एनआरएनए स्पेन :- अध्यक्षका दावेदार डुम्रे नेतृत्वको टिममा को -को अटाउलान् ?


वार्सिलोना, एनआरएनए स्पेनको आगामी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका जनसम्पर्क समिति स्पेनका पूर्व अध्यक्ष शालिकराम डुम्रे आफ्नो टिम घोषणाको तयारीमा जुटेका छन्। डुम्रे नेतृत्वको समूहमा अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य ( आईसीसी) पदका लागि ४ जनाले ईच्छा देखाएपछि हालसम्म सहमति जुट्न सकेको छैन। 

आईसीसी पदका लागि छैठौं अधिबेशनका प्रत्यासी उम्मेदवार प्रकाश तिमिल्सिना, एनआरएनए स्पेनका पूर्व अध्यक्ष अनिल गुरुङ, पूर्व उपाध्यक्ष बिनिता रेग्मी खनाल र जनसम्पर्क समिति स्पेनका पूर्वअध्यक्ष पुष्पराज भण्डारीले ईच्छा ब्यक्त गरेका छन्। सहमतिका लागि प्रयासमा खटिएका जनसम्पर्क समिति निकट एक सदस्यले भने,’उहाँहरु चार जनाले नै ईच्छा ब्यक्त गर्नु भएको छ।यो नै जानुहुन्छ भनेर अनुमान गर्ने अबस्था छैन। छलफलको क्रम जारी नै छ।’

छैठौँ अधिवेशनमा २ हजार भन्दा बढी पंजीकृत सदस्यता बनेकाले स्पेनले २ जना आईसीसी सदस्य पाएको थियो। 

यस्तै उपाध्यक्ष पदका लागि सोनु राउतले ईच्छा ब्यक्त गरेका छन्।जनसम्पर्क निकट स्रोतका अनुसार महासचिवमा बिदुर गौतम र रोशन गुरुङ,सचिव र कोषाध्यक्ष पदका लागि एनके भट्टराई, अन्जु तिमिल्सिना र सन्त बहादुर क्षेत्री,सहकोषाध्यक्षमा महन्त महर्जनको नाम चर्चामा रहेको छ। 

‘अहिलेको प्राथमिकता सदस्यता नै हो। हामी त्यतै केन्द्रित छौ। क्षेत्रतिर पनि ईच्छुकहरुसँग छलफल भईरहेको छ। अन्य संस्थाहरुसँग छलफल गरेर मजबुत टिम तयार गर्दैछौ। कुन पदमा को-को जानुहुन्छ सवै टुङ्गो लाग्न अझै केहि समय लाग्छ।’ छलफलमा सक्रिय रहेका एक सदस्यले नेपालीनेपाली डटकमलाई बताए। 

यसअघि एनआरएन स्पेनको अध्यक्षमा म्याड्रिड निवासी उत्तर राईले उम्मेद्वारी घोषणा गरेका छन्। एनआरएनए क्षेत्रीय समिति म्याड्रिडको पाँचौ अधिबेशनमा बोल्दै वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका राईले अध्यक्ष पदका लागि  औपचारिक रुपमै उम्मेद्वारी घोषणा गरेका हुन्। तर राई नेतृत्वको टिमबारेको चर्चा परिचर्चा सुरु भएको छैन। 

आगामी जुलाई २५ मा हुने एनआरएनए स्पेनको सातौ अधिबेशनले २०२१- २०२३ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै छ। डुम्रे र राईसँगै वर्तमान कार्यसमितिका उपाध्यक्ष दिनेशकुमार गिरीले पनि आँफू अध्यक्षको उम्मेदवार रहेको बताउदै आएका छन्।