अनेसास गण्डकीको कोरोना अनुभूतिपरक संस्मरण लेखन प्रतियोगिता


पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल, गण्डकी प्रदेश समितिले कोरोना अनुभूतिपरक संस्मरण लेखन प्रतियोगिता–२०७७ गरेको छ । समितिको मङ्गल बसेको अनलाइन बैठकले उक्त प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

कोरोनाका कारणले देश लकडाउन भएको अवस्थामा गण्डकी प्रदेश अन्तरगतका स्रष्टा साधकलाई थप सिर्जनशील बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको अनेसास नेपाल उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक सरिता अर्यालले जानकारी दिइन् ।

प्रतियोगिताका लागि कोरोना र लकडाउन विषय केन्द्रित बढीमा दुई हजार शब्दसीमा भित्रको संस्मरण टाइप गरेर अनेसास गण्डकीको इमेल ठेगाना inlsgandaki@gmail.com मा २०७७ जेठ ३० गते ४ बजेभित्र पठाई प्रतियोगितामा सहभागी हुन सकिने समितिका अध्यक्ष दुर्गाबहादुर शाह बाबाले जनाएका छन् ।

यसैबीच अनेसास केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली र नेपाल अध्यक्ष सन्ध्या पहाडीले घरभित्रै रहेका स्रष्टालाई थप सिर्जनशील बनाउनका अनेसास गण्डकी समितिले स्तुत्य कार्य गर्न लागेको बताएका छन् ।

प्रतियोगितामा सहभागीमध्येबाट उत्कृष्ट १५ छनौट गरिने जनाइएको छ । प्रतियोगिताबाट प्रथम, द्वितिय र तृतीय छनौट गरिने र विजेतालाई प्रमाणपत्रसहित क्रमशः एघार हजार एक सय एघार, पाँच हजार पाँचसय पचपन्न र तीन हजार तीन सय तेत्तिस रुपैयाँसहित पुरस्कृृत गरिने गण्डकी महासचिव असफल गौतमले जानकारी छन् ।

प्रतियोगितामा सहभागी हुन चाहनेले कुनै पनि साहित्यिक सञ्जाल तथा पत्रपत्रिकामा सम्प्रेषण नभएको एकमात्र मौलिक रचना पठाउनुपर्ने र रचनामा कुनै राजनीतिक पूर्वाग्रह, गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचार वा अश्लील शब्दको प्रयोग भएको पाइएमा ती रचना प्रारम्भिक चरणबाटै अस्वीकृत हुने समितिद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

साथै स्रष्टा गण्डकी प्रदेशकै रहेको खुल्ने व्यहोरा खुल्ने प्रमाण, आफ्नो व्यक्ति विवरण र पासपोर्ट साइजको फोटोसहित पठाउनुपर्ने प्रावधान समितिले राखेको छ ।