माल्टामा नेपाली अलपत्र (बिशेष रिपोर्ट सहित)


बार्सिलोना । युरोप र उत्तर अफ्रिकाको बीचको सानो युरोपेली मुलुक छ माल्टा । जहाँ रोजगारीका लागि आएका नेपालीहरु अहिले अलपत्र परेका छन्। म्यानपावर वा व्यक्तिगत स्पोन्सरसिपमा एजेन्टमार्फत १२ लाख रुपैयाँसम्म तिरेर माल्टा आएका नेपालीहरु काम नपाएपछि समस्यामा परेका हुन्।

पाँच महिनाअघि माल्टा आइपुगेका गोर्खाका रामप्रसाद बगालेले आफू बिचल्लीमा परेको बताए। अनलाइनखबरसँग कुराकानी गर्दै उनले भने, ‘खाएर बसेर ८० हजार रुपैयाँ महिनामा बचत हुने प्रलोभनमा पारेर ल्याउनुभयो। रहरले विदेशिएको होइन, घरको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि ऋण गरेर विदेशिएका हौं। एजेन्टहरुले अलपत्र अवस्थामा पारिदिए ।’

खान बस्नमा समस्या भएको भन्दै  एजेन्टहरुलाई हारगुहारगर्दा पनि सहयोग नपाएको गुनासो बगालेले पोखे, ‘कोरानाले गर्दा काम पनि पाइएको छैन, धेरैथोरै सहयोग गरिदिनुपर्‍यो भन्दा पनि कुनै मतलव गर्दैनन्।’

गुल्मी तम्घासकी अनिता गौतमको भोगाइ पनि उस्तै छ। उनले सुनाइन्, ‘आश्वासनमा परेर माल्टामा आइयो। तर, यहाँ खान बस्नका लागि नेपालबाट नै रकम झिकाउनुपर्ने बाध्यता छ।’

पाँच महिनादेखि घरबाटै पैसा मगाएर आफू चलिरहेको उनले सुनाइन्।

गौतमले भनिन्, ‘जसले हामीलाई सहयोग गर्छ भनेर सोचिरहेका हुन्छौं, उहाँहरुबाट नै धोका पाएका छौँ। यसरी ल्याउने काम एनआरएनए माल्टाका कार्यसमिति भित्रैबाटै भएको छ। समितिभित्र कति हुनुहुन्छ र बाहिरी कति हुनुहुन्छ, मलाई यकिन थाहा छैन। तर, यसरी मान्छे ल्याउने काम गर्नुभएको छ।’

अनलाइनखबरले माल्टामा रहेका नेपालीहरुसँग भर्चुअल लाईभ बहस गर्दा एनआरएनए माल्टाका पदाधिकारीहरु पनि सहभागी थिए। गौतमले भनिन्,’जिम्मेबारी त निभाउनुपर्छ नि, समस्या के छ भनेर बुझ्नुपर्यो नि। विदेशमा लाखौँ खर्च गरेको आएका छौं। मान्छेहरु डिप्रेसनमा जाने, सुसाइटका घटना यिनै कारणले घटेका हुन्।’

एनआरएन अध्यक्ष र महासचिवले गल्ती स्वीकारे :-

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका अध्यक्ष राजु अर्याल (बाबु) ले व्यक्तिगत स्पोन्सरसिपमा एजेन्टमार्फत आफ्नो परिवार, नजिकका आफन्त र नातेदारलाई माल्टा झिकाएको स्वीकार गरेका छन्।

मैले आफन्तीहरु ल्याएको छु। अध्यक्ष अर्याल भन्छन्, ‘मैले गर्ने होइन, यहाँका एजेन्टहरुलाई डकुमेन्ट बुझाउने हो। उहाँले मागेको रकम दिएर नेपालीलाई सहयोग गरेर मात्रै हो। आफन्तीलाई म्यानपावर व्यवसायीसँग वा अन्य माध्यमबाट ल्याउनुभन्दा केही सहुलियत रकममा ल्याउन सकिन्छ भनेर सहयोग गरेको हुँ।’

अहिले उनीहरु अलपत्र परेका छन्, यसको जिम्मेबार तपाई बन्ने कि नबन्ने ? अनलाइखबरको प्रश्नमा उनले समस्यामा परेका नेपालीहरुलाई सहयोग गरिरहेको बताए। अर्यालले भने, ‘जसले ल्याएको छ, उही जिम्मेबार बन्नुपर्छ। योबारे सचेत छौ।’

