मिलन लामाले अष्ट्रिया तताए


अष्ट्रिया । आदिवासी जनजाति महासंघ अष्ट्रियाको निमन्त्रणामा मञ्जुश्री सम्वत् २८५६ जिवा ल्हो (मुसा वर्ष) ल्होसारका अवसर पारी अष्ट्रिया पुगेका चर्चित लोक दोहरी गायक मिलन लामाले आफ्ना सुपरहिट गीतद्वारा भियन्नाबासी नेपालीहरुलाई भरपुर मनोरन्जन दिलाएका छन् ।

नेपालबाट कलाकार बोलाएर अष्ट्रियामा कार्यक्रम आयोजना गर्ने पहिलो संस्था बन्न सफल आदिवासी जनजाति महासंघ अष्ट्रियाले बर्षैपिच्छे ल्होसार मनाउँदै आइरहेको छ । यसपालिको कार्यक्रममा लामा लगायत स्पेनबाट उपस्थित भएकी गायिका समी गुरुङ्गको प्रस्तुतिले कार्यक्रमलाई बिशेष बनाएको थियो ।

उद्घोषकद्वय चन्द्र सेन राई र रिमा बिष्ट रहेको उक्त कार्यक्रमको सभापति संस्थाका अध्यक्ष डबिन लामा र प्रमुख अतिथि अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदी रहेका थिए ।

संस्थाका महासचिव शेखर लामाद्वारा ल्होसारको विधिवतरुपमा पूजा–पाठ गर्दै शुरुवात गरिएको कार्यक्रममा राजधानी भियन्नाका नेपालीहरु मात्र नभएर साल्जबर्ग, लिन्ज र ग्राजबाट पनि नेपालीहरु उपस्थित भएका थिए र अन्य नेपाली संघ संस्थाका अध्यक्षहरु इनास अष्ट्रियाबाट सन्तोषी भण्डारी (स्याण्डी), नेसास अष्ट्रियाबाट रमेस खड्का, आनाबाट ज्येष्ट नागरिक हरि राणा र स्पोर्ट क्लव सगरमाथा भियन्नाबाट मान्फ्रेड आनरेइतर उपस्थित रहेका थिए भने समाजसेवी तथा कार्यक्रमको मुख्य प्रायोजक रोनी गुरुङ्गको पनि उपस्थिति रहेको थियो ।

स्थानीय कलाकारहरु नेहारिका खड्का, उषा बराल, निपुन लामा, प्रतिभा शाहिसमुडा, मनिषा तिवारी, लारिसा तामाङ्ग, दिव्या ढकाल, सम्झना गिरी, नविन कार्की, श्रेया खड्का, नेत्र खड्का, दीक्षा थापा, मुना गुरुङ्ग, सन्ध्या गुरुङ्ग, प्रिया पौडेल, दिनेश कार्की र रेनुका दवाडीको नृत्य तथा गायन प्रस्तुत रहेको थियो । इनास अष्ट्रियाको तर्फबाट पुनम पौडेलले नृत्य, सन्तोषी भण्डारी (स्याण्डी ) को नेतृत्वमा अन्य १५ जनाले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी नेपालका विभिन्न जात जातिहरुको भेष भूषाहरुको रयाम्प वाक प्रस्तुत गरिएको थियो ।

नेपाली परिकारको खानपिन, मित्रहरुसंगको भेटघाट अनि त्यसमाथि पनि मिलन लामाको सुपरहिट गीतहरु ‘हङकङ्ग आइडीले’, ‘माझि दाइ पोखरा फेवाताल’ लगायत दोहोरीको रमझममा नाच्दै उपस्थित साराले रमाइलो गर्दै आयोजक संस्था आदिवासी जनजाति महासंघ अष्ट्रियालाइ धेरै धेरै धन्यवाद दिएका थिए ।