एनआरएनए स्पेन र म्याड्रिडस्थित नेपाली दूताबासवीच अन्तरक्रिया


बार्सिलोना। एनआरएनए स्पेन र म्याड्रिडस्थित नेपाली दूताबासवीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। म्याड्रिडस्थित राजदूताबासमा संघको नयाँ निर्वाचित कार्यसमिति र दूताबासवीच सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। स्पेनमा बिभिन्न क्षेत्रहरुमा बस्ने नेपाली समुदायका समस्याहरुलाई समेटेर संघले दूताबासलाई ज्ञापनपत्र समेत बुझाएको छ। 

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नयाँ निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामाना दिदै सफल कार्यकालका लागि शुभकामना ब्यक्त गरिन्। उनले राजदूताबास र संघबीच समन्वय,सहकार्य र सम्बन्ध सुमधुर रहने बिश्वास ब्यक्त गरिन्। 

भेटमा सहभागी संघका महासचिव बिदुर गौतमले दूताबासलाई स्पेनबासी नेपाली समुदायका समस्याहरुको बारेमा ध्यानआकर्षण गराएको बताए। ‘बार्सिलोनामा अहिले कन्सुलर कार्यलय निष्क्रिय छ,कागाजी कामहरुमा समस्या देखिएको छ। यसको बिकल्प र समस्या समाधानका बारेमा हामीले दूताबासको ध्यान केन्द्रित गरेका छौ।’ महासचिव गौतमले भने। 

उनले कागाजी प्रक्रियामा रहेका नेपालीहरुलाई अनलाईन पुलिस रिपोर्ट वा प्रमाणिकरणका बारेमा झनै दुबिधा परेकोबारेमा पनि दूताबासलाई जानकारी गराएको नेपालीनेपाली डटकमलाई बताए। 

संघले पारिबारिक पुनर्मिलन लगायत अभिभावकलाई स्पेन बोलाउने क्रममा गरिएको कडाईबारे स्पेन सरकारको ध्यानआकर्षण गराउन दूताबासलाई अनुरोध गरेको छ।