आफूले केही सहुलियतमा कम्पनीमा लाग्ने रकममात्र लिएर माल्टा ल्याएको उनी स्वीकार्छन्।

संघका महासचिव सन्देश केसीले मानिसहरू ल्याएको स्वीकार गर्दै आफ्नो जिम्मेवारी आफैंले लिने बताए। उनले भने, ‘कार्यसमितिका साथीहरु जसले कामदार ल्याउनुभएको छ, उहाँहरुले पूर्ण जिम्मेवारीका साथ हेर्नुहुन्छ भन्ने लाग्छ। मेरो व्यक्तिगत तवरबाट आफ्नो जिम्मेवारी निभाउँछु।’

केसीले माल्टामा नेपाली ल्याउन नेपालीनेपालीबीच नै प्रतिस्पर्धा हुने खुलासा समेत गरे। केसीले भने, ‘नेपालीहरुको एजेन्ट बन्न नै प्रतिस्पर्धा हुने गर्छ। कुनै कम्पनीले एक ब्यक्तिको दुई हजार युरो लिन्छु भन्यो भने अर्को नेपाली पुगेर ३ हजार युरो तिर्छु भनिदिन्छ। त्यसैले पनि नेपालदेखि मोटो रकम बुझाउनुपरेको हो।’

उनले व्यक्तिगत स्पोन्सरसिपमा माल्टा आउFदा कडाइ हुने हुँदा श्रमस्वीकृतिदेखि एयरपोर्टसम्म सेटिङका नाममा समेत ठगी हुने गरेको बताए।

एनआरएनए माल्टा गठन गर्न पहल गरेका सोम सापकोटा गत बर्षदेखि त्यहीँ ब्यापार गर्दै आएका छन्। उनको संलग्नताबारे जिज्ञासा राख्दा आफूले त यस्तो कार्य रोक्ने प्रयास गरिरहेको बताए।

एनआरएनए आइसीसी सल्लाहकारसमेत रहेका सापकोटाले भने, ‘यहाँ एनसीसी गठनपूर्व नै यस्ता घटनाहरु भएको पाइयो। तर, एनआरएनको गठनपछि न्यून हुँदै आएको छ। यसलाई पूर्णरुपमा रोक्ने प्रयास भइरहेको छ।

एनआरएनए माल्टाका अधिकांश कार्यसमिति सदस्यहरु लगायतका दर्जनौं नेपालीहरुले एजेन्टको काम गरिरहेको खुलासा भएको छ। झण्डै डेढ बर्षदेखि माल्टामा बस्दै आएका बिकास काफ्लेले माल्टामा दर्जनौं  नेपाली एजेन्टहरु रहेको बताए। उनले भने, ‘नयाँदेखि पुरानासम्म नेपालीहरुले यस्तै काम गरिरहनुभएको छ, यो काम रोकिएन भने झन् भयावह अjस्था आउँछ।’

एजेन्टहरुको डर त्रासकै कारण पीडितहरुले आफ्ना समस्या बाहिर नल्याएको काफ्लेले बताए। ‘क-कसको संलग्नता छ यो बारे सुक्ष्म छानविन हुनुपर्छ। तीन सय युरो पनि खर्च नलाग्ने प्रक्रियामा लाखौँ रकम खर्चनुपर्ने बाध्यता कसले बनायो ?’ काफ्लेले प्रश्न गरे।

ब्रिटेनको पूर्वउपनिवेश माल्टा अहिले नेपालीहरुका लागि युरोप छिर्ने बाटो बनेको छ। कतिपय नेपालीहरु माल्टा हुँदै स्पेन र पोर्चुगल आउने गरेका छन्। एकातर्फ रोजगारीका नाममा नेपालीले नेपालीलाई  नै ठगिरहेका छन् भने अर्कोतर्फ माल्टाको सरकारले आफ्नो देशको भिसाको दुरुपयोग भएको भन्दै गुनासो पोखिसकेको छ।

प्रचलित नियमअनुसार कारबाही हुन्छ– दूतावास 

कुनै पनि गैरकानुनी काममा संग्लग्न्न रहेको प्रमाण भएमा दोषीलाई प्रचलित कानुनअनुसार सजायँ हुने माल्टालाई समेत हेर्दै आएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ। दूताबास उपनियोग प्रमुख शरदराज आरनले पीडितहरु कसैले पनि दूतावासमा उजुर नगरेको बताए।

