राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना सहितको टोलि म्याड्रिडमा 


म्याड्रिड।राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्पेन आईपुगेका छन्। बुद्वको शान्ति सन्देशलाई बिश्वभर फैलाउने उदेश्यसहित स्पेनबाट सुरु हुने पिस कन्फेरेन्समा भाग लिन अध्यक्ष तिमिल्सिना मंगलबार दिउँसो राजधानी म्याड्रिड आईपुगेका हुन्।लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा बुधबारदेखि तीन दिनसम्म बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै कन्फेरेन्स हुँदैछ। 

अध्यक्ष तिमिल्सिना सहितको नेपाली टोलिलाई स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, दूताबास उपनियोग प्रमुख अर्जुन अधिकारी, फाउन्डेसनका महासचिव एकराज गिरी,सदस्य रिकार्डो गेररेरो लगायतले स्वागत गरेका थिए।

अध्यक्ष तिमिल्सिना सहित नेपाली टोलिमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी,रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री र उपमेयर बिद्या लक्ष्मी गुरुङ,लुम्विनीका कार्यकारी प्रमुख शिबप्रसाद रेग्मी, संघीय संसद सचिवालय सदस्य सपना सापकोटा र लुम्बिनी गार्डेन प्रोजेक्टका प्रमुख आर्कीटेक्ट उज्वलमान शाक्य रहेका छन्। 

अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्ने भएका छन्। फाउन्डेसनका अनुसार  स्पेनको एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुईलेरम्मो फर्नान्डेज भारा बिशेष अतिथिको रुपमा सहभागी बन्ने भएका छन्। 

कोरोना भाईरसको महामारीकाबीच सामाजिक दूरी कायम गर्दै भौतिक रुपमा उपस्थिति भएर नै कार्यक्रम हुन लागेको हो। नेपाली उच्चस्तरीय टोलीले स्पेनको संघीय तथा प्रदेश सरकारका अधिकारीहरुसँग भेटबार्तासमेत गर्ने भएको छ। 

पिस कन्फेरेन्सको उदेश्य के हो ?

 ७० मिलियन युरोभन्दा बढी खर्च गर्दै स्पेनको काथेरेस नगरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी योजना फाउन्डेसनले राख्दै आएको छ। सोहि अभियानको प्रचारप्रसारका पनि एक्स्त्रेमादुराबाट पिस कन्फेरेन्स सुरु गरिएको लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले जानकारी दिए।

 “कार्यक्रमको मुख्य उदेश्य त बुद्वको शान्ति सन्देशलाई नै संसारभर फैलाउनु हो। त्यो अलवा हाम्रो प्रोजेक्टका लागि अहिलेसम्म भएका प्रगती बिबरणहरुलाई पनि भिडियो मार्फत कन्फेरेन्समा प्रस्तुत गर्नेछौ।’ उनले भने। 

बिश्व सम्पदा सुचिमा सुचिकृत भएका दुवै नगरहरु लुम्बिनी र काथेरेसले भगिनी सम्बन्ध गासिसकेका छन्। दुवै नगरका प्रमुखहरुले लुम्बिनीमा गतबर्ष नै हस्ताक्षर गरेर सम्बन्ध जोडेका थिए।