पल्सर स्पोर्टस अवार्डको तयारी पूरा


काठमाण्डौ – नेपाल खेलकुद पत्रकार मञ्चले स्थापनाको २५ आंै वर्ष मनाउने क्रममा मंगलबार (पुस २८) गते १७ औं पल्सर स्पोर्टस अवार्ड कार्यक्रमलाई भव्यताका साथ आयोजना गर्दैछ ।

कोरोना भाइरसको महामारीका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्डलाई रजत वर्षको रूपमा मनाउन लागिएको हो । मञ्च २०५२ साल भदौ २५ गते स्थापना भएको हो । कोरोनाका कारण मञ्चले आफ्नो रजत वर्षलाई थप कार्यक्रम गरेर मनाउन पाएन ।खेलकुद पत्रकारितालाई व्यावसायिक र संगठित रूपमा अघि बढाउने उद्देश्यले स्थापित मञ्चले धेरै आरोह र अवरोध पार गर्दै आएको छ ।

खेलकुद पत्रकारितासँगै खेलाडी र खेलकर्मीको प्राप्त उपलब्धिलाई सम्मान गर्न मञ्चले आफ्नो स्थापनाकालदेखि नै अवार्ड कार्यक्रम सुरुवात गरेको थियो । सुरुवातका केही वर्ष आयोजना गरे पनि यसले नियमितता पाउन सकेको थिएन ।

२०६० सालमा नयाँ नेतृत्व आएसँगै अवार्ड कार्यक्रमले निरन्तरता पाएको थियो । तर विनाशकारी भूकम्पका कारण वर्ष २०७२ मा अवार्ड कार्यक्रम आयोजना हुन सकेन ।

विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण यस वर्ष पनि सहज ढंगले अवार्ड आयोजना गर्नसक्ने अवस्था थिएन । तर घरेलु भूमिमा आयोजित नेपाली खेलाडीका लागि ठूलो खेलमहोत्सव १३औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलाडीले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्न पनि स्पोर्ट्स अवार्ड आयोजना गर्नुको विकल्प थिएन ।

यस विषम परिस्थितिबीच १७ औं संस्करणको अवार्ड कार्यक्रम सम्पन्न गर्ने संघारमा आइपुगेको जानकारी गराउन पाउँदा मञ्च परिवार गौरवान्वित र हर्षित छौं ।

यस कठिन अवस्थामा पनि साथ दिने प्रायोजक, सह–प्रायोजकप्रति मञ्च परिवार हार्दिक आभार प्रकट गर्न चाहन्छ ।

अवार्डको विभिन्न चार वटा राष्ट्रिय टेलिभिजनहरु एनटीभी प्लस एचडी, जनता टेलिभिजन एचडी, इमेज च्यानल र एक्सन स्पार्टस एचडीले प्रत्यक्ष प्रशारण गर्नेछन् भने मिडिया हब, एनएसजेएफको यूटुब र फेसबुक पेज सहित विभिन्न सञ्चार माध्यमका डिजिटल माध्यमबाट अवार्डलाई हेर्न सकिनेछ ।

यस वर्ष समेत पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन् ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेकी छन् । ई–सेवामार्फतको भोटिङ, फेसबुक लाइक, आयोजक मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुनेछन् ।

पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेलपत्रकारको सम्मान कार्यक्रमकै दिन मंगलबार घोषणा गरिने छ ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाइ) हुने अवार्डमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीको प्रायोजन रहेको छ ।