चार वटै क्षेत्रीय समितिमा राईको जित,बार्सिलोनाको मतान्तरले डुम्रेसँग पराजित 


एनआरएन स्पेनका अध्यक्षका उम्मेदवारहरु,राई (दायाँतर्फ ) र डुम्रे (बायाँतर्फ)

वार्सिलोना। एनआरएनए स्पेनको चार वटै क्षेत्रीय समितिका जित हासिल गरेपनि म्याड्रिड निवासी उत्तरकुमार राई अध्यक्षमा पराजित भएका छन्। संघको केन्द्र ठानिने बार्सिलोनामा २८३ मतको मतान्तरको कारण राईलाई चार वटै क्षेत्रको समर्थन पनि जितका लागि पर्याप्त भएन। बार्सिलोनामा शालिकराम डुम्रेले ५८८ मत ल्याउदा राई केवल ३०५ मतमा नै सिमित रहे। बार्सिलोना निवासी डुम्रे नेपाली जनसम्पर्क समितिका पूर्व अध्यक्ष समेत हुन्। समितिको पूर्ण समर्थन पाएका डुम्रेले बार्सिलोनामा शानदार मत प्राप्त गरेका छन्। सम्पूर्ण मतदाताको झन्डै आधा हिस्सा ओगेटेको बार्सिलोना चुनावको निर्णायक केन्द्र बन्दै आएको छ। 

अध्यक्षका प्रत्यासी राईले म्याड्रिड क्षेत्रबाट २११ मत प्राप्त गरे भने डुम्रेले १३६ मत प्राप्त गरेका छन्। पूर्व अनुमान अनुसार राईले आफ्नै क्षेत्रबाट भारि मत ल्याउने आकलन गरिएको थियो। तर म्याड्रिड क्षेत्रबाट डुम्रे समूहबाट उपाध्यक्षमा रोशन पाठक र सचिवमा सुन्दरी लामा उम्मेदवार थिए। यिनै उम्मेदवारहरुको कारण राईलाई प्राप्त हुनसक्ने भारि मत डुम्रेको पोल्टामा पुगेको अनुमान छ। 

ग्रान क्यानेरियानमा राईले ५८ मत प्राप्त गरेका छन् भने डुम्रेका लागि ४३ मत खसेको छ। कोष्टाब्याङ्कामा राईले १५४ मत प्राप्त गरेका छन् भने डुम्रेले १४५ मत प्राप्त गरे। सो क्षेत्रबाट डुम्रेको समूहबाट उपाध्यक्षकी उम्मेदवार बनेकी सृजना लामिछानेका कारण धेरै मत खस्ने अनुमान थियो। तर डुम्रेले कोष्टाब्याङ्का क्षेत्रबाट अपेक्षा गरेभन्दा धेरै नै कम मत प्राप्त गरेका छन्।

यस्तै पाईसभास्को क्षेत्रमा पनि राई नै अघि छन्। उनले १३३ मत प्राप्त गरेभने डुम्रेले १०४ मत प्राप्त गरेका छन्। 

केन्द्र भर्सेस क्षेत्र 

नेपालीनेपाली डटकमले एनआरएनए स्पेनको चुनावबारेको पहिलो समाचार नै केन्द्र भर्सेस क्षेत्र भन्दै प्रकाशित गरेको थियो। अन्तत: निर्वाचनको मतपरिणामले पनि केन्द्र र क्षेत्रबीचको प्रतिस्पर्धालाई चित्रण गरेको छ। क्षेत्रबाट पहिलो पटक केन्द्रिय अध्यक्षका उम्मेदवार दिएका राईले चारवटै क्षेत्रमा बिजयी हुँदै समर्थन पाएका छन्। अर्थात् क्षेत्रको जनमत राईको पोल्टामा छ। यता केन्द्र मानिएको बार्सिलोनामा राईलाई भारि मतले डुम्रेले पछि पारेका छन्। बार्सिलोना केन्द्रले बहुमतका साथ डुम्रेलाई अनुमोदन गरेको छ। 

यसपटकको निर्वाचनमा काँग्रेस र एमालेवीचको प्रतिस्पर्धा र  प्रभाव देखिए पनि केन्द्र भर्सेस क्षेत्रको लडाई पनि सातौं अधिबेशनसँगै स्पेनमा सुरु भएको छ।

एनआरएनए स्पेनको सातौँ अधिवेशनबाट अध्यक्षमा बार्सिलोना निवासी शालिकराम डुम्रे विजयी बनेका छन्। ।डुम्रेले १ हजार १८ मत प्राप्त गरे भने  राईले ८६३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।