सेफ सन्तोष साह पर्यटन बोर्डबाट सम्मानित


काठमाडौं । बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके-२०२० का उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ ।मंगलबार नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० का उपविजेता सन्तोष साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएकोमा सम्मान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सन्तोषले अन्तर्राष्ट्रिय जगतमा नेपाली खाना चिनाउन सफल भएकोमा उनको योगदानप्रति मन्त्रालयको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

नेपाली खानालाई सबै होटल तथा रेष्टुरेन्टमा ब्रान्ड बनाएर अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता रहेको र युनेस्कोमा समेत दर्ता गर्नुपर्ने कोइरालाले बताए । सेफ साहले नेपाललाई विश्वसामु चिनाउने कोशिश आफैले गरेको बताए । सेफलाई पनि सम्मान गर्ने नेपाली संस्कार बसेको भन्दै उनले खुसी व्यक्त गरे । खानाको क्षेत्रलाई प्राथमिकता दिन सके नेपाललाई धेरै राम्रो बनाउन सकिने साहको भनाइ छ ।

सिरहाको कर्जन्हामा जन्मिएका साह लामो समयदेखि बेलायतमा बस्दै आएका छन् । विहीबार मात्रै काठमाडौं आएका उनलाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो ।