यात्रा अनुभूति: फेवातालको झल्को मेट्ने ‘सान पोङ्क’ पुग्दा 


सन्तोष श्रेष्ठ

सन् २०१९ को अन्त्यबाट सुरु भएको कोभिडको सक्रमणले २०२० लाई बिर्सनलायक वर्ष बनाएको सबैको अनुभूति हो। सन् २०२१ देखि कोभिड विरुद्वको खोप स्पेनमा तिब्र भएयता केहि चहलपहल सुरु भएको छ। झन्डै ६० प्रतिशत मानिसहरु पूर्ण खोप लगाउन सक्षम भएका छन्। यद्दपी कोरोना संक्रमण दर भने उच्च नै छ।आन्तरिक तथा वाह्य पर्यटकहरुको न्यूनरुपमा भएपनि चहलपहल सुरु भएको छ। 

स्पेन अधिराज्यमा नेपालीहरु बसाई १० देखि १५ हजारको संख्यामा रहेको अनुमान गरिन्छ। १७ वटा प्रदेशमध्ये क्याटलोनिया नेपालीहरुको बाक्लो बसाई रहेको प्रदेश हो। स्पेनमा ५० वटा प्रान्तहरु छन्। त्यस मध्ये क्याटलोनिया क्षेत्रमा मात्रै ४ वटा प्रान्त रहेका छन्।बार्सिलोना,जिरोना,तारागोना र लिदिया। हामी नेपालीहरुको बाक्लो बसाई बार्सिलोना प्रान्तभित्र नै छ। तसर्थ हाम्रो घुमफिर,यात्रा अनुभूति र मनोरन्जन पनि बार्सिलोनामा नै सिमिति रहदै आएको छ। तर अहिले कोभिडका कारण घुमफिरका लागि अर्को युरोपेली मुलुक जाने लगभग रोक्किएजस्तै भएको बेला आफ्नै प्रदेशका प्रान्तभित्रका रमणीय स्थलहरु खोजीखोजी नेपालीहरुले पनि घुम्न सुरु गरेका छन्।

यसै साता हाम्रो परिवारको रोजाईमा पनि लिदिया प्रान्तको ‘सान पोङ्क’ ताल घुम्ने योजना बन्यो। सन् १९४९ देखि १९५७ वीच बनेको यो ताल कारडेनर नदीको सेरोफेरोमा रहेको छ।बागाको बोर्डर नजिकै पर्ने यो ताल पुग्न चर्चित पहाड मोनसेरातको डाडा काटेर जानुपर्छ। बार्सिलोनादेखि झन्डै १ घण्टा ३२ मिनेटको सवारी यात्रापछि त्यहाँ पुग्यौ। 

छोरालाई पानीमा खेल्न असाध्यै मनपर्ने हुँदा पहिले त यात्रा गाभा तिरको थियो। तर बिक्रम भाईले सधै जाने ठॉउभन्दा नया गन्तब्य तय गरौं भनेपछि सान पोङ्कको साईत जुर्यो। करिब १ घण्टाको यात्रा हतार नगरी जादै गर्दा पर एउटा सुन्दर ताल देखियो। हरियो घना जंगलकोवीचमा टाढैबाट मनमोहक दृश्य देखिन्थ्यो। मनमनै कतिबेला त्यहाँ पुगौंला भने जस्तो लाग्दै गयो। बास्तबमा त्यहॉ पुग्दा आहा! भन्ने शब्द निस्कियो। सायद,पहिलोपटक पुग्दा सबैको मुखबाट यही शब्द निस्कनेछ।

तालको छेउमै सल्लाघारी,बिचमा पानीको धारा। घुमाउरो पारामा स्थायी रुपमा राखिएका कुर्सीहरु, ड्राई पिकनिक आउने जस्तो ठॉउ देखिन्थ्यो। कल्पनामै ड्राई पिकनिकमा पुग्यौ त़्यो दृश्यले। पानीको छेउमै लस्करै राखिएको स्लिपिङ चेयर। एउटा हुल नजिकै ड्रिंक्सहरु राखेर निकै रमाउदै थिए । हामी पानीको धेरै नजिक पुग्यौं। पौडी खेल्नकोलागी पनि निकै सुरक्षित देखिन्थ्यो। सानासाना बच्चाहरु पनि निकै टाढासम्म रमा़ई रमाई पौडीमा रमाईरहेका थिए।

हामीले सल्ला घारी र तालको पानीसँग जिस्किदै फोटो खिच्यौ। फेरि मन डुङ्गा सयर गर्ने मनमा रहर जाग्यो। परिवार सबै  डुङ्गामा रमाउदै पोखरा फेवातालको झल्को मेटायौं।सुरक्षाका सबै बिधि अपनाएर डुङ्गामा सवार हुँदै आनन्द लियौं।   बिचमा ड़्याम क्रस गरेर जादैगर्दा फेवाताल जस्तो देखिने दृश्यले ठ्याक्कै नेपालमै पुगे जस्तो अनुभूति भयो।पारीपट्टी तालको माथीमाथी पामे जानेजस्तो बाटो लाग्यो। फेवाताललाई कल्पनामा राख्दा वरपर त्यस्तै देखिन्थ्यो। 

हामी त्यहि सुन्दर बाटोलाई पछ्याउदै एउटा बारमा पुग्यो। तालको ठ्याक्कै माथी ट्यारेसामा बनाईएको बार निकै ब्यबस्थित थियो। सुन्दर दृश्यहरु देखिने बार केवल पिउनका लागि ब्यबस्थित रहेछ। ( खाना थिएन )  केहीबेर त्यही बस्यौं । आ-आफ्नो ईच्छा अनुसार मानिसहरु रमाईरहेका थिए।कोही रुखमा झोलुङ्गे बनाएर रमाईरहेका थिए। 

कोहि जंगल छेउमै खानपिनमा ब्यस्त थिए।प्रेमिलजोडीहरु मायाप्रेममा लिप्त थिए। बास्तवमै तालवरपर मनमोहक प्राकृतिक दृश्यहरु थिए ।अलि टाढासम्म नजर घुमाउद जगंलमा ट्रेकिङ् गरेजस्तो देखिन्थ्यो। नेपाली उखान ‘नजिकको तिर्थ हेला’ भनेजस्तै भयो।एक दशकभन्दा लामो बसाई बार्सिलोनामा बिताएर पनि स्वर्गीय आनन्द लिन किन ढिला गरेछु। मनमनै पछुतो लाग्यो। 

‘वाह। त्यो दिन, त्यो पल, नेपालकै याद मेटाउने त्यो पल। 

(बार्सिलोना निवासी श्रेष्ठको यो यात्रा अनुभूति लेख हो )

 

तपाईको प्रतिक्रिया