लुम्बिनी गार्डेनलाई नेपालले हातेमालो र सहयोग गर्छ:- अध्यक्ष तिमिल्सिना 


क्याथेरेस। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्पेनमा बन्ने लुम्बिनी गार्डेन परियोजनालाई नेपाल सरकारले पूर्ण सहयोगसहित सदैब हातेमालो गर्ने प्रतिवद्वता ब्यक्त गरेका छन्। स्पेनको एक्स्त्रेमादुरा प्रदेशको संसद भवनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले गौतम बुद्धको देशको सरकारका तर्फबाट यो प्रोजेक्टकालागि सदैब हातेमालो र सहयोग रहिरहने प्रतिबद्दता ब्यक्त गरेका हुन्।

‘नमुना प्रोजेक्ट स्पेनको काथेरेस शहरमा गराउन लुम्विनि गार्डेन फाउन्डेसनसँग सहकार्य गर्नु भएकोमा एक्स्त्रेमादुराका मुख्यमन्त्री, क्याथेरेसका मेयर लगायत तपाईहरु सबैमा धन्यवाद दिन चाहन्छु।’ उनले भने ।पिस कन्फेरेन्सको औपचारिक रुपमा उद्घाटन गर्दै गौतम बुद्धको शान्तिको सन्देश संसारभर फैल्याउन सबैलाई अनुरोध गरेका छन्।

‘विश्व शान्तिका लागि यो सम्मेलन एउटा कोशेढुङगा सावित हुनेछ भन्ने मैले विश्वास लिएको छु। यस्तो महत्वपूर्ण कार्यक्रममा मलाई निमन्त्रणा गर्नुभएकोमा आयोजक संस्था, प्रान्तीय सरकार, नगरपालिकाका प्रमुखज्यूहरुका साथै स्पेनी सरकार र जनतालाई अन्तरहृदयदेखी हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु। युरोपको अत्यन्त महत्वपूर्ण र सुन्दर देश स्पेनको ऐतिहासिक प्रान्तको यस भव्य संसद भवनबाट वुद्ध दर्शनमा आधारित शान्तिको सन्देशका बारेमा महत्वपूर्ण विचार विमर्श हुनु नेपाल र नेपालीहरुको लागि गर्वको विषय हो।’ अध्यक्ष तिमिल्सिनाले बताए।

७० मिलियन युरोभन्दा बढी खर्च गर्दै स्पेनको काथेरेस नगरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी योजना फाउन्डेसनले राख्दै आएको छ। सोहि अभियानको प्रचारप्रसारका पनि एक्स्त्रेमादुराबाट बुधबारदेखि पिस कन्फेरेन्स सुरु भएको हो।

संसदमा सम्बोधन गर्दै स्पेनको एक्स्त्रेमादुरा प्रदेशका प्रमुख  गुईलेरम्मो फर्नान्डेज भाराले लुम्बिनी गार्डेन मार्फत दुई देशबीचको सम्बन्ध झनै प्रगाढ हुने बताए। उनले भने, ‘काथेरस शहर अब स्पेन र नेपालका साथै लुम्बिनी,एक्स्त्रेमादुरा र काथेरस नगरहरुबीच छलफलको केन्द्रबिन्दु बन्ने बताए।

संसद भवनभित्र भएको कार्यक्रममा स्पेन स्थित नेपाली राजदूत दावाफुटी शेर्पा, लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष खोसे म्यानुअल भिलानोभा, उपाध्यक्ष गोबिन्द सुबेदी,महासचिव एकराज गिरी,प्रमुख संरक्षक निरज श्रेष्ठ, प्रमुख आर्कीटेक्ट उज्वलमान शाक्य लगायतको उपस्थिति थियो।

यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी,रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार  गुप्ता, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री र उपमेयर बिद्या लक्ष्मी गुरुङ,लुम्विनीका कार्यकारी प्रमुख शिबप्रसाद रेग्मी, संघीय संसद सचिवालय सदस्य सपना सापकोटा लगायतको नेपाली टोलिले बिशेष कार्यक्रममा सहभागिता जनाएको थियो।