तेस्रो डिभिजनको क्लबसँग  रियल म्याड्रिडको लज्जास्पद हार 


म्याड्रिड।  रियल म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगितामा तेस्रो डिभिजनको क्लबसँग लज्जास्पद हार ब्यहोरेको छ। बुधबार राति तेस्रो डिभिजनको क्लब एल्कोयानोसँग २-१ गोलले पराजित भएको हो।  यो सँगै म्याड्रिड कोपा डेल रे फुटबल प्रतियोगितामा अन्तिम ३२ बाटै बाहिरिएको छ। 

खेलको ४५ मिनेटमा मिलिटाओको गोलबाट रियलले अग्रता लिएको थियो।तर ८० मिनेटमा एल्कोयानोका सोल्बेसले बराबरी गोल फर्काए। निर्धारित समयको खेल बराबरीमा सकिएपछि थप समयमा एल्कोयानो १० खेलाडीमा सीमित बन्यो।लोपेज ओलिभन ११० मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। ११५ मिनेटमा एल्कोयानोले अग्रता लियो। उसका लागि कासानोभाले गोल गरे। 

१९ पटकको कोपा डेल रे विजेता रियलले विगत सात वर्षदेखि प्रतियोगिताको उपाधि जित्न सकेको छैन। 

जिदानको भविष्यको संकटमा 

१० खेलाडीमा सिमित तेस्रो डिभिजनको क्लबसँग लज्जास्पद हार व्यहोरेपछि प्रशिक्षक जिनेदिन जिदानको भविष्य पनि संकटमा परेको छ। 

स्पेनको खेल सम्बन्धित पत्रिकाका सम्पादकहरुले अब जिदान म्याड्रिडको प्रशिक्षकमा रहीरहन नैतिकताले नदिने भन्दै टिप्पणी गरेका छन्।एकै साता दुई वटा प्रतियोगिताको उपाधिबाट बाहिरिएको म्याड्रिड टिम निकै दबावमा रहेको छ।