एमबाप्पेको ह्याट्रिक बार्सिलोनाको लज्जास्पद हार


बार्सिलोना ।किलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पानिस क्लब बार्सिलोनामाथि शानदार जित हात पारेको छ ।घरेलु मैदानमा बार्सिलोनाले पहिले अग्रता लिएपछि त्यसलाई कायम राख्न सकेन र ४-१ को लज्जास्पद हार व्यहोरेको हो ।

क्याम्प नोउमा खेलको २७औं मिनेटमा कप्तान लिओनल मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ३२औं मिनेटमा एमबाप्पेले बराबरी गोल फर्काए ।दोस्रो हाफमा पीएसजीले तीन गोल गर्‍यो । जसमा एमबाप्पेले दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । ६५औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए । ७०औं मिनेटमा मोइस केनले पीएसजीको लागि तेस्रो गोल गरे । ८५औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजी ४-१ ले विजयी भयो ।