अनलाइनखबरसँग कुराकानी गर्दै आरनले भने, ‘नेपाल सरकारका सम्बन्धित निकायहरुमा र माल्टा सरकारमा पनि जानकारी गराउने र उनीहरुलाई ब्ल्याक लिष्टमा राख्नेदेखि प्रचलित नियमहरु जे पनि कारबाही हुनसक्छ।’

सबै डिटेल खुलाएर दूतावासमा उजुरी हाल्न उनले अनुरोध गरे।

माल्टा आउने वैधानिक प्रक्रिया के हो ? माल्टाको समस्याबारे लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख आरनसँग हामीले जिज्ञासा राखेका छौं। कुराकानीको सम्पादित अंश :-

खासमा रोजगारीका लागि माल्टा आउने बैधानिक प्रकिया के -हो ?

माल्टाको एजेन्सीले मागपत्र तयार गर्छ र  नेपालको एजेन्सीसँग कन्ट्राक पेपर गरेको हुन्छ। नेपालको एजेन्सीलाई कामदारहरु छनोट गरेर माल्टा पठाउने जिम्मेवारी पाएको हुन्छ। लण्डन दूतावासले मागपत्रलाई प्रमाणीकरण गरेर आवश्यक भिसा प्रक्रिया गरेर माल्टा आउने एउटा औपचारिक प्रक्रिया हो। जुन धेरै देशहरुमा कायम छ।

अर्कोचाहि कुनै होटल वा रेष्टुरेन्टहरुमा त्यहाँको रोजगारदातामार्फत व्यक्तिगत स्पोन्सरसिपमा आउन सकिन्छ। स्पोन्सरसिप झिकाउने यो तरिकाबाट माल्टामा आउने नेपालीहरुको  संख्या ठूलो छ। यो पनि बैधानिक नै हुन्छ । तर, दूतावासको नोटिसमा चाहिँ हुन्न। त्यसलाई दूतावासले प्रमाणीकरण गरेको हुँदैन। माल्टाको दिल्लीस्थित दूतावासबाट भिसा लागेर नै आएको हुन्छ।

तपाईंहरुले प्रमाणीकरण गरेका कामदारहरुले माल्टा आउनेबित्तिकै काम पाउँछन् ?

पाउँछन्। त्यसरी आएका नेपालीहरुलाई कुनै समस्या नै छैन।

हालसम्म प्रमाणीकरण गरेको संख्या कति छ

दूतावासले अहिलेसम्म करिव १ हजार ८ सय कामदारहरुको प्रमाणीकरण गरेको छ।

माल्टामा ३ हजार बढी नेपाली कामदारहरु छन् भनिन्छ । त्यसोभए बाँकी सबै व्यक्तिगत स्पोन्सरसिपमा ल्याइएका हुन् ?

मैले पनि सुनेअनुसार एउटै व्यक्तिगत रूपमा दुई-तीन सय मान्छेसम्म त्यहाँ ल्याएको भन्ने सुनेको छु। तर, आधिकारिता मलाई पनि छैन। अर्कोचाहिँ केही एजेन्सीहरुले हाम्रो लेटरप्याडहरु, डकुमेन्टहरु कीर्ते गरेर, दुरुपयोग गरेर पनि मान्छे ल्याउने काम भयो भनेर दूतावासमा कम्प्लेन गरेका छन्। अर्कोतर्फ माल्टा सरकारको पनि भिसाको दुरुपयोग भयो भन्ने गुनासो छ।

व्यक्तिगत स्पोन्सरसिपमा मान्छे ल्याउने र त्यहाँबाट पोर्चुगल लगायत अन्य देशहरुमा पठाउने हुँदा माल्टा सरकारबाट  भिसाको दुरुपयोग भयो भन्ने गत बर्ष नै सुनिएको थियो। हामीले पनि उहाँहरुलाई इमिग्रेसनमा कडाई गर्नुपर्यो भनेका थियौं। आज माल्टा आउने र अर्को दिन अर्को देशमा जान खोज्नेलाई रोक्नु पर्यो भनेका थियौं।

व्यक्तिगत स्पोन्सरसिपमा मान्छे बोलाउने भन्दै बीचमा बसेर मोटो रकम असुल्ने नेपाली एजेण्डहरु थुप्रै छन् भन्ने पीडितहरुको आवाज छ। यस्तो काम बैधानिक हो त ?

