स्पेन सरकारले नेपालमा स्वास्थ्य सामग्रीहरु पठाउदै 


तस्विर फाईल:- स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले स्पेनका राजा समक्ष ओहोदाको प्रमाणपत्र बुझाउदै गर्दा..

बार्सिलोना। कोरोना भाईरसको भयावह अबस्थालाई नियन्त्रण गर्दै सामान्य अवस्थामा फर्कदै गरेको स्पेनले नेपाललाई सहयोग गर्ने भएको छ। नेपालमा कोरोना संक्रमण दर उच्च भएसँगै स्वास्थ्य सामग्रीहरुको अभाव देखिईरहेको वेला स्पेन सरकारले सहयोग गर्न लागेको हो।

स्पेनको परराष्ट्र मन्त्रालयमा अनुरोध सहित पत्राचार गरेपछि सहयोग पठाउने निश्चित भएको स्पेनस्थित नेपाली राजदूत दावाफुटी शेर्पाले बताईन्। उनले भनिन्,”बुधबार स्वास्थ्य सामग्रीसहितको विमान उड्ने जानकारी दूताबासलाई प्राप्त भएको छ।नेपाललाई अत्यावश्यक पर्ने मेडिकल सामाग्रीसहितको सूची हामीले उपलब्ध गराएका छौ। कुन परिणाममा के -कति सामानहरु पठाईदैछ त्यो बारेको जानकारी छिट्टै दूताबासले उपलब्ध गराउने छ।” स्पेन सरकारले नै विमान चार्टर्ड गरेर सामानहरु नेपाल पुर्याउने दूताबासले जनाएको छ।

दूताबासले स्पेनको स्वास्थ्य मन्त्रालय र निजि क्षेत्र चेम्बर अफ कमर्सलाई पनि सहयोगका लागि अनुरोध सहित पत्राचार गरेको थियो। स्पेनले गतसाता भारतलाई पहिलो चरण अन्तर्गत १ सय ६७ भेन्टिलेटर, १ सय २१ अक्सिजन सिलिण्डर लगायत स्वास्थ्य सामाग्रीहरु पठाएर सहयोग पुर्याएको थियो।