न्यूजील्यान्डसँग पाकिस्तान १०१ रनले पराजित


काठमाण्डौ- न्यूजील्यान्डमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा न्यूजील्यान्डले भ्रमणकारी टोली पाकिस्तानलाई रोमाञ्चक ढङ्गबाट १०१ रनले पराजित गरेको छ ।

न्यूजील्यान्ड विरुद्ध सशक्त प्रतिरोध गरेको पाकिस्तानी टोली अन्तिम दिनको अन्तिम सत्रमा २७ बल बाँकी छँदा अलआउट भएको थियो । खेल बराबरी हुन्छ वा न्यूजीन्यान्डले जित्छ भन्ने अन्यौलकै बीच न्यूजील्यान्ड विजयी भएको हो ।

पाकिस्तानका पुछारको क्रमका खेलाडीहरु शाहीन अफ्रिदी र नासीम शाहले झण्डै सात घण्टा क्रिजमा बिताएका थिए । तर कमजोर प्रकाशमा भएको खेलमा पाकिस्तानको प्रतिरोध आखिरमा न्यूजील्यान्डका स्पिनर मिचेल सान्टनरले नासीमलाई “कट एन्ड बोल्ड” गरेर समाप्त पारिदिएका थिए ।

यसअघि फवाद आलम र मोहम्मद रिजवानबीच पनि पाँचौं विकेटका लागि १६५ रनको महत्वपूर्ण साझेदारी भएको थियो । तर यो जोडीलाई कायले जेमिसनले तोडेका थिए ।

जेमिसनले रिजवानलाई ६० रनमा आउट गरेका थिए भने निल वाग्नरले १०२ रन बनाएका आलमलाई आउट गरेका थिए । पाकिस्तानले दोस्रो इनिङमा अल आउट हुँदै २७१ रन मात्र बनाएको थियो ।

न्यूजील्यान्डले पहिलो इनिङमा ४३१ तथा दोस्रो इनिङमा १८० रन बनाएर जितका लागि ३७३ रनको चुनौती दिएको थियो । जबकी पाकिस्तानी टोली पहिलो इनिङमा २३९ र २७१ रनमा अल आउट भएको थियो ।

यो जितसँगै दुई खेलको यस टेस्ट शृंखलामा न्यूजील्यान्ड १–० ले अघि भएको छ । अर्को टेस्ट खेल जनवरी ३ देखि क्राइस्टचर्चमा शुरु हुनेछ ।