कोस्टाब्लान्काको नेपाली समुदायमा कोरोना संक्रमण बढ्दो 


कमल पराजुली 

बेनिड्रोम, २२ जनवरी, स्पेनमा कोरोना भाईरसको संक्रमण तिब्र गतिमा बढिरहेका बेला नेपाली समुदायमा पनि संक्रमण फैलिएको छ। स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बस्ने नेपाली समुदायमा केहीदिन यता कोरोना सङ्क्रण बढेको हो। 

कोस्टाब्लान्काको बेनिड्रोम, आल्बिर, आल्तेया, डेनिया लगायतका स्थानमा बस्ने नेपालीमा कोरोना सङ्क्रमण् देखिएको  छ ।  बेनिड्रोम क्षेत्रमा अहिले करीब १० जना नेपालीहरुमा कोरोना पोजेटिभ देखिएको नेपाल स्पेन समाज कोस्टाब्लान्काका कोषाध्यक्ष छविलाल श्रेष्ठले जानकारी दिए। ति मध्ये एकजना अस्पतालमा रहेको र अन्य घरमै सेल्फ आईसोलेसन बसेको श्रेष्ठले बताए। 

बेनिड्रोम क्षेत्रमा करीब दुई सय नेपालीहरुको बसोबास रहेको ठानिन्छ। यस्तै आल्बिर, आल्तिया र डेनिया  क्षेत्रमा पनि केही नेपालीलाई  कोरोना सङ्क्रमण् देखिएको छ। तर संक्रमित व्यक्तिले समुदायमा बताउन नचाहेकाले यकिन तथ्याङ्क भने छैन। आल्बिर र आल्तेयामा कोरोना सङ्क्रमण् भएका केही नेपालीहरु निको भैसकेका छन्। 

नेपाल स्पेन समाज कोस्टाब्लान्काका अध्यक्ष केशबराज कंडेलले कोरोना सङ्क्रमण् भएका नेपालीहरुसँग आफुहरुले   सम्पर्क गरिरहेको जानकारी दिए। स्पेनको कोस्टाब्लान्का क्षेत्रमा झन्डै १ हजार नेपालीहरु रहेको अनुमान छ।