एनआरएनए अध्यक्ष पदका प्रत्यासी  कुल आचार्यद्वारा ९ बुदे कार्ययोजना सार्वजनिक


बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका उम्मेदवार कुल आचार्यले आफ्ना ९ बुदे   कार्ययोजनाहरु  सार्वजनिक गरेका छन् ।आगामी अक्टोबरमा हुने एनआरएनएको दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा गर्ने योजना सार्वजनिक गरेका हुन् ।

आचार्यले भने, “तेस्रो पुस्ता पछिका गैरआवासीय नेपालीहरुको नेपालमा पैत्रिक सम्पत्तिको अधिकार, राहदानी तथा नागरिकताको अधिकार स्थापित गर्ने मेरो  योजना छ ।” उनले भने, ‘पैत्रिक सम्पतिको अधिकार, राहदानी तथा तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्नेछु।’

झण्डै दुई दशक एनआरएन अभियानमा सक्रिय आचार्यले गैरआवासीय नेपाली नागरिकताको अधिकारलाई स्थापित गर्ने आफ्नो सर्वोच्च प्राथमिकता रहेको बताए  । नेपालको संविधान २०१५ मा गैरआवासीय नेपाली नागरिकताको प्रावधान रखियेता पनि त्यो अझै कार्यान्वयनमा आउन  सकेको छैन।

एनआरएनएलाई संसारभर रहेका प्रवासी नेपालीहरुको साझा संस्था बनाउने घोषणा गरेका अध्यक्ष प्रत्यासी आचार्यले नेपाली मूलका विदेशी नागरिकहरुलाई पनि नेपालसँग जोड्न आफुले पहल गर्ने बताए।   ‘म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई ’पिपुल अफ नेपाली अरिजिन’ (पिएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्नेछु’ आचार्यले भने । एन आर एन ए भित्र पिएनओको एजेंडा अगाडी सारिएको सम्भवतः यो पहिलो पटक हो।

 सदस्य संख्या पाँच लाख पुर्याउने योजना

आगामी दुइ वर्ष भित्र संघका पन्जीकृत सदस्यहरुको संख्या पाँच लाख पुर्याउने योजना पनि आचार्यले बनाएका छन्।

अहिले सदस्य संख्या एक लाख भन्दा केहि बढी छ।  यो संख्या अलि महत्वा कंक्षी भएन र भन्ने प्रश्न मा आचार्य ले भने, “संसारभरिका एनसीसीहरुलाई सक्रिय बनाएर तथा सदस्यता लिने प्रक्रियालाई सहज बनाएर यो लक्ष्य प्राप्त गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु। बढी भन्दा बढी प्रवासी नेपालीहरुलाई संघमा समेट्ने मेरो प्राथमिकता हुने छ। ”

उनले संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या एक सय पुर्याउने पनि  बताए  । हालसम्म ८४ देशमा एनआरएन स्थापना भएपनि बीस भन्दा बढी एनसीसी निष्कृय रहेका छन् ।

नेपाल सरकार तथा निजी क्षेत्रसंगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गरिने बताउदै  आचार्यले कोभिडका कारण रोजगारी गुमाएर फर्केका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गर्ने  घोषणा पनि गरेका छन् ।

गैरआवासीय नेपाली तथा नेपालमा रहेका तिनका परिवारलाई  सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग सम्झौता गरिने कार्ययोजना बनाएका आचार्यले विदेशमा हुर्कीरहेका बालबालिकाहरुलाई  नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्ने र अनलाइन कक्षाहरु  संचालन गरिने पनि जनाए  ।

गैरआवासीय नेपालीहरुको खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने  पनि उनको योजना छ । एनआरएनएले सञ्चालन गरेका परियोजना लक्षित समूह र समुदायको प्रत्यक्ष सहभागिता र साझेदारीमा सञ्चालन गर्ने योजना बनाएका आचार्यले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि अभियान सञ्चालन गर्ने र त्यसका लागि आवश्यक प्रवन्ध गर्ने पनि बताएका छन् ।

यसअघि नै एनआरएनएका विभिन्न पद र निकायमा रहेर काम गरिसकेका आचार्यले हालसम्मको अनुभव र नयाँ कार्ययोजनाका आधारमा संसारभर फैलिएका नेपालीहरुलाई मातृभूमिसँग जोड्दै अगाडि बढ्ने आफ्नो योजना रहेको बताएका छन् । उनले आफ्नो उम्मेदवारीबारे छिट्टै एक कार्यक्रम मार्फत औपचारिक घोषणा गर्ने पनि जनाए।