पोखराको रत्नचोकमा १ करोड ८० लाखको लागतमा वडा कार्यालय भवन निर्माण हुने


पोखरा – पोखरा-७ को वडा कार्यालय भवन बन्ने भएको छ । रत्नचोकमा १ करोड ८० लाखको लागतमा वडा कार्यालय भवन निर्माण हुने भएको हो ।

दुई रोपनी ६ आना क्षेत्रफलमा बन्ने सुविधा सम्पन्न कार्यालयको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बरालले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी दीपज्योति कन्ट्क्सन प्रालिले ठेक्का पाएको छ । अहिले वडा कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख मानबहादुर जिसीले सेवा प्रवाहलाई व्यवस्थित र नागरिकलाई सहज रुपमा सेवा पुर्याउने उद्देश्यले वडा कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले पोखरा महानगरपालिका विधि र कानुनको पालना गर्दै आफ्नो भिजन र मिसन अनुसार अगाडि बढेको बताउनुभयो । उहाँले विकास र परिर्वतन रातारात सम्भव नहुने बताउँदै पोखरा महानगरबासीमा आशा र विश्वास लगाउने गरी काम गर्न आफू लागि परेको बताउनुभयो ।

उपप्रमुख मञ्जुदेवी गुरुङले नागरिकलाई सेवा प्रवाह सहज बनाउन पूर्वाधारमा जोड दिइएको बताउनुभयो । वडा कार्यालय निर्माण गर्न कार्यालयहरु व्यवस्थित हुनुपर्ने बताउँदै त्यही अनुसार वडा कार्यालय निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । वडा कार्यालय निर्माणमा नागरिकहरुले निगरानी र खवरदारी गरेर समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

गुरुङले कोरोना भाइरसका कारण विकासका आयोजना प्रभावित भएको समेत बताउनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले कार्यालय भवन निर्धारित सयममै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गदै कर्मचारीभित्र र सेवाग्राही बाहिर हुने अवस्थाको अन्त्य गर्ने गरी कार्यालयहरुको डिजाइन गर्न इन्जिनियरहरुलाई निर्देशन दिनुभयो ।

वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रमममा नेकपा वडा नम्बर ७ का अध्यक्ष पुरुषोत्तम रेग्मी, नेपाली काँग्रेसका वडा सभापति नवीन बराल, महानगरका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले, वडा सदस्यद्वय प्रभा पन्त र किशोर बराल लगायतले बोल्नु भएको थियो ।