नयाँ कोरोनाले २०२१ झन् कठिन हुने डब्लूएचओको चेतावनी


जेनेभा — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ ।नयाँ भाइरसका कारण पछिल्ला दिनहहरूमा बेलायतमा दैनिक हजारौंको मृत्यु हुन थालेको छ ।

कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो । संक्रमण क्षमता निकै उच्च रहेको भाइरसको नयाँ प्रकार बेलायतसहित ५० भन्दा बढी देश र क्षेत्रहरूमा फैलिसकेको छ ।

केही समयअघि बेलायतमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा यो छिटो विस्तार हुने क्षमताका रहेको वैज्ञानिकहरूले जनाएका छन्, जसका कारण अफ्रिकी क्षेत्रमा चिन्ता थपिएको छ । त्यसैगरी, जापानमा पनि अधिकारीहरूले नयाँ प्रकारको भाइरस पत्ता लगाएका छन् ।

उनीहरूले चार जनामा त्यस्तो किसिमको भाइरसको संक्रमण पहिचान भएको जनाएका हुन् । ती मानिसहरू ब्राजिलमा संक्रमित भएर जापान पुगेका जनाइएको छ । त्यस्तै, स्पेनमा पनि भाइरसको नयाँ प्रकार पुष्टि भएको छ ।

नयाँ प्रकारको भाइरसले अन्य प्रकारका कोरोना भाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ ।