मेस्सी र बार्सिलोनाबीच सम्झौता नहुनुका तीन मुख्य कारण :


बार्सिलोना।बार्सिलोनासँग उनले सम्झौता गर्न नसक्नुका केही कारण उल्लेख गरिएको छ ।

 

१. ला लिगाको मापदण्ड

बार्सिलोना र मेस्सीबीच हुन लागेको भनिएको सम्झौताको बाधक ला लिगाको मापदण्ड फाइनान्सियल फेयर पे (एफएफपी) हो । यो नियममा क्लबले खेलाडीलाई कतिसम्म तलब दिन पाउने भन्ने तोकिएको छ, जुन क्लबको आम्दानीका आधारमा निर्धारण हुन्छ ।

अहिले बार्सिलोनाको आम्दानी कोरोना महामारीका कारण घटेको छ । त्यसैले बार्सिलोनाले उक्त मापदण्ड पूरा गर्ने उद्देश्यका साथ मेस्सीको तलब करीब २० करोड युरोले घटाउने निर्णय गरेको थियो । यसले पनि एफएफपीअनुसार भएन । किनकि बार्सिलोनामा एन्टोनी ग्रिजम्यान, उस्मान डेम्बेले र फिलिप काउटिन्हो जस्ता महंगा खेलाडी छन् ।

२. ऋण

बार्सिलोनाको ऋण पनि मेस्सीसँग सम्झौता हुन नसक्नुको एक कारण हो । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण बार्सिलोनाको वित्तीय अवस्था कमजोर बनेको छ । गत वर्ष महामारीकै कारण क्लबको आम्दानी १२ करोड ५० लाख युरो घटेको थियो । क्लब अहिले पनि करोडौं युरो बराबर ऋणमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

स्पेनका स्थानीय सञ्चारमाध्यमहरुले मेस्सीसँगको सम्झौताको कारण बार्सिलोनाको वित्तीय अवस्था निकै कमजोर हुँदै गएको बताएका थिए । नियमित तलबका साथै खेलमा गरेको प्रदर्शनको आधारमा पाउने बोनस पनि उल्लेख्य हुने भएकाले उनलाई राख्दा क्लबलाई धेरै नोक्सानी भइरहेको केहीको तर्क छ ।

३. सीभीसीसँग कुरा नमिल्नु

लगानी कोष (सीभीसी)सँग स्पेनिस ला लिगाले हालै मात्र महत्वपूर्ण सम्झौता गरेको छ । यो सम्झौता अनुसार बार्सिलोनाले २० करोड युरोभन्दा धेरै रकम पाउन सक्थ्यो र मेस्सीलाई क्लबमै राखिराख्न पर्याप्त हुन्थ्यो । तर, यो रकम पाउन क्लबले सुपर लिगको योजना त्याग्दै ला लिगासँग दीर्घकालीन सम्झौता गर्नुपर्ने भयो ।

बार्सिलोना सुपर लिगको योजना त्याग्न तयार भएन । र, सीभीसीमार्फत उसले रकम नपाउने भयो । बार्सिलोनाले मेस्सी अब क्लबमा नरहने बताएसँगै ला लिगाको अर्को क्लब रियल मड्रिडले पनि ला लिगाको सीभीसीसँग सहकार्य नगर्ने बताएको छ ।

एजेन्सीहरुको सहयोगमा