एनआरएनको ६० वटा देशमा निर्वाचन सम्पन्न,२० वटा देश निष्क्रिय


वार्सिलोना। गैरआवासीय नेपाली संघका ६० वटा देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुमा निर्वाचन सम्पन्न भएको छ। आगामी २०२१–२३ कार्यकालको लागि नयाँ नेतृत्व चयन हुँदै निर्वाचन सम्पन्न भएको हो। 

विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुक मध्ये २० वटा राष्ट्रिय समन्वय परिषदहरु लामो समय देखि निष्क्रिय देखिएका छन्। संघका महासचिव  डा. हेम राज शर्माले बुधबार महाधिवेशन सम्बन्धि संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै सो आँकडा प्रस्तुत गरेका हुन्। 

महासचिव डा. शर्माका अनुसार निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषदहरुमा सर्वसम्मत तथा निर्विरोध कार्यसमिति चयन भएको छ। ११ वटा राष्ट्रिय समन्वय परिषदहरुमा अनलाईनमार्फत र ७ वटा राष्ट्रिय समन्वय परिषदमा  भौतिक रुपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको हो । विभिन्न ४ वटा राष्ट्रिय समन्वय परिषदमा कार्यसमिति चयन हुन बाँकी छ। यूएई,डेनमार्क,पोर्चुगल र स्लोभानियाले पनि छिट्टै नयाँ नेतृत्व पाउने प्रतिवेदनमा उल्लेख छ। 

अफ्रिका क्षेत्र:

संघको प्रतिवेदन अनुसार बोत्स्वाना, कंगो, इक्वेटोरियल गिनिया, घाना, केन्या, म्याडागास्कर, नाईजेरिया, सेसेल्स, दक्षिण अफ्रिका, तान्जानिया, युगाण्डा र जाम्बियामा सर्वसम्मत तथा निर्विरोध कार्यसमिति चयन भएको छ। तर अफ्रिका क्षेत्रकै लेसोथो, लिविया, मालावी, दक्षिण सुडान निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु हुन्। 

अमेरिकाज् क्षेत्र

अमेरिकाज् क्षेत्रमा मेक्सिको र कोस्टारिका सर्वसम्मत तथा निर्विरोध  कार्यसमिति चयन भए भने चिली र अमेरिकामा अनलाईनमार्फत निर्वाचन सम्पन्न भएको छ। तर क्यानाडामा भौतिक रुपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको संघले जनाएको छ। राष्ट्रिय समन्वय परिषद् ब्राजिल भने निष्क्रिय एनसीसीको सूचिमा रहेको छ।  

एसिया प्रशान्त क्षेत्र

एसिया प्रशान्त क्षेत्रमा कम्बोडिया, हङकङ, मकाउ, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, ताईवान, थाईल्याण्ड र भियतनाममा सर्वसम्मत तथा निर्विरोध कार्यसमिति चयन भएको छ। चीन, जापान र दक्षिण कोरियामा अनलाइनमार्फत चुनाव सम्पन्न भएको संघको प्रतिबेदनमा उल्लेख छ। ब्रुनाई, पूर्वी टिमोर, इण्डोनेसिया संघका निष्क्रिय एनसीसीको सूचीमा छन्। 

यूरोप क्षेत्र

सबैभन्दा बढी एनसीसीहरु रहेको युरोप क्षेत्रमा पनि बुल्गेरिया, ग्रिस, हंगेरी, रोमानिया, यूक्रेनजस्ता एनसीसीहरु निष्क्रिय छन्। बेलारुस, चेक–रिपब्लिक, फिनल्याण्ड, आयरल्याण्ड, इजरायल, इटाली, लग्जेम्वर्ग, रसिया, टर्की, स्वीडेन र स्वीट्जरल्याण्डमा सर्वसम्मत तथा निर्विरोध कार्यसमिति चयन भएको प्रतिवेदनमा उल्लेख छ। साइप्रस, जर्मनी, स्पेन, नर्वे, फ्रान्स, र यूकेले अनलाईनमार्फत चुनाव सम्पन्न गरे भने अष्ट्रिया, बेल्जियम, माल्टा, नेदरल्याण्डस्, पोल्याण्ड र पोर्चुगलले भौतिक रुपमा नै उपस्थित भएर निर्वाचन गरेका छन्। 

मध्यपूर्व क्षेत्र :

मध्यपूर्व क्षत्रमा सर्वसम्मत तथा निर्विरोध कार्यसमिति चयन गर्ने एनसीसीहरु कुवेत, ओमान र कतार रहेका छन्। 

बहराइन र साउदी अरेबियाले अनलाईनमार्फत निर्वाचन सम्पन्न गरे भने इजिप्ट, इराक, जोर्डन, लेबनान र यमन निष्क्रिय एनसीसीहरु हुन्। 

ओसेनिया क्षेत्र

ओसेनिया क्षेत्रमा अष्ट्रेलियाले अनलाईनमार्फत निर्वाचन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। पपुवा न्यूगिनी र न्यूजिल्याण्डमा सर्वसम्मत तथा निर्विरोध कार्यसमिति चयन भयो भने भानुआटु निष्क्रिय एनसीसीको सूचीमा रहेको छ। 

 १ लाख भन्दा बढीले संघको पञ्जिकृत:

संघका महासचिव डा. शर्माद्वाराले जारि गरेको प्रतिवेदन अनुसार विश्वभरबाट १ लाख भन्दा बढीले संघको पञ्जिकृत सदस्यता लिइसकेका छन् । ‘आगामी अक्टोबर २३ देखि २५ सम्म हुने १० औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समन्वय परिषद्ले यही १५ अगष्टभित्र प्रतिनिधिहरुको नामावली संघको (विधानमा व्यवस्था भए बमोजिम) पठाउनु पर्नेछ । त्यसका लागि प्रक्रिया सुरु भइसकेको जानकारी प्राप्त भएको छ ।’ प्रतिवेदनमा उल्लेख छ।