त्यो हुनुपर्ने अवैधानिक नै हो। किनभने त्यो दूतावासको नोटिसमा पनि हुँदैन। कुन एजेन्सीमार्फत ल्यायो, कति उसलाई सेवा सुविधा दिने भनेर ल्याएको हो, कस्तो कन्ट्राक पेपर थियो, हामीलाई केही पनि जानकारी हुँदैन। दूतावासले प्रमाणीकरण गरेकोमा सबै टर्म्स एण्ड कन्डिसन हुन्छ। व्यक्तिगत रुपमा ल्याउने मान्छेबारे स्पोन्सरसिप गर्ने नै बढी जानकार हुन्छर जति पनि पैसा माग्न सक्ने अवस्था रहन्छ।

तर, तपाईहरुले प्रमाणीकरण गरेर आए पनिव्यक्तिगत स्पोन्सरसिपमा आए पनि नेपालमा श्रम स्वीकृति लिनुपर्छ नि। किन बुझ्दै नबुझी स्वीकृति गरिन्छ ?

हो, श्रम स्वीकृति चाहिन्छ। हामीले नेपाल सरकारलाई गत बर्षदेखि नै व्यक्तिगत रुपमा आउनेको गुनासो सुनिएको छ। मान्छेहरु आएर अन्य देशहरुमा जाने क्रम बढेको छ।भिसाको दुरुपयोग भनेर माल्टा सरकारले पनि दूतावासमा कम्प्लेन गरेको सन्दर्भमा यसलाई नियन्त्रण गर्नुपर्छ भनेर गतबर्ष नै श्रम मन्त्रालयमा पत्राचार गरेका थियौं।

लाखौँ रकम तिरेर माल्टा आएका\६ महिना बितिसक्दा पनि काम नपाएपछि घरबाट नै पैसा झिकाएर खानाबस्न बाध्य नेपालीहरु सयौंको संख्यामा रहेको बताइन्छ। त्यसो भए दूतावासले अब के गर्छ ?

हालसम्म पीडितहरु कसैले पनि आफू समस्यामा परेकोबारे दूताबासमा उजुर गरेका छैनन्। नेपालको कुन एजेन्सीमार्फत छनोट हुनुभयो वा कुन ब्यक्तिमार्फत छनोट हुनुभयो। कसरी माल्टा आउनुभयो ? माल्टामा आएपछि के कस्ता सुविधा पाइरहनुभएको छ। काम पाउनुभएको छ कि छैन ? तपाईको सम्पर्कमा को  हुनुहुन्थ्यो। कति पैसा तिर्नुभयो ? ती सबै डिटेल खुलाएर दूतावासमा आफ्नो उजुरी हाल्नका लागि म अनुरोध गर्छु।

गलत काम गरेको प्रमाण भेटिएमा एजेन्टहरुलाई कस्तो कारवाही हुन सक्छ ?

नेपाल सरकारका सम्बन्धित निकायहरुमा र माल्टा सरकारमा पनि जानकारी गराउने र उनीहरुलाई ब्ल्याक लिष्टमा राख्नेदेखि प्रचलित नियमअनुसार जे पनि कारवाही हुन सक्छ।

अन्त्यमा, दूतावासको अनुरोध के छ ?

मेरो अनुरोध के भने, एजेन्टहरुमार्फत बढीभन्दा बढी पैसा तिरेर कामको सन्दर्भ नबुझीकन सेवा सुबिधा नबुझिकन आउनु हुन्न। र अहिले कोरोनाका कारणले पनि त्यहाँ आर्थिक अवस्था खस्किएको छ। होटल रेष्टुरेन्टहरु बन्द भएका छन्। कतिपय कामदारहरुको भिसा नवीकरण नभइरहेको अवस्था छ। केही समय कामदारलाई बिदा दिएको अवस्था छ। विभिन्न किसिमका समस्याहरु देखिएका छन्। यदी कोही माल्टा आउने प्रक्रियामा हुनुहुन्छ भने म तपाईकै माध्यमबाट नआउन सुझाव दिन्छु। -onlinekhabar

 

एनआरएनए नै मानव तस्करीको धन्दामा !

युरोपेली मुलुक माल्टा मानव तस्करीको ट्रान्जिट बन्दै, एनआरएनए नै मानव तस्करीको धन्दामा !

Posted by Himalaya TV on Sunday, May 3, 2020