सन्त कुमारको पार्थिव शरीरलाई नेपाल पठाउनु पूर्व कोपेनहेगनमा श्रद्धाञ्जली दिईदै    


स्वर्गीय सन्त कुमार थापा मगर

वार्सिलोना। दिवंगत सन्त कुमार थापा मगरको पार्थिव शरीरमा डेनमार्कका नेपालीहरुले अन्तिम श्रद्धाञ्जली प्रकट गर्ने भएका छन्। आफ्नै पारिवारिक परम्परा अनुसार अन्त्येष्टि गर्ने परिवारको सदिच्छा रहेकोले नेपाल पठाउनु पूर्व बुधबार कोपेनहेगनमा श्रद्धाञ्जली प्रकट गर्ने एनआरएनए डेनमार्कले जनाएको छ। बिहिबार थापा मगरको पार्थिव शरीरलाई नेपाल पठाईदैछ। 

चर्चित कोरियोग्राफर समेत रहेका थापा मगरको आईतबार विहान उपाचारको क्रममा कोपेनहेगनस्थित रिग्स हस्पिटालेत अस्पतालमा निधन भएको हो। ४१ बर्षिय उनि ब्लड क्यान्सरबाट पीडित थिए। 

संघले मंगलबार सूचना प्रकाशित गर्दै सामाजिक दूरी सहित स्वास्थ्य मापदण्ड पालना गर्दै उपस्थित हुन नेपाली समुदायलाई अनुरोध गरेको छ। बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म राजधानी कोपेनहेगनमा डेनमार्कबासी नेपालीहरुले दिवंगत थापा मगरको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली प्रकट गर्ने भएका छन्। 

दिवंगत थापाको पार्थिव शरीरलाई नेपालमा पठाउन संघको संयोजनमा डेनमार्कको नेपाली समुदायमा आर्थिक सहयोगको अपिल गर्ने निर्णय भएको संघले जनाएको छ।एनआरएनए एनसीसी डेनमार्कको मोबाईल पे सर्भिस तथा बैक खातामा रकम संकलन गर्न अनुरोध समेत गरिएको छ। 

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास )डेनमार्कका संस्थापक अध्यक्ष हुँदै थापा मगर युरोपका संयोजक बनेका थिए।  त्‍यससँगै इनास नृत्य प्रवर्द्धन समितिका ग्लोबल संयोजक समेत बनेर काम गरेका थिए। 

डेनमार्कमा उनको बसाइ भएपनि युरोपभर उनि परिचित थिए। श्रीमती मलिका प्रधानसँगै उनले  युरोपका बिभिन्न देशहरुमा युगल नृत्य दिदै आएका थिए।  यो जोडीलाई युरोपको नेपाली समुदायले असाध्यै रुचाएको थियो। उनको असमायिक निधनको खबरले युरोपको नेपाली समुदाय नै शोकमग्न बन्‍न पुगेको छ। सामाजिक सञ्जालमा धेरैले उनको मृत्युमा दु:ख व्यक्त गरेका छन्। 

नेपाली चलचित्र ‘कपुरी क’ मा उनको कोरियोग्राफ्री रहेको छ। साथै विभिन्न म्युजिक भिडियोहरुमा मगरले अभिनय, निर्देशन र कोरियोग्राफ्री गरेका छन् । विदेशमा आयोजना हुने नृत्य प्रतियोगिताहरुमा उनी ने प्राय: निर्णायकको भूमिकामा देखिन्थे। ईनासको स्थापनाकालदेखि हालसम्म हुँदै आएका ग्लोबल तथा क्षेत्रीय स्तरका कार्यक्रमहरु सम्पन्न गर्न उनको महत्वपूर्ण योगदान रहेको छ।

काठमाडौँको मच्छेगउँमा जन्मिएका उनी विगत एक दशकदेखि श्रीमती र एक छोरीका साथ डेनमार्कको होयेटासटुरपमा बस्दै आएका थिए।

यो पनि पढ्नुहोस् :- अस्ताए सन्त कुमार ! शोकमग्न युरोप