दोहोरो नागरिकता सम्बन्धि माग छिट्टै सम्बोधन गरिने प्रचण्डको आश्वासन  


लन्डन : पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले गैरआवासीय नेपालीहरुको दोहोरो नागरिकता सम्बन्धि माग लाई छिट्टै सम्बोधन गरिने आश्वासन दिएका छन्।

सो पार्टीको प्रवास समन्वय कमिटीको संयोजन र प्रवासी नेपाली एकता मंचले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै प्रचण्डले  एनआरएनसंग सम्बन्धित दोहोरो नागरिकताको विषयबारे संविधानमा केहि कुरा लिपिवद्ध गरिएको तर कार्यान्वयन नभएको बताए।  “त्यसलाई  प्रभावकारी कार्यान्वयन गरिने छ,” उनले भने।

हाल प्रवासमा रहेका नेपालीहरुले विदेशी नागरिकता लिएकै आधारमा राज्यले आफुहरुसंग रहेको नेपाली नागरिकता न खोसोस् भनेर अभियान चलाइ रहेका बेला अध्यक्ष प्रचण्डको त्यस्तो भनाइ आएको हो।

नेपालको संविधान २०७२ ले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको छ।  यद्यपि  नेपाली नागरिकता ऐन २०६३ को दफा १० मा भने स्वेच्छिक रुपमा विदेशी नागरिकता लिएमा नेपाली नागरिकता स्वतः खारेज हुने व्यवस्था छ।

अध्यक्ष प्रचण्डले ब्रिटिश सेनाबाट सेवानिवृत्त  गोर्खा  सैनिकहरुको आन्दोलनबारे आफु  प्रधानमन्त्री हुंदा सकारात्मक पहल गरेको स्मरण गरे।  “उहांहरुको आन्दोलनप्रति समर्थन छ, सहयोग छ र निरन्तर सहयोग जारि रहने छ,” उनले भने।

निरङ्कुश शासन चलाउन खोजेको आरोप

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमंत्री केपी शर्मा ओलीले संविधान कुल्चिएर निरङ्कुश शासन चलाउन खोजेको आरोप लगाए। सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नेमा आफूहरु विश्वस्त रहेको पनि उनले बताए ।

उनले पहिले केपी ओलीले सबैतिर सेटिङ गरेको जस्तो देखिए पनि संसद विघटनदेखि हालसम्म आइपुग्दा त्यस्तो सेटिङ भत्किएको बताए । निर्वाचन आयोगले पनि चुनाव चिन्ह र आधिकारिकता आफूहरुलाई नै दिने पनि उनले बताए । सर्वोच्च अदालत, निर्वाचन आयोगबाट आफूले चाहेजस्तो निर्णय नआउने संकेत पाएर नै केपी ओलीले विराटनगरको सभामा सर्वोच्च अदालतलाई धम्क्याएको उनको भनाइ थियो ।

कार्यक्रमका अर्का वक्ता पार्टीका स्थायी कमिटीका सदस्य घनश्याम भुसालले अहिलेको अवस्था करिब करिब राजा ज्ञानेन्द्रले सत्ता लिएको अवस्था सरह भएको बताए । ओलीको असंवैधानिक कदमका विरुद्ध चाँडै हस्तक्षेप गर्न नसके मुलुक डरलाग्दो द्वन्द्वमा पर्न सक्ने खतरा उनले औंल्याए ।

नेकपामा विधिविधान भित्र बसेर निर्णय गरे पनि पार्टीको नेतृत्वकर्ता ओलीले विधि विधान नमान्दा देश दुर्घटनातर्फ अघि बढेको उनको भनाइ थियो । राष्ट्र राम्रो हुन पार्टीहरु राम्रो हुनुपर्नेमा धारणा राख्दै उनले केपीलाई सुधार गर्न नसकिएको स्वीकार गरे । अराजनीतिक भीड जम्मा गरेर ओलीले राजनीतिलाई अस्तव्यस्त ठाउँमा पुर्याएको उनको आरोप थियो ।

संसद पुनर्स्थापना हुनेमा आफूहरु ढुक्क भएको बताउँदै ओलीको कदमलाई अदालतले सदर गरे पनि घोषित मितिमा निर्वाचन हुन नसक्ने उनको विश्लेषण थियो। अदालतले ओलीको कदमलाई साथ दिए जनता आन्दोलित हुने र त्यही आन्दोलनले केपी र राष्ट्रपतिलाई हटाउने उनले बताए ।

नेकपा प्रवास समन्वय कमिटीका संयोजक युवराज चौलागाइँको अध्यक्षतामा भएको कार्यक्रममा कमिटीका सचिव श्रीप्रसाद साहले स्वागत मन्तव्य दिएका थिए । प्रवासी नेपाली एकता मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले सन्चालन गरेको कार्यक्रममा प्रवास कमिटीका सहइन्चार्ज लक्ष्मण पन्त,  ओमानका डिबी क्षेत्री र जापान हर्क थापाले पनि बोलेका थिए ।