महोत्सवमय बन्यो पोखरा, संवादमा उत्रिए डा. रुइतदेखि गगन थापासम्म


पोखरा – शुक्रबार सुरु भएको आइएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करणको दोस्रो दिन शनिबार उत्तिकै उत्साहपूर्ण सहभागितामा विभिन्न सेसन सञ्चालन भए ।
शनिबारको पहिलो सेसन थियो, लोकगीत कि लोकप्रियता ? यो सेसनमा नारायण अमृतसँग गायक हरिदेवी कोइराला, प्रकाश सपुत र झुमा लिम्बूले छलफल गरे । यसमा विशेषगरी त्यो बेलाको लोकगीतको अवस्था अर्थात् लोकगीतको आफ्नोपन र वर्तमानमा यसमा आएका परिवर्तनबारे उनीहरुले छलफल गरे । साथै अहिलेका कतिपय विकृतिविसंगतिप्रति पनि उनीहरुले चर्चा गरे । सुरुवातमा सुन्न बनाइएको लोकगीत अहिले हेर्न बनाइएको जस्ता आरोप लागेको विषयमा पनि कार्यक्रममा बहस भयो । लोकगीतलाई जोगाउँदै सकारात्मक रुपमा यसलाई अघि बढाउनुपर्नेमा उनीहरुले जोड दिए । यही समयमा बालबालिकाको हातमा मोबाइल कि पुस्तक ? शीर्षकमा गफिए, करुणा कुँवर, बिना थिङ तामाङ, वसन्त गौतम र भवसागर घिमिरे । उनीहरुले पछिल्लो समय बढ्दै गएको प्रविधिका कारण बालबालिकाका मानसिकतामा पारेको प्रभावबारे आआफ्ना धारणा राखे ।

महोत्सवको दोस्रो सेसनअन्तर्गत दुई कार्यक्रम सञ्चालन भए, सपनाको सम्मान र नारायण ढकालको पुस्तक तमसमाथि अन्तक्र्रिया । सपनाको सम्मान सेसनमा डा. रुपचन्द्र विश्वकर्मा, विमल गायक र सुभाष नेपालीसँग शिवहरि ज्ञवाली गफिए । यो सेसनमा उनीहरुले मान्छेका सपना र समय एवम् परिस्थितिले कसरी मानिसलाई सपनाको दास बनाउँछ भन्नेमा संवाद गरे । साथै तमस पुस्तक विमोचनका अवसरमा खगेन्द्र संग्रौला र गनेस पौडेलसँग गफिए, भूपेन्द्र खड्का । यो ससनमा ढकालको यही पुस्तकमाथि वक्ताहरुले चर्चा गरेका थिए । कार्यक्रममा संग्रौलाले पुस्तकसँगै नारायण ढकालको व्यक्तित्वमाथि आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा अध्ययनको भोक शीर्षकमा अन्तक्र्रिया भयो । यसमा संवाद गरेका थिए, शान्ता चौधरी, करिश्मा मानन्धर र सविना कार्कीले । यसमा उनीहरुले नेपालमा बढ्दै गएको पठन संस्कृति र शिक्षा एवम् पठन अभिरुचिबारे छलफल गरेका थिए । साथै पठन अभिरुचिबारे समाजमा सचेतना जगाउनुपर्नेमा उनीहरुको जोड थियो । यही सेसनको अली मियाँ कक्षमा कारागारमा किताबी संसार शीर्षकमा संवाद चल्यो । यसमा संवाद गरे, महेशविक्रम शाह, धर्मराज विश्वकर्मा र कुमारी लामाले । उनीहरुले नेपालमा कारागारको अवस्था र त्यहाँका दुरवस्थाबारे चर्चा गरे । साथै कारागारमा कतिपय अवस्थामा निर्दाेष मानिस पनि परेको र उनीहरुका लागि लडिदिने कोही नभएको गुनासो गरे ।

यससँगै अर्काे सेसन रह्यो, दृष्टिदान । यो शीर्षकमा संवादमा थिए, नेत्रचिकित्सक सन्दुक रुइत र रवि लामिछाने । यसमा उनीहरुले नेपालमा अन्धोपनको समस्या मात्र केलाएनन्, त्यसमा भइरहेका पहलबारे पनि छलफल गरे । साथै डा. रुइतले पु¥याएको योगदानबारे पनि प्रस्तोता लामिछानेले केही सन्दर्भ उजिल्याए । रुइतले आफूले नेपालमा नेत्रचिकित्साको क्षेत्रमा गरेका र गर्न खोजेका विषयबारे आफ्ना धारणा राखे । साथै नेत्रचिकित्सको क्षेत्रमा अर्थात् नेपालमा कम शुल्कमा मोतियाबिन्दुको शल्यक्रिया हुने गरे पनि त्यसलाई औद्योगिक राष्ट्र एवम् विकसित मुलुकमा ५ हजार डलर लाग्ने उनले बताए । त्यसैले मोतियाबिन्दुको शल्यक्रिया नेपालका लागि वरदान सावित भएको रुइतको भनाइ छ । आफ्नो कर्ममा प्रतिबद्ध डा. रुइतले यसैमा आफू रमाएको बताए । साथै अहिलेको अवस्थामा आफूलाई राष्ट्रपतिको अफर आए पनि त्यसलाई नस्विकार्ने उनको भनाइ छ । आफ्नो कर्म आफ्ना लागि सबथोक भएको र सर्वसाधारणको सेवा गर्न पाउँदा त्यसले आफूलाई सर्वस्व दिएको उनले बताए ।

