युरोपमा एक महिने आधारभूत पत्रकारिता तालिम सम्पन्न 


रामकृष्ण पुडासैनी 

म्याड्रिड, १० जुन ।

नेपाल पत्रकार महासंघ युरोप शाखाले नेपाल प्रेस इन्स्टिच्युटसँगको समन्वयमा एक महिने आधारभूत तालिम सम्पन्न गरेको छ। भर्चुअल माध्यमबाट गत १० मे देखि सुरु भएको पत्रकारिता तालिम बिहिबार सम्पन्न भएको हो। तालिममा विभिन्न सञ्चारमाध्यमसँग आवद्व तथा पत्रकारितामा रूचि राख्ने १८ जना प्रशिक्षार्थीहरु सहभागी थिए।  स्पेन,बेल्जियम, डेनमार्क,नेदरल्याण्ड,स्वीट्जरल्याण्ड,पोर्चुगल लगायतका मुलुकहरुबाट प्रशिक्षार्थीहरु सहभागि बनेका हुन्। 

समापन कार्यक्रममा प्रमुख अतिथिकोरुपमा बोल्दै गैर आवासीय नेपाल संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले दक्ष पत्रकार कसरी बन्ने भन्ने मनसाय भएका पत्रकारहरुका लागि यो तालिम उपलब्धिमूलक हुने विश्वास ब्यक्त गरे।

उनले भने,“डायस्फोराको समाचारले नेपालका मूलधारका पत्रपत्रिकाहरुमा महत्वपूर्ण स्थान पाउदै आएको छ। यसको सम्पूर्ण श्रेय तपाईहरुलाई जान्छ। अझ यस्ता गतिबिधिले दक्ष पत्रकार बन्न सहयोग पुग्नेछ। यस्ता गतिबिधिमा एनआरएनले साथ सहयोग र हातेमालो गर्न चाहन्छ।”

डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले आफ्नो जीवनको तीन दशक पत्रकारिता क्षेत्रमा नै वितेको स्मरण गर्दै पत्रकारले आँफूलाई समय सापेक्ष सदैव अपडेड राख्नुपर्नेमा जोड दिए। राजदूत लम्सालले भने, “हरेक दिन आँफूलाई अपडेड राख्न जरुरी छ। यदी समय सापेक्ष आँफूलाई अपडेड राख्न सकेनौं भने हामी नोकिया मोवाईल जस्तै हुन्छौ। नोकियाले आँफूलाई अपडेड गर्न सकेन त्यसैले आजको यो अवस्थामा छ।”

कार्यक्रममा पूर्व निर्वाचन आयुक्त एवम नेपाल प्रेस इन्ष्टिच्युटका अध्यक्ष निलकण्ठ उप्रेतीले प्रविधिले सवैलाई नजिक बनाएको बताए।  “तपाईहरुले सवैभन्दा राम्रो काम त के गर्नुभयो भने अहिलेको विषम परिस्थितिमा, जुन किसिमले युरोपले गर्यो। यस्तै किसिमले अमेरिकाले,अफ्रिका र एसियाले पनि एनपिआईसँग जोडिएर यस्तै काम गर्दियो भने एनपीआई पनि जीवन्त रहिरहन्थ्यो। र तपाई हाम्रो सम्बन्ध पनि रहिरहन्थ्यो भन्ने मलाई लागेको छ।” उप्रेतीले भने। उनले कोरोना महामारीका बेला मातृभूमिका लागि सहयोग गर्न पनि गैर आवासीय नेपालीहरुलाई अनुरोध गरे। 

समापन कार्यक्रममा महासंघ युरोप शाखाकी अध्यक्ष  सरस्वती कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ पत्रकार भगीरथ योगी , महासंघका संस्थापक संयोजक ददिराम सापकोटा, बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा, महासंघकी केन्द्रिय  सल्लाहकार निर्मला शर्मा लगायतले शुभकामना ब्यक्त गरेका थिए।

नेपाल प्रेस इन्स्टिच्युटका कार्यक्रम प्रबन्धक कपिल काफ्ले, महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा,पत्रकार राजेन्द्र पराजुली , महासंघ अध्यक्ष बिपुल पोखरेल, पत्रकार निरन्जन राजबंशी लगायतले सहभागी प्रशिक्षार्थीहरूलाई पत्रकारिताका बिभिन्न विधामा प्रशिक्षण दिएका थिए।