बेलायतमा अस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप लिने पहिलो व्यक्ति पिङ्कर


लन्डन (जीएनएन) : बेलायतमा अक्सफोर्ड/अस्ट्राजेनेकाको कोरोना विरुद्धको खोप लिने पहिलो व्यक्ति ८२ वर्षीय ब्राएन विलियम पिङ्कर भएका छन् । उनलाई सोमबार बिहान चर्चिल अस्पताल, अक्सफोर्डमा खोप दिइएको हो  ।

“आज कोभिड खोप पाएकोमा म खुसी छु र मलाई गर्व छ कि यो खोप अक्सफोर्डमै आविष्कार गरिएको हो,” उनले भने।

“यो खोप मेरो लागि सबै कुरा हो, मेरो दिमागमा यो सामान्य जीवनमा फर्कने एक मात्र तरिका हो। यो भाइरस डरलाग्दो छ, हैन त? ” उनले भने । पिङ्करलाई शनिबारमात्रै खोपबारे सूचना दिइएको  थियो । “मलाई प्रसिद्ध व्यक्ति हुन धेरै लामो समय लाग्यो,” उनले भने।

युकेका स्वास्थ्य मंत्री म्याट ह्यानककले अक्सफोर्ड/ एस्ट्रजेनेकाको खोप लगाउन यूकेमा शुरू हुनु वास्तवमै “एउटा महत्वपूर्ण क्षण” भएको बताए।  यस अघि युकेमा गत महिना देखि नै अमेरिकी कम्पनी फाइजर तथा जर्मन कम्पनी बायोएनटेकले संयुक्त रुपमा तयार गरेको खोप लगाउन  शुरु गरिएको थियो।

अहिले सम्म ६ लाख भन्दा बढीलाई खोप दिइएको अधिकारीहरुले जनाएका छन्।अत्यन्तै चाडो संक्रमण हुने कोरोना भाइरसको नयां स्ट्रेन पाइए पछि नेपाल लगायत ५० भन्दा बढी मुलुकहरुले बेलायतबाट आउने सबै उडानहरु माथि प्रतिबंध लगाइदिएको बेला ब्रिटेनमा खोप दिने कामलाई तीव्र पारिएको छ।