युरोप संयोजकमा स्पेनका गुरुङ र सापकोटा आपसमा भिड्दै


बार्सीलोना। गैर आवासीय नेपाली संघको  (एनआरएनए) अन्तर्राष्ट्रिय महाधिवेशनमा स्पेनका मुक्त बहादुर गुरुङ र चिन्तामणी सापकोटा आपसमा भिड्ने भएका छन्। युरोप संयोजक पदमा उम्मेदवारी दिनेबारे औपचारिक घोषणा गर्दै आपसमा भिड्न लागेका हुन् 

एनआरएनए स्पेनको बार्सिलोनास्थित कार्यालयबाट शुक्रबार दुवैजनाले आफ्नो उम्मेदवारीबारे स्पेनबासी नेपाली समुदायलाई जानकारी गराएका थिए। 

केन्द्रिय चुनावी रणनीति :

मुख्यत: गुरुङ र सापकोटाको उम्मेदवारीलाई केन्द्रिय चुनावी रणनीतिको रुपमा हेरिएको छ। एनआरएनए संस्थापन पक्षका उम्मेदवार डा.बद्री केसीले युरोप संयोजकमा गुरुङलाई उठ्न दवाव दिदै आएका थिए।बर्तमान युरोप उपसंयोजक गुरुङको उम्मेदवारीसँगै स्पेनबाट आफ्नो समूहलाई राम्रो मत आउने डा.केसी समुहको आकलन रहेको छ। 

अर्को विकल्पको रुपमा रहेका युकेका कृष्ण तिमिल्सिना पनि डा. केसी समूहमा नै रहेका थिए। तर १२८ मत रहेको स्पेनमा गुरुङलाई युरोप संयोजकमा अघि सार्ने  डा. केसी समूहले आन्तरिक तयारी भएको स्रोतको दावी छ। नेकपा एमाले निकट ठानिएका गुरुङलाई युरोपभरका एमाले निकटका जनवर्गीय संगठनहरुले पनि उम्मेदवारी घोषणा गर्न दवाव दिदै आएका थिए। युरोप उपसंयोजक गुरुङले भने उप संयोजकपछि संयोजक आफ्नो स्वभाविक उम्मेदवारी रहेको बताएका छन्। 

अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले स्पेनका सापकोटालाई युरोप संयोजक उम्मेदवारको रुपमा अघि सारेका छन्। आयरल्याण्डबाट बर्तमान युरोप उपसंयोजक शुक्रराज न्यौपाने  विकल्पको रुपमा रहे पनि आचार्य समूहको रोजाई भने सापकोटा नै हुन्। संस्थापन पक्षले स्मार्ट एनआरएनको दुरुपयोग गरेको भन्दै युरोप संयोजक नारायण आचार्यको अगुवाईमा सापकोटाले केन्द्रमा पटक पटक आवाज उठाउदै आएका थिए। उनलाई युरोप संयोजकमा अघि सारे राम्रो मत बटुल्ने आशा आचार्य समुहको छ। 

युरोप संयोजकका लागि जनसम्पर्क समितिको आधिकारिक उम्मेदवार को भन्ने पनि रामो रस्साकस्सी चलेको थियो। अन्तत: सापकोटाले नै बाजी मारेका छन्। स्पेनको एनआरएनमा पनि नेपाली जनसम्पर्क समितिको जित भएकाले आचार्य समूह ढुक्क देखिएको छ। सापकोटाको उम्मेदवारीसँगै स्पेनको ६० देखि ७० प्रतिशत मत आचार्य समूहलाई पर्ने उनि निकट सदस्यहरुको दावी छ। 

स्पेनमा माहोल तताउदै केन्द्रिय नेताहरु:

केन्द्रिय अध्यक्ष पदका प्रत्यासी कुल आचार्य केहि दिनमा नै युरोप भ्रमणको तयारीमा छन्। उनको भम्रणको मुख्य केन्द्र स्पेन बन्ने निश्चित छ। आचार्यले स्पेनका मतदातासँग प्रत्यक्ष भेटवार्ता गर्ने योजना समेत बनाएको उनको सचिवालयका एक सदस्यले बताए। नेपाली जनसम्पर्क समिति,क्षेत्रीय संघसंस्था र एनआरएनए स्पेन लगायत स्पेनबासी नेपाली समुदायसँग प्रत्यक्ष कुराकानी गर्ने आचार्यको लक्ष्य रहेको छ। त्यसको माहोल बनाउन उनि स्पेन आउंदै छन्। 

