचार्य पक्षको निचोड अर्कै छ। ‘आरसीको भूमिकाले नै गुटगत समूहबाट एनआरएनलाई जोगाएर यहाँसम्म ल्याएका छौं। नत्र एनआरएनएभित्र अझै मनोमानी चल्थ्यो,’ आचार्य निकटवर्ती एक अभियन्ताले टिप्पणी गरे। युरोप संयोजक आचार्यको भूमिकालाई लिएर कांग्रेस निकट युरोपका नेपाली जनसम्पर्क समितिहरुले समेत प्रंशसा गर्दै आएका छन्।

एनआरएनए अभियानमा फरक-फरक गुट अनुसार एउटै व्यक्तिको कामको भिन्न भिन्न मूल्याङ्कन हुँदै आएको छ। एनआरएनए कार्यसमितिमा युरोप क्षेत्रीय संयोजकको भूमिकाले कतिसम्म प्रभाव पार्न सक्छ भन्ने उदाहरण सन् २०१९-२०२१ को कार्यकालबाट पनि अनुमान गर्न सकिन्छ।

को- को छन् युरोप संयोजकको दौडमा ?

युरोप संयोजकमा जर्मनीका सन्तोषकुमार भट्टराई, स्पेनका चिन्तामणि सापकोटा, आयरल्याण्डबाट शुक्रराज न्यौपाने र बेलायतका कृष्ण तिमल्सिनाले उम्मेदवारी दिने बताउँदै आएका छन्। भट्टराई नवौं अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय महाधिवेशनमा युरोप संयोजकका लागि निकटतम प्रतिद्वन्द्वी हुन्। उनी तीन मतले पछि पर्दै चुनावका पराजित बनेका थिए।

आयरल्याण्डका न्यौपाने र बेलायतका तिमल्सिना वर्तमान युरोप उपसंयोजक हुन् । स्पेनका सापकोटा वर्तमान आईसीसी सदस्य हुन्। सापकोटाले यसअघि एनआरएनए स्पेनको नेतृत्वसमेत सम्हालिसकेका छन्।

चार उम्मेदवार मध्ये सापकोटा र न्यौपाने कांगेस निकट मानिन्छन् भने भट्टराई नेकपा एमाले निकटका उम्मेदवार हुन् । एमाले निकटकै स्पेनका मुक्तबहादुर गुरुङले पनि सोही पदमा दाबी गर्दै आएका थिए तर उनले भट्टराईलाई समर्थन गर्दै आफूले उम्मेदवारी नदिने घोषणा गरेका छन्।

बेलायतका तिमिल्सिनाको भने राजनीतिक प्रभावभन्दा व्यक्तित्व निकै प्रभावशाली ठानिएको छ। एनआरएनए संस्थापन पक्षका केन्द्रीय पदाधिकारीहरुले समेत तिमिल्सिनाको उम्मेदवारीलाई समर्थन गर्न सक्ने आकलन गरिएको छ।

होला त नयाँ उम्मेदवारको इन्ट्री ?

कांगेस निकट ठानिएका गंगाधर गौतमलाई युरोप संयोजकको उम्मेदवारको रुपमा पनि चर्चा गरिदै आएको भए पनि उनले सचिव पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्।सचिवमा वर्तमान युरोप संयोजक आचार्यसँगै गौतमले पनि उम्मेदवारी घोषणा छन्।

कांग्रेस निकटका गौतम र आचार्यले युरोप क्षेत्रबाट उम्मेदवारी दिदा मत बाँडिने हुँदा कूल आचार्य समूहले चिन्ता व्यक्त गरेको उनका निकटवर्ती बताउँछन्। वर्तमान संयोजक आचार्यले गौतमलाई युरोप संयोजकमै उम्मेदवारी दिन जोड दिदै आएको चर्चा छ।

तर गौतम यसअघि पनि सोही पदमा पराजित बनेका थिए। कांग्रेस निकटका न्यौपाने र सापकोटाले उम्मेदवारी फिर्ता लिएर गौतम एक्ला उम्मेदवार बन्ने सर्तमा मात्र उनले संयोजकमा उम्मेदवारी दिनसक्ने कांगेस निकटवर्तीको आकलन छ। ‘युरोप संयोजकका लागि डेमोक्राटको एकमात्र उम्मेदवार बनाउनेबारे छलफल भइरहेको छ। सम्भवत: अन्तिमसम्म केहि निचोड निस्कन्छ,’ छलफलमा सक्रिय एक सदस्यले बताए।

तर स्पेनका सापकोटा र आयरल्याण्डका न्यौपाने कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने अडानमा छन्।त्यसैले त्यस्तो सम्भावना ज्यादै न्यून छ। अहिलेकै अवस्था रह्यो भने गौतमको इन्ट्री युरोप संयोजकमा नहुने र केन्द्रीय सचिव पदमा नै उम्मेदवारी दिने सम्भावना बलियो छ। तसर्थ भट्टराई, सापकोटा, तिमिल्सिना र न्यौपानेवीच नै युरोप संयोजक पदका लागि भिडन्त हुने सम्भावना बलियो देखिन्छ।

कसले मार्ला बाजी ?

