स्याङ्जा मूल घरभएका उम्मेदवारलाई सहयोग गर्ने स्याङ्जा सहयोग समाजको निर्णय 


स्याङ्जा मूल घरभएका एनआरएनएको दशौं महाधिवेशनका उम्मेदवारहरुलाई मतदान गर्दै सहयोग गर्ने स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले निर्णय गरेको छ। भर्चुअल रुपमा शुक्रबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै समितिले आफ्ना जिल्लावासी उम्मेदवारहरुलाई जिताउन अपिल गरेको हो। 

 संघको दशौं महाधिवेशनमा बेलायत निवासी थर्क सेनले केन्द्रिय उपाध्यक्षमा,साउदी अरब निबासी यासमिन बेगम सैयदले महिला उपाध्यक्षमा र युएईका बाल कृष्ण मरासिनीले मध्यपुर्व उप संयोजक पदमा उम्मेदवारी दिन लागेको समाजका केन्द्रिय महासचिव हेमन्त रानाभाटले जानकारी दिए। 

‘ हामीले समाजको तर्फबाट स्याङ्जा मूल घरभएका उम्मेदवारहरुलाई सहयोग गर्ने निर्णय गरेका छौ। उहाँहरु हाम्रा भन्दा पनि राम्रा उम्मेदवार हुनुहुन्छ। युरोप र मध्यपूर्वको प्रतिनिधित्व गर्ने तीन उम्मेदवारहरुलाई मतदान गर्न अनुरोध गर्दछौ।’ महासचिव रानाभाटले भने। 

भर्चुअल कार्यक्रममा समाजका राष्ट्रिय समन्व परिषदका अध्यक्षहरु पनि सहभागि बनेका थिए। कार्यक्रममा एनआरएनए आईसीसी सदस्य सुनिल रानाभाट,एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रे, एनआरएनए जापानका निवर्तमान अध्यक्ष देवीलाल भण्डारी, एनआरएनए युकेका सल्लाहकार डेभिड गुरुङ लगायतले बोल्दै जिल्लाबासीलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरेका थिए। 

समाजका अध्यक्ष जीवन न्यापानेले आँफूहरु स्याङ्जा र स्याङ्जाबासीहरुको हितमा काम गर्दै आएकोले संस्थाको मुल मर्मबाट बिचलित नभई स्याङ्जाली उम्मेदवारलाई मतदान गर्न अनुरोध गरे। झन्डै ६ घण्टा लामो कार्यक्रमको संचालन  महासचिव हेमन्त रानाभाट र कार्यक्रम संयोजक राजेश पाण्डेले संचालन गरेका थिए।