कोभिड महामारी यता वार्सिलोनामा गुञ्जियो पहिलोपटक नेपाली संगीत


बार्सिलोना, जुन ५ 

कोराना भाईरसको कारण डेढ वर्ष यता स्पेनको पर्यटकीय सहर वार्सिलोना सुनसान देखिन्थ्यो। केन्द्रिय सरकारले लगाएको कर्फ्यूका कारण मानिसहरु अति आवश्यक कामवाहेक घरभित्र नै समिति थिए। तर तीन साताअघि संकटकाल हट्यो। कोरोना विरुद्वको नियन्त्रण खुकुलोहुँदै गयो। योसँगै लामो समयपछि नेपाली संगीतको धुन शनिबार वार्सिलोनाको आर्के तुरिममा गुञ्जिएको छ। नेपाली गीत संगीतमा कलाकारहरुले नृत्य प्रस्तुत गर्दा स्पेनिश लगायत बिदेशीहरुले चासोपूर्वक हेरेका थिए। 

अन्तरसाँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको  संस्था कासाल दे बार्रिर ट्रान्सफोरमाडोरले आयोजना गरेको कार्यक्रममा कास्की आर्दश समाज स्पेनले पनि सहभागिता जनाएको हो। बिभिन्न मुलुकहरुको कला, संस्कृति,भेषभूसा तथा रहनसहन झल्कने कार्यक्रममा समाजले नेपाली समुदायको प्रतिनिधित्व गरेको हो।

कार्यक्रममा नेपाली समुदायको तर्फबाट सन्तोष पौडेलले नेपाल सम्बन्धि परिचय, सगरमाथा,गौतम बुद्वको जन्मथलो लगायत स्पेनका पर्वतारोहिहरुले नेपालका हिमाल चढ्न सुरु गरेको इतिहासलाई समेत कार्यक्रममा प्रष्ट पारेका थिए। 

कार्यक्रममा प्रिन्सी केसीले जिन्दगानी “दर्पण छाया” दिया भण्डारीले “गाउँकी गोरी रे”, कुमार गुरुङ र देवी भण्डारीले चट्ट रुमाल वोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए। 

समाजका अध्यक्ष बल बहादुर कार्कीले स्पेन लगायत,अफ्रिकी,दक्षिण अमेरिकी लगायत बिश्वका बिभिन्न मुलुकहरुबाट  सहभागिता भईरहेको बेला नेपाललाई पनि कुनै न कुनै रुपमा नेपाल चिनाउन अन्तरसाँस्कृतिक कार्यक्रममा भाग लिएको बताए। उनले भने,” नेपाल सानो मुलुक भए पनि सांस्कृतिक विविधता सहित घुम्नका लागि उपयुक्त छ भन्ने सन्देश हामीले दिएका हौ।”

अध्यक्ष कार्कीले कोभिडका कारण सामाजिक दूरीलाई कायम गर्नुपर्ने हुँदा सिंगो नेपाली समुदायलाई खवर गर्न नसकेको बताए। “अहिलेको अवस्थामा न्यून संख्यामा हामीले उपस्थिति जनाउन वाध्य भयौ ,तर सिंगो नेपाललाई प्रस्तुत गर्न सकेकोमा धेरै खुशी छौ।” अध्यक्ष कार्कीले भने।