महोत्सवको अर्काे सेसन थियो, बतासमा बारुदको गन्ध । यसमा सहभागी भए, मनोरञ्जन व्यापारी र दिनेश काफ्ले । रोचक किसिमको यो सेसनमा मनोरञ्जन व्यापारीले आफूले जीवनमा घटाएका वा घटाउनुपरेका अनौठा घटनाबारे रोचक प्रसंग सुनाए । साथै आफ्नो अध्ययन एवम् बाल्यकालका कठिन एवम् रोचक प्रसंगबारे पनि व्यापारीले आफ्ना अभिव्यक्ति दिए ।
यही समयमा राजनीतिको अपराधीकरण, अपराधको राजनीतीकरण शीर्षक सेसन रह्यो । यसमा गफिए, देवेन्द्र सुवेदी, हरिबहादुर थापा र जनकराज सापकोटा । उनीहरुले नेपालमा बढ्दै गएको आपराधिक गतिविधि र तिनका नियन्त्रणका उपाय मात्र सुझाएनन्, राजनीतिक वृत्तमा पनि हाबी भएको अपराधीकरणले कसरी समस्या निम्तिँदै गएका छन् भन्नेबारे छलफल गरे । नेपालमा कसरी अपराधीकरण हाबी भइरहेको छ भन्नेमा वक्ताहरुले अन्तर्राष्ट्रिय उदाहरणसमेत प्रस्तुत गरे । निर्वाचनताका जितका लागि उम्मेदवारहरुले कसरी गुन्डाहरुको सहारा लिन्छन् भनेर समेत यो सेसनमा छलफल भयो । साथै भ्रष्टाचारलगायत अभियोगमा बन्ने गरेका छानबिन आयोग पनि जनताको आँखामा छारो हाल्न मात्र गर्ने गरिएकोमा वक्ताहरुको भनाइ थियो ।

महोत्सवको अर्काे सेसन थियो, जाग लम्क, चम्क हे खेलकुदका बदलिँदा आदर्श । यसमा मीरा राई, ननिता बज्राचार्यसँग छलफलमा जुटिन्, शिवानीसिंह थारु । उनले नेपालको खेलकुदको अवस्था, यसका समस्या मात्र केलाएनन्, यसमा जम्न, अघि बढ्न र जित्न कति कठिन छ भन्नेबारे पनि चर्चा परिचर्चा गरे । साथै यस क्रममा आफूहरुले भोग्नुपरेका समस्याबारे पनि उनीहरुले आआफ्ना धारणा राखे ।
यसै समयमा अर्काे सेसन पनि चल्यो, राइटिङ होम एन्ड होमल्यान्ड शीर्षकमा । यसमा गफिए, जमिल जन कोचाई र इतिशा गिरी । यसमा उनीहरुले आफ्नो जम्नस्थान र देशका बारेमा गरिने सिर्जना एवम् साहित्यबारे चर्चापरिचर्चा गरे ।

यसैगरी नेपाल नेक्सस ः राजनीतिमा भूराजनीति सेसन पनि महोत्सवको आकर्षणका रुपमा रह्यो । यसमा नेता गगन थापा, पत्रकार सुधीर शर्मा र यादव देवकोटाले छलफल गरे । उक्त अवसरमा शर्माद्वारा लिखित अंग्रेजी पुस्तक नेपाल नेक्सस सार्वजनिकीकरण पनि गरियो । सेसनका अवसरमा नेपालमा बढ्दै गएको राजनीतिक हस्तक्षेप एवम् सीमा समस्या, राजनीतिक नेतृत्वमा देखिएको अदूरदर्शीपन, त्यसले निम्त्याएका समस्या, सीमा समस्या समाधानमा नदेखिएको पहल आदि विषयमा छलफल गरे । साथै भूराजनीतिमाथि भइरहेको राजनीतिबारे उनीहरुले विषद् व्याख्या विश्लेषण पनि गरे ।