कोभिड–१९ः उच्च सतर्कता अपनाउन ध्यानाकर्षण



काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट नेपालीलाई जोगाउन सरकारको ध्यानाकर्षण गर्नुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा अञ्जना विशुन्खे, अतहरकमाल मुसलमान, एकवल मियाँ, कलिला खातुन, तुलसा थापा, कृष्णभक्त पोख्ररेल, खगराज अधिकारी, गङ्गा चौधरी, छक्कबहादुर लामा, जिपछिरिङ लामा, जीवनराम श्रेष्ठ र जुलीकुमारी महतोले कोभिड–१९ बाट बच्नका लागि उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।    

 मित्रराष्ट्र चीनबाट फैलिएको कोरोना भाइरस विश्वका ६४ मुलुकमा फैलिसकेको, तीन हजार मानिसको ज्यान गइसकेको तथा झण्डै ८६ हजार मानिसमा सङ्क्रमण देखिएको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समेत नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताउँदै आएको छ ।    
नेराबैं विधेयक विचार गरियोस् प्रस्ताव स्वीकृत    

 प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।    

सभामुख अग्निप्रसाद सापकोटाले सोसम्बन्धी प्रस्ताव राख्नुभएको थियो ।