एनआरएनए स्पेनको साधारण सभा सम्पन्न,स्थानीय पत्रकारहरु नै बेखबर 


बार्सिलोना।एनआरएनए स्पेनले भर्चुअल रुपमा बार्षिक साधारणसभा आईतबार सम्पन्न गरेको छ। स्पेनका लागि नेपाली राजदूतदेखि बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुसहित एनआरएनए अभियन्ताहरुलाई भर्चुअल कार्यक्रममा समाबेश गर्दै साधारणसभा सम्पन्न भएको हो। 

स्पेनबाट संचालित एक अनलाईन मिडिया नेपालीनेपाली डटकमलाई भने वाईकट गर्दै निमन्त्रणा गरिएन। यद्दपी स्पेनकै केहि नेपाली अनलाइन मिडिया प्रतिनिधिहरु भने कार्यक्रममा सहभागि थिए। साधारण सभामा देखिएको प्राबिधिक कमजोरीलाई सहभागीहरुले आलोचना गरेका छन्। केहि संघसंस्थाका प्रतिनिधिहरुले पनि संघको आर्थिक प्रतिबेदन उपर आफ्ना धारणा राख्न नपाईएको गुनासो समेत गरेका छन्। 

संघकै संरक्षक भीषम कुमार गुरुङले पनि महत्वपूर्ण समय बर्बाद नगर्न अनुरोध गर्दै सामाजिक संजालमा गुनासो पोखेका छन्। गुरुङले लेखेका छन्, ‘गैर आवासीय नेपाली संघ स्पेनको बार्षिक साधारण सभामा सल्लाहकार संरक्षकहरु सुन्न मात्र भनेको भए जूम रेकर्ड भाको छ पछि फुर्सदमा मजाले सुनिदिन्थें नि बेक्कारमा चार घण्टाको सत्त्यानस। साधारण सभा भनेको पंजीकृत सदस्यहरुले मनमा लागेको जिज्ञासा पोख्ने र संघले हिजो गरेका कार्य विवरण र भोलिको कार्ययोजना मन्थन गर्ने अति महत्वपुर्ण ठाउँ हो।आर्थिक अनुमोदन जस्ता महत्वपुर्ण बिषयहरु थिए त्यहाँ पनि हामीलाई आफ्नो विचार राख्न दिएको थिईएन। आजबाट यसरी पत्र काटेर संघको महत्वपुर्ण समय बर्बाद नगर्नु हुन अनुरोध छ।’

तर संघले एक बिज्ञप्ति जारी गर्दै  साधारणसभा भब्यरुपमा सम्पन्न भएको जनाएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा सहभागी थिईन्। एनआरएनए केन्द्रिय उपाध्यक्ष डा. बद्री केसी,महासचिव डा. हेमराज शर्मा,युरोप संयोजक नारायण आचार्य,उपसंयोजकहरु मुक्त बहादुर गुरुङ,कृष्ण तिमिल्सिना शुक्रराज न्यौपाने लगायतका एनआरएन अभियन्ताहरुको साधारण सभामा सहभागिता रहेको थियो।