आँटिला कार्लोस


बार्सिलोना। ‘आज हामी काठमाडौं आइपुगेका छौं । चार महिनाभन्दा बढी समय पछि। विशेष गरी कठिन वसन्त ऋतु पछि घर फर्कनु परेको थियो । तर, फेरि महामारीको अवस्थामा पनि अधिक आशावादी देशमा फर्किएका छौ। एउटा सहर जो फेरि मुस्कुराइरहेको छ । सामान्य जीवनको सबैभन्दा नजिकको चीजलाई पुनः प्राप्त गर्नको लागि यहाँका सडकमा उत्रिएको छ । यो पुनःप्राप्तिको प्रत्यक्ष साक्षी हुनको लागि काठमाडौंमा अवतरण सबैभन्दा ठूलो सन्तुष्टि भएको छ।’

स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरियाले सोमबार काठमाडौं उत्रिएसँगै सामाजिक संजालमा यसरी आफ्ना भावानाहरु पोखेका छन्। सबैभन्दा बढी उमेरमा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने कार्लोसको सपना छ । उक्त कीर्तिमान राख्न अब उनले धवलागिरि र तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ ।

सन् २०२० मा नेपाल भ्रमण वर्षको अवसर पारेर धवलागिरि पुग्ने उनको योजना थियो। कोरोना भाइरस महामारी उनका लागि बाधक बन्यो । सन् २०२१ को अप्रिलमा उनले फेरि आँट गर्दै धवलागिरि पुगे। तर उनको यात्रा क्याम्प वानसम्म मात्र रह्यो। नेपालमा कोरोनाको दोस्रो लहरले त्रासदी बढ्यो। फलस्वरूप स्पेन सरकारले कार्लोसलगायत हिमालमा फसेका पर्वतारोहीहरुलाई चार्टर विमानमार्फत स्वदेश फर्कायो।

स्पेन फर्किए यता पनि उनी अभ्यासमा नै लागे। पहाडहरु चढ्न र झर्न छोडेनन् । शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि आफूलाई तयार बनाएर कार्लोस फेरि काठमाडौं उत्रिएका हुन्।

त्यसो त उनलाई धवलागिरि हिमाल नौलो होइन । सन् १९९८ मा उनको पहिलो प्रयास थियो । कार्लोसले दुई दशकयता ११औं पटक चुचुरो चुम्न कोशिस गरे । तर, सफल बनेका छैनन्। उनी ८ हजार ५० मिटर उचाइसम्म पुगेका थिए तर ११७ मिटर माथि पुग्न नसक्दा धवलागिरिको चुचुरो टेक्ने सपना अझै अधुरै छ ।

गरीब परिवारमा जन्मिएका उनले १४ वर्षको उमेरमा नै पर्वतमा टेकेका थिए। अहिले पनि कार्लोसको जोश, आँट र अठोट भने उस्तै छ । हिमालयमा टेकेपछि उनलाई आफू कहिल्यै बूढो जस्तो लाग्दैन । उनी अनुभवी आरोही हुन् जो अझै सक्रिय छन् । त्यसैले अहिलेसम्म पनि हिमाललाई चिन्न छोडेका छैनन् ।

उनी आफ्नो बाल्यकाल सम्झिँदै भन्छन्, ‘जिन्दगीका हरेक कुराहरु मैले कठिनताका साथ पाएँ । एकदमै चकचके बच्चा थिएँ । जे चाहना राख्थेँ त्यही पाउन खोज्थेँ । मैले चाहेको कुरा पर्वत नै थियो सायद, त्यही प्राप्त गरेँ । त्यसैले विश्वका उच्च शिखरहरु चढ्न सफल भएँ।’ कार्लोसको बाल्यकालको हुटहुटी अझै पनि हराएको छैन । त्यसैले त ८२ वर्षको उमेर उस्तै आँट र विश्वास लिएर उनि काठमाडौं उत्रिएका छन्। त्यो पनि कोरोना महामारीको यस्तो बेलामा एकै वर्षमा दुई पटक हिमाल चढ्दै छन्।

उनले ७५ वर्षको उमेरमा कंचनजंघा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । ६२ वर्षको उमेरमा सगरमाथा शिखरमा पाइला टेके । विश्वको सर्वोच्च शिखरमा पुग्ने सबैभन्दा वृद्ध व्यक्तिको रेकर्ड केही समय उनको नाममा पनि रह्यो र पछि तोडियो ।

झन्डै तीन वर्षअघि उनको घुँडाको शल्यक्रिया भएको थियो । तर, त्यसपछि पनि उनी हिमाल चढ्न छाडेनन् । शारीरिक र मानसिक रुपमा आफू हिमाल चढ्न सक्षम रहेको कार्लोस बताउँछन् । ‘मलाई अहिलेसम्म उद्धार गर्नुपरेको छैन । आफ्नै भरमा उचाइमा पुगेँ र आफैं फर्किएँ । दुनियाँको सबै बल प्रयोग गरेर फेरि प्रयास गर्न चाहन्छु’।

धवलागिरिको आहारोणपछि तिब्बतको सीसापाङ्मा हिमाल चढ्ने उनको योजनामा रहेको छ । यी दुवै हिमाल आरोहण गरेमा उनको सपना पूरा हुनेछ । उनी विश्वमा ८,००० मिटरभन्दा अग्ला सबै १४ शिखरमा पुग्ने उनी सबैभन्दा बढी उमेरका व्यक्ति बन्नेछन् ।