रविना थापाद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा


बार्सिलोना। गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन्। अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्षसमेत रहेकी थापाले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२१- २०२३ कार्यकालका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि संघको अध्यक्ष पदमा बेलायतका कुल आचार्य र रसियाका डा. बद्री केसीले पनि उम्मेदवारी दिने बताउदै आएका छन्। आचार्य र थापा काँग्रेस निकट र डा. केसीलाई नेकपा एमाले निकटका उम्मेदवारको रुपमा हेरिदै आएको छ।

घोषणासभामा बोल्दै अध्यक्षकी उम्मेदवार थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताईन्। ‘२० बर्षको अन्तरालमा यसअघि जमुना गुरुङले कोशिस गर्नुभएको थियो। उहाँको कोशिसलाई सफल पार्न अहिले म आएकी हुँ।आँफैले ईच्छा गरेमात्रै नेतृत्वमा पुग्न महिलाहरु सफल हुनेछौ।’

अन्तिम समयमा उम्मेदवारी फिर्ता लिने गरी आज उम्मेदवारी घोषणाको ‘ग्राण्ड डिजाइन’ हो भन्ने ? पत्रकारको जिज्ञासामा उनले परिवर्तन नचाहानेहरुले ‘चुनावी प्रोपोगाण्डा’ बनाएको बताईन्। ‘यो प्रश्नै नआउनु पर्ने प्रश्न तपाईले भन्नु भयो। यत्रो कार्यक्रम गरेर हामीले घोषणा गरेका छौ। यो एउटा प्रोपोगाण्डा हो। त्यसमा तपाईहरु नलाग्नुहोस्।’ उनले भनिन्।

थापाले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउदै सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई अपिल गरिन्। ‘पहिलो चोटी एनआरएनए अमेरिकाबाट केन्द्रिय नेतृत्वका लागि उम्मेदवारी दिदैछौ।यो एउटा इतिहास रहनेछ।अर्कोतर्फ महिला नेतृत्वमा पुगेको तपाई देख्न चाहानुहुन्छ भने सहयोग गर्नुहोस्।’ थापाले अनुरोध गरिन्।

उनले परराष्ट्र मन्त्रालयले निर्वाचन स्थगित नगरेको भन्दै अनुरोध मात्र गरेको बताईन्। ‘ समयमा नै चुनाव हुनेमा म विश्वस्त छु। परराष्ट्रमा परेको उजुरीको कारणले पनि हाम्रो टिमले पूर्णता पाउन ढिलाई भएको हो। सबै देशहरुलाई समेटेर छिट्टै बलियो टिम निर्माण गर्छौ।’

कार्यक्रममा नै उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन्। भर्चुअल रुपमा सम्बोधन गर्दै जापानका ओम गुरुङले सचिव पदमा उम्मेदवारी दिने बताएका छन्।

संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा थापाले कुल आचार्य समूहबाट नै महिला उपाध्यक्षमा चुनाव जितेकी थिइन्। तर आउँदो अक्टोबरमा हुने संघको दशौं महाधिवेशनमा कांग्रेस निकट ठानिएका आचार्य र थापा दुवै चुनावी मैदानमा उत्रिए एमाले निकटका उम्मेदवार डा. केसीलाई फाइदा पुग्ने गैरआवासीय नेपालीहरुको आकलन छ । डा. केसी, आचार्य र थापाले उम्मेदवारी दिएमा एनआरएनको आगामी नेतृत्वका त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।