कांग्रेस निकट ठानिएका न्यौपाने र सापकोटाले मत बाँडिने निश्चित छ । दुईमध्ये एकले उम्मेदवारी फिर्ता लिएमा एकको सम्भावना निकै बलियो बन्ने कांग्रेस निकटवर्तीको विश्लेषण छ।

यता भट्टराई नेकपा एमाले निकटका एक्ला उम्मेदवार भए पनि एमालेको विभाजनसँगै उनलाई पनि धक्का पर्ने निश्चित छ। त्यसो त उनलाई एनआरएन संस्थापन पक्षले हालसम्म खुलेर समर्थन गरेको छैन।

संस्थापन पक्ष र कूल आचार्य पक्ष दुवैतर्फका केही मतदाताहरुको रोजाइमा बेलायत निवासी तिमिल्सिना पनि रहेको हुँदा उनलाई कमजोर ठान्नु गलत विश्लेषण हुने कतिपयको भनाइ रहेको छ। चारै जना चुनावी दौडमा रहिरहे यसपटक पनि झिनो मतान्तरले युरोप संयोजकमा विजयी हुने आकलन गरिएको छ।

कांग्रेस निकटका न्यौपाने वा सापकोटा मध्ये एकको मात्र उम्मेदवारी परेमा बलियो सम्भावना देखिन्छ। नवौं अधिवेशनका निकटतम प्रतिद्वन्द्वी भट्टराईले एनआरएन संस्थापन पक्षको समर्थन पाएमा उनले पनि बाजी मार्न सक्ने आकलन गरिएको छ। तर कांग्रेसले आन्तरिक विवाद मिलाउन सकेको खण्डमा युरोप क्षेत्रमा बलियो पकड मानिएको छ। त्यसको लागि एउटा मात्र उम्मेदवार खडा गर्नु सवैभन्दा चुनौतीपूर्ण रहेको छ।

झिनो मतान्तरले विजयी बन्ने इतिहास 

नवौं अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय महाधिवेशनमा युरोप संयोजका ४ उम्मेदवारहरु मैदानमा उत्रिएका थिए। निर्वाचनबाट युरोप क्षेत्रीय संयोजकमा नारायणप्रसाद आचार्य २७४ मतसहित विजयी बनेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी सन्तोषकुमार भट्टराईले २७१ मत ल्याए । भट्टराई जम्मा तीन मतले मात्र पराजित भएका हुन् । यस्तै संयोजकका अर्का प्रत्यासी गंगाधर गौतमले ११२ तथा पदम गुरुङले १९४ मत ल्याएका थिए। तीन जना चयन हुने उपसंयोजक पदमा सात जनाको उम्मेदवारी परेको थियो।

आठौँ अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय महाधिवेशनमा पनि बेल्जियमका शिवकुमार वरुवालले १४२ मत ल्याई विजयी बनेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी स्विट्जरल्याण्डका विनय कुमार श्रेष्ठ १३ मतले पछि परे। युरोप संयोजकमा वरुवाल र श्रेष्ठ सहित ६ जना चुनावी मैदानमा उत्रिएका थिए। आठौँ महाधिवेशनमा २ जना चयन हुने युरोप उपसंयोजक पदमा ७ जनाको उम्मेदवारी परेको थियो।

कतिपयले युरोप संयोजकमा उम्मेदवारी घोषणा केवल चर्चाका लागि गर्दै आएको इतिहास पनि छ। उम्मेदवारी घोषणा पुग्ने तर मनोनयन दर्ता प्रक्रियासम्म आधा संख्या घट्ने दृष्टान्तहरु छन्। अझ उम्मेदवारी फिर्ताको समयसम्म राजनीतिक, आर्थिक वा विविध कारणले अझ त्यो संख्या घटेर ४-५ मा पुग्ने गरेको घटना जिवितै छ।

युरोप संयोजकका आकांक्षीहरु किन घटे ?

त्यसो त एनआएनए अभियानमा पराजित बनेपछि पटक पटक उम्मेदवारी दिने संस्कार जस्तै बनेको छ।अझ रोचक पक्ष के छ भने ,अघिल्लो निर्वाचनमा जुन पदमा पराजित भएको हो,अझ त्यो भन्दा पनि माथिल्लो पदमा उम्मेदवारी दिदै जाने परम्परा जस्तै बनेको छ।

आठौँ महाधिबेशन अघि पदाधिकारी पदहरुको संख्या न्यून थियो त्यसैले क्षेत्रीय संयोजक पदमा उम्मेदवारहरुको हानथाप बढी देखिन्थ्यो। तर संघको विशेष महाधिबेवेशनबाट संसोधित बिधानपछि संघको उपाध्यक्षमा महिला र युवासहित ६ जना तोकिएको छ।

यस्तै महिलासहित ४ जना सचिव, एक महिलासहित दुई जना सहकोषाध्यक्ष, क्षेत्रीय युवा संयोजक,उपसंयोजक,क्षेत्रीय महिला संयोजक, उप-संयोजक लगायतका दर्जनौ पदहरु सिर्जना भएका छन्। त्यसैले पनि क्षेत्रीय संयोजक पदमा आकांक्षीहरु घटेको देखिन्छ। यद्दपी युरोप क्षेत्रमा संयोजक पदमा आकांक्षीहरुको संख्या विगतभन्दा कम देखिए पनि कसले बाजी मार्ला ? त्यो निकै महत्वका साथ हेरिदै आएको छ।