संसदले दिएन प्रधानमन्त्री ओलीलाई विश्वासको मत


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव सोमबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको पक्षमा ९३ मत पर्‍यो भने प्रस्तावको विपक्षमा १२४ मत परेको छ । बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसे ।प्रस्तावको पक्षमा परेको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।

संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर प्रधानमन्त्री ओलीले आफ्नै दलको सबै मत पाउन सकेनन् । एमालेमा समानान्तर संरचना बनाएको माधवकुमार नेपाल पक्षका २८ सांसद बैठकमा अनुपस्थित भएका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । यस्तै जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका १५ सांसद तटस्थ बसेका छन् ।