स्पेनका विशेषज्ञ टोलिले लुम्बिनीमा स्वास्थ्य शिविर संचालन गर्ने


बार्सिलोना। स्पेनका विशेषज्ञ डाक्टरहरुसहितको स्वास्थ्य टोली निशुल्क स्वास्थ्य शिविर संचालन गर्न अक्टोवर पहिलो साता नेपाल जाने भएको छ। ८ सदस्यीय विशेषज्ञ टोलीले लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहकार्यमा एक हप्ते शिविर संचालन गर्न लागेको हो।

स्पेनको म्याड्रिडमा मुख्यालय रहेको लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विशेषज्ञ डाक्टरहरुसहितको स्वास्थ्य टोलीले नेपाल भ्रमण गर्न लागेको हो। फाउन्डेसनका महासचिव एकराज गिरीका अनुसार स्त्री रोग विशेषज्ञ डा. जुआन मार्कोस ओर्डेनेस गोन्जालेज,डा. खोसे रामोन फुएन्तेस मोरान,डा. खोसे मानुएल मार्टिनेज मोराताया,डा. लेतिसिया सेईसडेडोस रोड्रिगेज र डा. येनिफर तातियाना मोरेनो सलजार भ्रमण टोलीमा सहभागी छन्। यस्तै टेरेसा नातिभिदाद भाल्कार्सेल मोन्तेआगुदो,सेसिलिया राकेल रिवास उर्रुतिया र समुह संयोजक तथा अर्थशास्त्री कोलोमान कास्तेदो गार्सिया टोलीमा सहभागी छन्।   

‘लुम्बिनी साँस्कृतिक नगरपालिकाभित्र गरिब, उत्पीडित, बिपन्न र पिछडिएका बर्गहरुलाई सेवा पुर्याउने उद्देश्यले शिविर संचालन गर्न लागिएको हो।’ गिरीले भने। लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा माया देवी मन्दिर नजिकै शिविर संचालन गरिने उनले जानाकारी दिए। एक हप्तासम्म संचालन हुने स्वास्थ्य शिविरबाट हजारौं विपन्न वर्ग लाभान्वित हुने अपेक्षा फाउन्डेसनले राखेको छ। 

लुम्बिनीमा अस्पताल बनाउने योजना :

लुम्बिनी साँस्कृतिक नगरपालिकाको अनुरोधमा लुम्बिनीमा एक अत्याधुनिक मोडेल अस्पताल बनाउन पहल भईरहेको फाउन्डेसनका अध्यक्ष खोसे म्यानुअल भिलानोभाले बताए। ‘अन्तर्राष्ट्रिय स्तरबाट आर्थिक, प्राविधिक सहयोगका लागि पहल र काम गरिरहेको छ।त्यसको प्रारम्भिक चरणको रुपमा अहिले स्वास्थ्य शिविर लिएर नेपाल जाँदैछु।’ उनले भने। 

सबै प्रक्रियाका लागि नेपाल सरकारले पूर्ण सहयोग गर्ने अपेक्षा अध्यक्ष भिलानोभाले राखेका छन्।लुम्बिनी साँस्कृतिक नगरपालिका र लुम्बिनी गार्डेन फाउन्डेसन स्पेन बीच पनि विगत ४ बर्ष देखि सहकार्य हुँदै आएको छ। बुद्धको शान्तिको सन्देश विश्वभर फैलाउने, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार एवम् अनुभवको आदानप्रदान तथा  लुम्बिनीको विकासको लागि अन्तर्राष्ट्रिय सहयोग भित्राउन सहकार्य हुँदै आएको फाउन्डेसनले जनाएको छ। 

फाउन्डेसनकै पहलमा लुम्बिनी साँस्कृतिक नगरपालिकाले स्पेनको म्याड्रिड तथा क्याथेरस नगरसँग छुट्टाछुट्टै रुपमा भगिनीसम्बन्ध जोडेको छ। केहि बर्ष यता स्पेन र नेपालबीचको सहकार्य पनि बढ्दै गएको छ। 

फाउन्डेसनले स्पेनको एक्स्त्रेमादुरा प्रदेशको क्याथेरेस शहरमा पनि  लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी योजना अघि सारेको छ। लुम्बिनी गार्डेन फाउन्डेसनले झन्डै १० अर्व रुपैयाँ खर्च गर्दै सो नगरमा गार्डेन बनाउने योजना अघि सारेको हो। 

नेपाली आर्टिटेक्चर थिममा बनाउन लागिएको गार्डेनमा ४० मिटर अग्लो बुद्वको मुर्ति राखिने भएको छ।