उता डा.बद्री केसीले स्पेनमा महाधिबेशन प्रतिनिधिसँग भर्चुअल अन्तरक्रिया गर्दैछन्। भोलि आईतबार दिउँसो ४.३० बजेदेखि ६.३० सम्म दुई घण्टा लामो छलफल ,अन्तरक्रिया पछि डा. केसी समुहले स्पेनबाट चुनावी रणनीति बनाउने उनका  निकटवर्तिको दावी छ। युरोप संयोजकमा गुरुङको उम्मेदवारी घोषणासँगै माहोल झनै तात्तिएको छ। 

गुरुङ र सापकोटा पछि हट्ने सम्भावना न्यून 

स्पेनबाट एउटै पदमा दुई जनाले उम्मेदवारी किन दिनुपर्यो ? मिलेर जानुनि भन्ने तर्क भावनात्मक मात्र देखिन्छ।तर केन्द्रिय निर्वाचनलाई प्रभाव पार्ने हुँदा दुवैको उम्मेदवारीलाई दुवै समूहले महत्वपूर्ण रुपमा लिएका छन्। तसर्थ पनि गुरुङ र सापकोटा आफ्नो उम्मेदवारीबाट पछि हट्ने सम्भावाना न्यून देखिन्छ। यद्दपी उम्मेदवारी मनोनयन दर्तापछि फिर्ता भएका विगतका उदाहरणहरु हेर्दा र अन्तिम समयमा आँफू उठ्ने पदनै परिवर्तन भएका दृष्टान्तले सम्भावना नै नरहेको भन्न भने मिल्दैन। 

तर पनि राजनीतिक तथा समुहगत स्वार्थलाई हेर्दा र हालको अवस्थावाट दुवै उम्मेदवारहरु एक आपसमा भिड्ने निश्चित जस्तै छ। युरोप संयोजकमा स्पेनका गुरुङ र सापकोटासँगै युकेका कृष्ण तिमिल्सिना र आयरल्याण्डका शुक्रराज न्यौपाने मुख्य प्रतिस्पर्धी हुन्। गुरुङ,तिमिल्सिना र न्यौपाने बर्तमान युरोप उपसंयोजक हुन् भने सापकोटा आईसीसी सदस्य हुन्। 

घोषणासभामा के भयो ?

एनआरएनए स्पेनले आयोजना गरेको कार्यक्रम सापकोटाले युरोप संयोजक पदमा औपचारिक उम्मेदवारी घोषणा गर्ने कार्यक्रम थियो। तर गुरुङ उठ्ने चर्चा चलेको भए पनि अन्तिम निर्णय लिईसकेका थिएनन्। तर सोहि कार्यक्रममा नै दुवैजनाले औपचारिक रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

आफ्नो उम्मेदवारीबारे बोल्दै युरोप उपसंयोजक गुरुङले आफ्नो स्वभाविक उम्मेदवारी रहेको बताए। उनले युरोपका एनआरएनहरुवीच आफ्नो उम्मेदवारीवारे लामो छलफलपछि औपचारिक घोषणा गर्न ढिला भएको सुनाए। चुनावमा एउटै पदमा स्पेनका दुई उम्मेदवारहरु भएपनि युरोप संयोजक पद स्पेनमा नै आउने विश्वास गुरुङले राखेका छन्।  

यता सापकोटाले एनआरएनभित्र थुप्रै बेथितिहरु रहेको भन्दै त्यसलाई चिर्न पनि आंफुले उम्मेदवारी दिने निर्णयमा पुगेको बताए। आँफू एनआरएनए अध्यक्ष हुँदा होस् वा आईसीसी सदस्य हुँदा केन्द्रमा आवाज पुर्याउन निकै ग्राहो भएको भन्दै आँफूले सबै एनसीसीको मर्म बुझेको बताए।उनले युरोपबासी एनआरएनहरुले आँफुलाई जिताउने विश्वास ब्यक्त गरे। 

कार्यक्रममा बोल्दै स्पेनस्थित संघसंस्थाका प्रतिनिधिहरुले दुवै उम्मेदवारलाई मिलेर जान सुझाव दिएका थिए।एउटै देशबाट एकै पदमा आपसमा भिड्दा नराम्रो सन्देश जाने भन्दै छलफल गरी मिलेर जान सुझाव दिएका छन्। 

एनआरएनए स्पेनको आयोजनामा भएको कार्यक्रमबारे संघले पत्रकारलाई भने निमन्त्रणा गरेको थिएन।प्राय: संघसस्थाहरु उपस्थित कार्यक्रममा पत्रकार बेखबर थिए।संघले बेवास्ता गरेपनि दुवै उम्मेदवारहरुले घोषणासभाको कार्यक्रमबारेको अनौपचारिक जानकारी भने गराएका थिए।