फेवातालमा मापदण्ड विपरित निर्माण हुदै गरेको भौतिक संरचना भत्काइयो


पोखरा – पोखराको फेवातालमा मापदण्ड विपरित निर्माण हुदै गरेको भौतिक संरचना भत्काइएको छ । पोखरा महानगरको नगर प्रहरी, सरसफाई बिभाग, वडा प्रहरी कार्यालय बैदाम, पोखराको नागरिक समाजको सहभागितामा पोखरा १८ स्थित खपौदीमा फेवातालबाटै पर्खाल निर्माण गर्दै गरेको भौतिक संरचना शनिबार भत्काइएको हो ।

फेवातालमा मापदण्ड विपरित भौतिक संरचना निर्माण गर्दैै गरेको सूचनाको आधारमा महानगरले उक्त संरचना भत्काएसंगै संरचना निर्माणमा प्रयोग भएको ढुंगा, गिटी समेत जफत गरेको महानगरका मेयर मानबहादुर जिसीले बताए । फेवाताल किनारमा मापदण्ड विपरित धेरै संरचना निर्माण हुँदा पनि महानगरले खासै चासो नदिएको जनगुनासो छ नी मेयर साव भन्ने हाम्रो प्रश्नमा मेयर जिसीले मापदण्ड विपरित निर्माण भएका भौतिक संरचना क्रमश भत्काउदै जाने जनाए ।

पहिलाको व्लू स्काई प्याराग्लाईडिङको अवतरण गर्ने स्थलमा हाल पानीको सतह घटेसंगै मनोज श्रेष्ठ, प्रबेश शाक्य सहितको एउटा टोलीले व्यवसायीक प्रयोजनको लागि उक्त क्षेत्रमा फेवातालको सतहबाटै पर्खाल निर्माण गरेको अबस्थामा महानगरले डोजर लगाएर शनिबार विहान भत्काएको महानगरका नगर प्रहरी नायव निरिक्षक पुरुषोत्तम थापाले बताए । उनका अनुसार फेवातालको सतहबाटै करिब १० मिटरको पर्खाल निर्माण भएकोले उक्त पर्खालको केही भाग डोजरले भत्काएसंगै निर्माण सामाग्रि समेत जफत गरिएको छ ।

नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेलले पोखरा महानगरपालिका वडा नम्बर १८ र ६ ले फेवातालको किनारामा मापदण्ड विपरित भौतिक संरचना निर्माण गर्दा पनि मुकदर्शक भएर बस्ने गरेको आरोप लगाए । उनले भने“ पोखराका धेरै ठाँउमा सार्वजनिक जग्गा अतिक्रमण भएको छ, यसमा जनप्रतिनिधिहरु र नागरिक समाज पनि सचेत हुनु पर्छ, सार्वजनिक जग्गामा कसैले अधिक्रमण गरे त्यसको बिरुद्ध सवै लाग्नु पर्छ । ” यस बिषयमा सम्बन्धित व्यक्तिहरुलाई सोधपुृछ गर्दा उनीहरु वोल्न चाहेनन्।

शनिबार भत्काइएको उक्त संरचना कसले निर्माण गरेको हो भन्ने प्रश्नमा पोखरा १८ का अध्यक्ष रणबहादुर थापा, पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेल लगायतले आफुहरुलाई नाम थाहा नभएको प्रतिकृया दिए । वडा अध्यक्ष थापाले मापदण्ड विपरित निर्माण गरेकाहरुको लागि आवश्यक कारवाहीको लागि महानगरमा सिफारिस गर्ने बताए ।

फेवाताल चारकिल्ला निर्धारण, सिमाङकन तथा नक्साङकन समितिका संयोजक पुण्यप्रसाद पौडेलले महानगरलाई नटेरेरी फेवाताल नजिक भौतिक संरचना निर्माण भएको दाबी गरे । फेवाताल सिमाङकनको काम हाल जारी रहेको उनले जनाए । हाल पोखराको फेवातालको सिमाङकन हुन लागेको अबस्थामा पानीको सतह घटेको मौका छोपी केहीले रातरात भौतिक संरचना बनाउन लागेको बताए । मापदण्ड विपरित निर्माण भएका भौतिक संरचनाको विवरण पेश गर्न आफुहरुले सम्बन्धित वडामा खबर गरेको उनले जनाए । मापदण्ड विपरित जो कसैले निर्माण गरेको भौतिक संरचना भेटिएमा महानगरले भत्काउने र उक्त सामान समेत जफत गर्ने अधिकृत शर्माले बताए ।