सर्जियो अगुएरो बार्सिलोनामा अनुबन्ध


बार्सिलोना। स्पानिस क्लब बार्सिलोनाले अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अगुएरोलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले सोमबार अगुएरोलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीसंगको सम्झौता सकिएपछि अगुएरो जुलाई १ देखि बार्सिलोनामा आबद्ध हुने गरी सहमति भएको बार्सिलोनाले जनाएको छ ।

३२ वर्षीय अगुएरो र बार्सिलोनाबीच दुई वर्षको सम्झौता भएको छ । जसको अर्थ अगुएरो २०२२-२३ सिजनसम्म बार्सिलोनामा बस्नेछन् ।यस्तै बार्सिलोनाले उनको रिलिज क्लज १०० मिलियन युरो राखेको छ ।

 अगुएरो १० वर्षअघि स्पेनकै एट्लेटिको मड्रिडबाट सिटी पुगेका थिए । प्रिमियर लिगमा एक दशक बिताउँदा सिटीको लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका अगुएरो फेरि स्पेनमै पर्किएका हुन् ।