आइसल्यान्डमा ज्वालामुखी विस्फोट, ४० हजारभन्दा बढी पटक भूकम्प


प्रकाश तिवारी,  रिक्याभिक

आइसल्यान्डको राजधानी रिक्याभिकको दक्षिण पश्चिममा रहेको रेक्यानस प्रायद्वीपमा शुक्रबार ज्वालामुखी विस्फोट भएको छ ।राजधानी रिक्याभिक देखि ४० किलोमिटर टाढा रेक्यानेस प्रायद्वीपको फाग्राडाल्स्फजलको पहाड नजिक ५ सयदेखि ७ सय मिटरसम्म लाभा फैलिएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्। करिव ८ सय बर्ष पहिले पनि सोहि स्थानमा नै ज्वालामुखी बिष्फोट भएको बताईन्छ।

आइसल्याण्डको मौसम बिभागका अनुसार शुक्रवार बिहान ८:४५ मा विस्फोट भएको थियो। विस्फोटका कारण मानवीय तथा भौतिक संरचनामा भने क्षति पुगेको छैन।

पछिल्ला चार हप्तामा आइसल्यान्डमा ४० हजारभन्दा बढी भूकम्प गइसकेको छ ।केहि स्थानहरुमा नागरिकहरुलाई उच्च सतर्कतामा समेत राखिएको छ। दुई दशकदेखि आइसल्यान्ड बस्दै आएका  प्रमोद अधिकारीले अहिलेको ज्वालामुखी विस्फोटबाट त्यति धेरै खरानीको धुलो र धूवाँ वायुमण्डलमा नमिसिएको बताए। तर ज्वालामुखी बिस्फोट भएको ठाउँ देखि नजिकै रहेको ग्रिण्डाभिक शहरका स्थानीयहरु पछिल्ला केहि हप्ताहरु डर र त्रासमा नै बिताएका छन्। यसअघि सन् २०१० मा आइसल्यान्डमा भएको ज्वालामुखी विस्फोटका कारण करिब ९ लाख हवाई उडानहरु रोकिएका थिए।

ज्वालामुखी विस्फोट भएपछि उक्त स्थानमा अवलोकन गर्नका लागि शुक्रवार देखिनै मानिसहरु त्यसतर्फ गएका थिए। लगातारको भुकम्प र त्यसका पराकम्पनले सडक यातायात अवरुद्व भएको छ। तरपनि ४ देखि ६ घण्टाको पैदलयात्रा गर्दै  मानिसहरु उक्त स्थानमा पुगेको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।

आइसल्यान्ड बसाईको सुरुवाती दिनहरुमा ज्वालामुखी बिस्फोटका खबरले डर र त्रास लाग्ने गरेको अनुभव शुष्मा श्रेष्ठ भण्डारीले सुनाईन्।आइसल्यान्डमा भूकम्पीय र ज्वालामुखी विस्फोटका घटना पटक पटक दोहोरिने  हुँदा आजभोलि सामान्य लाग्न थालेको उनले सुनाईन्।