विदेशमा अलपत्र परेका ५११ नेपालीको उद्धार : एनआरएनए


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीवार सम्म विदेशमा अलपत्र परेका ५ सय भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार  आजै मात्र कुवेत सरकारको सहयोगमा  २९९ जना नेपाली स्वदेश फर्किएका छन् । अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ति शिविरमा थप  २ हजार ९ सय ९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ । गैरआवासीय नेपाली संघ कुवेत र नेपाली दुतावासको समन्वयनमा उनीहरुलाई नेपाल फर्किन सहयोग गरिएको थियो ।  

 
अहिलेसम्म म्यानमारबाट २६ जना, खाडी मुलुक दुबईबाट १६८ जना, अस्ट्रेलियाबाट ११ जना, जापानबाट ७  जना,  कुवेतबाट २९९  जना गरि पछिल्लो समय ५ सय ११ जनालाई उद्धार गरिसकिएको संघले जनाएको छ । कोरोना भाइरसको संक्रमण पछि महिला, बालबालिका लगायत निकै कष्टकर अवस्थामा रहेका नेपालीको सहयोगका निम्ति गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले एनसीसी, कुवेत र युएईलाई ६ हजार डलर सहयोग गरेको थियो ।
 
 अध्यक्ष पन्तले  बााकी अन्य नेपालीको उद्धारको लागि यथाशीघ्र पहल गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चाटर्ड विमानमार्फत २४ हजार १४८ जनालाई मात्र फिर्ता ल्याउन सिफारिस गरेको छ । कोभिड १९ को प्रभावका कारणले मलेसिया र खाडी देशमा मात्र करिब २० हजार नेपाली  पहिलो चरणमा उद्धारको पर्खाइमा रहेका छन् ।  
 

यस्तै संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार कोभिड १९ को ठूलो प्रभाव रहेका ११ मुलुकमा संघले करिब ७० लाख रुपैयााको आर्थिक सहयोग गरेको छ । यसअघि गैरआवासीय नेपाली नेपाली संघले अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारको लागि सहयोग गर्न आफ्ना विदेशस्थित शाखा (राष्ट्रिय समन्वय परिषद्) लाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।